सम्पादक कंगना

बिहिबार, १९ साउन २०७४, १२ : १७ शुक्रवार , Kathmandu
सम्पादक कंगना

१८ वर्षको उमेरमै बलिउड छिरेकी कंगना पछिल्लो समय समीक्षकहरुबाट रुचाइएकी अभिनेत्री हुन् । उनी अचेल छानेर मात्र फिल्म खेल्छिन् । केही महिनाअघि उनको आगामी फिल्म ‘सिमरन’ले निकै सनसनी मच्चाएको थियो । फिल्मका सम्पादक तथा लेखक अपूर्व अस्रानीले निर्देशक हंसल मेहताले आफ्नो नाम हटाएर कंगनालाई लेखकका रुपमा पोस्टरको क्रेटिडलाइनमा प्रस्तुत गरेको भन्दै उनले निकै आक्रोश व्यक्त गरेका थिए । पछिल्लो अवस्थालाई हेर्दा कंगना अभिनेत्री र लेखकका रुपमा मात्र नभएर सम्पादक भएरै फिल्ममा छाउने नौलो खबर बलिउड वृत्तमा छाएको छ । एक अग्रणी अखबारका अनुसार कंगना अब आफूलाई यस फिल्ममा सम्पादक रुपमा समेत प्रस्तुत गराउने तारताम्य मिलाउन लागेकी छन् । आएको हल्लालाई मान्ने हो भने तीन पटक नेसनल अवार्ड पाएकी कंगना फिल्मको पहिलो ट्रेलरबाट समेत सन्तुष्ट छैनन् । पछिल्लो समय निकै दमदार फिल्ममा अभिनय गरेकी उनी ‘सिमरन’को छाँटकाँट आफैँ गर्ने र आफूलाई प्रमुख रुपमा प्रस्तुत गर्नेछिन् । उनको यस कदमबारे फिल्मको मार्केटिङ टोलीलाई भने भाउन्न भएको छ । कंगनाको आलटालले नै फिल्मको प्रदर्शन धकेलिँदै जान थालेपछि मार्केटिङ टोली रुष्ट भएको बताइएको छ । तर यसबारेमा निर्देशक हंसल भने सकारात्मक नै छन् ।

Leave A Comment