सुटिङ हब बन्दै धरान

मङ्गलबार, १७ साउन २०७४, १० : ०१ शुक्रवार , Kathmandu
सुटिङ हब बन्दै धरान

रोहित राई/धरान
रिटायर्ड लाहुरेको कथामा आधारित फिल्म ‘शेरबहादुर’ निर्माण गर्न लागेका गौरीशंकर धुँजु र निर्देशक आर. राजवंशी पोखरा अथवा धरानमध्ये एउटा सहरमा सुटिङ गर्न चाहन्थे । ती दुवै सहरमा लाहुरेको घना बसोबास छ । लोकेसन हेर्न उनीहरु दुवै सहरमा पुगे । छनोटमा प¥यो, पूर्वको सुन्दर नगरी धरान । काठमाडौँमा १९ दिन सुटिङ सिध्याएको ‘शेरबहादुर’ टोली अहिले धरानमा छ ।
शेरबहादुरको डिओपि(डाइरेक्टर अफ फोटोग्राफी) तथा निर्मातासमेत रहेका धुँजु मह जोडीसँग तीन दसक लामो कलाकारितामा छन् । निर्देशक राजवंशीको भने यो पहिलो फिचर फिल्म हो । उनीहरुसँगै कलाकारहरु सुनिल थापा, मेनका प्रधान, कर्मा, रविन्द्र झा, शर्मिला शर्मालगायत कलाकारहरु धरानमा एक्सन–कटमा व्यस्त छन् । यस फिल्ममा अभिनेता थापा भूपू लाहुरे शेरबहादुरको रुपमा मुख्य पात्र छन् ।
फिल्म शेरबहादुर मात्र होइन, यही बेला ‘शरद्का पातहरु’ र ‘लाउरे’ नाम फिल्मको पनि धरानको विभिन्न लोकेसनमा छायांकन भइरहेको छ । नेपाली चलचित्रहरुको छायांकन गर्नु प¥यो भने फिल्मकर्मीहरुको पहिलो रोजाई काठमाडौँ उपत्यका, आसपासको क्षेत्र र नागरकोटतिर हुन्थ्यो । त्यसपछि प्राकृतिक सुन्दरता भरिएको पोखरा फिल्मकर्मीहरुको आँखामा पथ्र्यो । नेपालका अन्य सहर वा जिल्लामा सुटिङ गर्न चलचित्रकर्मीहरु कमै पुग्थे । तर, पछिल्लो समय फिल्म सुटिङको लागि लोकेसन फेरिन थालेको छ । केही वर्षयता नेपालका फिल्मकर्मीहरु मनाङ र मुस्ताङको लोकसनमा पुग्न थाले । लोकेसनमा विविधता खोज्ने क्रममा फिल्मकर्मीहरुको नजर अचेल पूर्वको सुन्दर ठाउँतिर पुगेको छ । त्यसमा धरान छुट्ने कुरै भएन । साउन पहिलो सातादेखि धरानमा तीन वटा चलचित्रको धमाधम सुटिङ भइरहेको छ । हुन त यसअघि पनि पूर्व र धरानमा चलचित्रको सुटिङ नभएको भने होइन तर ती न्यून संख्यामा छन् । वर्षमा एक वा दुई वटा फिल्म मात्र सुटिङ गर्न आइपुग्थे । अचेल फिल्मकमीहरुले धरानकै कथालाई पनि पर्दामा उतार्न थालेका छन् ।
फिल्म शेरबहादरका निर्माता धुँजु फिल्मको कथाले पोखरा कि धरानको लोकेशन माग गरेपछि दुवै स्थानमा पुगेर हेर्दा धरान उपयुक्त लागेको बताउँछन् । ‘पोखरा पनि हेर्न गयौँ तर धरान मन प¥यो,’ धुँजु भन्छन्, ‘आधुनिक बजार भएर पनि सुन्दर रहेछ, क्लाइमेट पनि राम्रो छ । हामीलाई सुटिङमा चाहिने सबै कुरा यही पायौं, धरानमा भएको सुन्दरता खोज्दा अरुतिर पाउन गाह्रो छ ।’ उनका अनुसार धरानको भूगोल, प्रकृति मात्र राम्रो होइन, सहरभित्र नै परम्परागत मौलिक काठे घर पनि छ । कथाले मागेअनुसार लाहुरेको आधुनिक घर पनि यहीँ छ । ‘सबैभन्दा राम्रो पक्ष त यहाँ सहयोगी मान्छेहरु छन्, जता गए पनि सहयोग पायौं । सुविधा पनि छ,’ उनी भन्छन् ।
धरानको कथा रहेको अर्को फिल्म हो, ‘लाउरे’ । यसको सुटिङ धरानमा जारी छ । यो फिल्ममा धराने कलाकार पनि छन् भने ८० प्रतिशत सुटिङ पनि धरानमै हुने निर्देशकसमेत रहेका कलाकार विक्रम सिंह बताउँछन् । राजधानी जानुअघि सिंह पनि धरानमै रंगमञ्चमा सक्रिय थिए । ‘हाम्रो फिल्मको कथा नै धरानको हो, त्यही भएर यहीँ सुटिङ हुँदैछ,’ सिंह भन्छन्, ‘हामी मात्र होइन, अरु फिल्म पनि लोकेसनका लागि धरान जाउँ भन्दैछन् । धरानको नाममै ग्लामर छ । विविध सुविधा, भौगोलिक विविधताले पनि धरान आउन चाहनेहरु छन् ।’ ‘लाउरे’को निर्देशन सिंह र नीलम श्रेष्ठले गरेका छन् भने कलाकारहरुमा धरानकी मिरुना थापा मगर, मदन लिम्बू, सृष्टि श्रेष्ठ, कृषा शाहीलगायत छन् ।
‘शरद्का पातहरु’को निर्देशक राज्य राईको गृहनगर हो धरान । फिल्मको माध्यमबाट धरानलाई चिनाउने चाहना छ उनको । ‘धरान आफैँमा सुन्दर छ, फिल्मको माध्यमबाट थप चिनाउन चाहन्छु,’ उनी भन्छन् । ठूलो बजेटको चलचित्र मात्र होइन, पछिल्लो समय मोफसलका फिल्मकर्मीहरुले निर्माण गर्ने चलचित्रहरुको पनि सुटिङ थलो धरान बन्दै गइरहेको छ । धरानमा पहिलो पटक ‘पिरती’ फिल्मको सुटिङ भएको जानकारहरु बताउँछन् । त्यसपछि ‘बलिदान’, ‘भाउजू’, ‘माझीदाइ’, ‘नोभेम्बर रेन’लगायत थुप्रै फिल्मको लोकेसन धरान बन्यो । झण्डै तीन महिनाअघि पनि धरानमा ‘रोमियो एन्ड मुना’ फिल्मको सुटिङ भएको थियो ।
पर्यटन व्यवसायी वासुदेव बराल चलचित्र सुटिङका लागि नयाँ ठाउँ र लोकेसन खोजिने भएकोले चलचित्र उद्योगको लागि धरान सुटिङ गन्तव्य बन्नसक्ने धारणा राख्छन् । उनी भन्छन्, ‘चलचित्र सुटिङका लागि धरान डेस्टिनेसन बन्नसक्छ । यहाँको भूगोल, वातावरण र सामाजिक परिवेश पनि फिल्ममैत्री छ ।’ फिल्मले सुन्दर पाटोलाई आम दर्शकसम्म पस्कने र यसले धरानको पर्यटनलाई पनि प्रवद्र्धनमा सहयोग पुग्ने उनको अपेक्षा छ ।

Leave A Comment