रोनाल्डो रियाल मड्रिडमा बस्ने

सोमबार, १६ साउन २०७४, ०२ : २१ शुक्रवार , Kathmandu
रोनाल्डो रियाल मड्रिडमा बस्ने

पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो भविष्यबारे लामो समयदेखि चलेका शृंखलाबद्ध चर्चामा पूर्णविराम लगाउँदै थप उपाधि जित्नका लागि रियाल मड्रिडमै बस्ने प्रस्ट पारेका छन् ।
‘बितेको सिजन क्लब र व्यक्तिगत रूपमा मेरा लागि पनि अत्यन्तै विशेष रह्यो । हामीले फुटबलमा महत्वपूर्ण उपाधिहरू जित्यौं । त्यसलाई फेरि दोहोर्याउन सके अझै रमाइलो हुनेछ,’ खेलकुद दैनिक मार्कालाई दिएको अन्तर्वार्तामा रोनाल्डोले भनेका छन् ।
गत महिना पोर्चुगाली पत्रिका ओ ग्लोबोले रोनाल्डो रियाल छोड्ने तयारीमा रहेको समाचार छापेपछि उनी अर्को सिजन सान्टियागो बेर्नाबेउमा नरहने अनुमान गरिएको थियो । स्पेनको कर विभागबाट उनीमाथि कर छलीको अभियोगमा अनुसन्धान सुरु भएपछि झन् रोनाल्डो स्पेनमा नबस्ने अनुमानलाई बल पुगेको थियो ।
१ करोड ४७ लाख युरो कर छलेको आरोप खेपिरहेका रोनाल्डोलाई जुलाई ३१ मा अदालत उपस्थित हुन आदेश जारी भएको छ । चार पटकका बालन डी अर विजेता ३२ वर्षे रोनाल्डो गत नोभेम्बरमा २०२१ सम्मका लागि सम्झौता नवीकरण गरेका थिए । फोब्र्स म्यागजिनका अनुसार २०१६–१७ मा ९ करोड ३० लाख डलर आम्दानी गरेका रोनाल्डो विश्वका सबभन्दा बढी कमाउने खेलकुद स्टार हुन् ।
रियालका प्रशिक्षक जिनेदिन जिदानले शनिबार समर्थकहरूलाई रोनाल्डो क्लबमै रहने भन्दै आश्वस्त पारेका थिए । तत्कालका लागि रोनाल्डो बिदामा रहेको र अगस्ट ५ मा फर्किने जिदानले बताएका थिए ।
नयाँ सिजनको तयारीका लागि रियालको टोली अमेरिका भ्रमणमा रहे पनि रोनाल्डो भने बिदामा छन् । जिदानले रोनाल्डोलाई बिदा दिएको बताउँदै उनी थप दुई वा तीन वर्ष रियालमै बस्ने दाबी गरेका थिए ।
मंगलबार मार्कामा छापिएको अन्तर्वार्तामा रोनाल्डोले युरोपियन च्याम्पियन पोर्चुगललाई २०१८ को विश्वकप जिताउनु आफ्नो मुख्य प्राथमिकतामा पर्ने बताए । ‘हामी विश्वकपमा अझै छनोट भइसकेका छैनौं । तर पोर्चुगल उपाधि जित्न सक्षम छ भन्ने मेरो विश्वास हो । पोर्चुगलको टिममा हामी आगामी वर्षको विश्वकप जित्ने प्रयासमा ध्यान केन्द्रित  गरिरहेका छौं,’ उनले भने ।

Leave A Comment