नेपाल टेलिकममा छुटैछुट

बिहिबार, १९ साउन २०७४, १२ : ०२ शुक्रवार , Kathmandu
नेपाल टेलिकममा छुटैछुट

सोमबारदेखि एडिएसएलको इन्टरनेट स्पिड ५ गुणा बढाइएको छ । देशभर १ लाख ८० हजार प्रयोगकर्ता रहेको एडिएसएल वर्षौंदेखि एउटै शुल्क र स्पीडमा सीमित थियो । आगामी तीन महिनाको लागि ‘प्रमोसनल अफर’ भन्दै टेलिकमले शुल्कमा समायोजनसमेत गरेको छ । तीन महिनापछि यसै दररेटलाई निरन्तरता दिने सोचमा टेलिकम व्यवस्थापन देखिन्छ ।
टेलिकम प्रवक्ता प्रतिभा वैद्यका अनुसार यस अफरमा मासिक १ हजार १७ रूपैयाँ तिरेर १ सय ९२ केबिपिएस प्याकेज लिइराखेका ग्राहकले अब १ हजार रुपैयाँमै १ एमबिपिएस (१ हजार २४ केबिपिएस) स्पिडको इन्टरनेट चलाउन पाउने छन् ।
सरकारी स्वामित्वको नेपाल टेलिकम एडिएसएल प्रविधिमार्फत इन्टरनेट प्रदान गर्ने एक मात्र कम्पनी हो । देशभर मोबाइल फोनबाट इन्टरनेट चलाउने ग्राहकपछि सबैभन्दा धेरै ग्राहक एडिएसएलकै छन् ।
फोन उठाउँदा पनि बोनस पाइने
टेलिकमले जिएसएम र सिडिएमए तथा एडिएसएल र एफटिटिएच सेवाका ग्राहकहरुका लागि प्रमोसनल अफर उपलब्ध गराउने भएको छ । यस अफरमा विदेशबाट आएको कल उठाउँदा पनि अब बोनस प्राप्त गर्न सकिने छ ।
जिएसएम÷सिडिएमए प्रिपेड र पोस्टपेडका ग्राहकले एक सातामा सात मिनेट वा त्योभन्दा बढी कल रिसिभ गर्दा नेपाल टेलिकमको नेटवर्कभित्र ७ मिनेट भ्वाइस कल गर्न र ७ वटा एसएमएस निःशुल्क पठाउन सक्ने छन् ।
यो अफर असोज मध्यसम्म लागू हुनेछ । यस अफर अन्तर्गतको सेवा पुराना ग्राहकहरुलाई समेत उपलब्ध हुने टेलिकमले जनाएको छ । अफरअन्तर्गत अब १ एमबिपिएससम्म गतिको एडिएसएल इन्टरनेट करसहित मासिक १ हजार रुपैयाँमा उपलब्ध हुनेछ । पहिले मासिक १ हजार १७ रुपैयाँमा २५६ केबिपिएस गतिको एडिएसएल उपलब्ध थियो ।

 

Leave A Comment