दुःख गरेर खान के को लाज ?

आइतबार, १५ साउन २०७४, ०१ : ५१ शुक्रवार , Kathmandu
दुःख गरेर खान के को लाज ?

–पुष्पा थपलिया
सृजना अधिकारी हरेक दिन सूर्य नउठ्दै कालिमाटी पुगिसक्छिन् । रित्तो हात कालिमाटी पुगेकी अधिकारी फर्कंदा पिठ्यूँमा मकैको कुस्त भारी हुन्छ । छ जना साना सन्तानलाई स्कुल पठाएपछि उनको अर्को दैनिकी सुुरू हुन्छ, मकै पोल्ने बेच्ने । उनी हरेक दिन करिब ११ बजेतिर बल्खु चोक पुग्छिन्, त्यहाँको धुलो धुँवा र कोलाहलबीच एक्कैछिन पिपलको बोटमुनि सुस्ताउँछिन् र थाल्छिन्, आगो बाल्न । त्यसपछि सुरू हुन्छ कालिमाटीदेखि लगेको मकै पोल्ने काम ।
पाल्पा घर भएकी उनी काठमाडौँ आएको एक दसक पुग्न लागेको उनी बताउँछिन् । उनका पति एक हार्डवेयर कम्पनीमा काम गर्छन् । श्रीमान्को एक्लो कमाइले ६ जना छोराछोरी पाल्न मुस्किल पर्दै गएपछि मकै पोलेर बेच्न थालेको उनी सुनाउँछिन् । ‘गाउँमा पनि दुःख गरेकै हो, सहरमा ज्यान पाल्न कहाँ सजिलो छ र ?’ सृजना भन्छिन्, ‘बल्खुको पिपलबोटमुनि मकै पोल्न थालेको हिजोअस्तिजस्तो लागे पनि चार वर्षै बितिसक्यो । पत्तै नपाई समय बितिसक्छ !’
पतिले काम गर्नुपर्दैन भन्ने गरे पनि उनको चित्त बुझ्दैन । घरमा सुतेर वा अरुसँग कुरा काटेर खेर फाल्ने समयमा  केही पैसा कमाउन सकिन्छ भनेर मकै पोल्न थालेको उनले बताइन् । सृजना भन्छिन्, ‘अहिले घर चलाउन केही मात्रामा भए पनि श्रीमान्लाई सजिलो भएको छ । अचेल श्रीमान्ले पनि राम्रै मानेका छन् ।’ छोराछोरी पढाएर बाँकी भएको पैसा जोगाउन पाए बुढेशकालमा कसैको हेलाँमा बस्नु नपर्ने सोच आउन थालेको उनले सुनाइन् ।
सुरुका दिनमा मकै पोल्दाको अनुभव साटिन् उनले, भनिन्, ‘आएर मकै पोल्न त बसेँ तर सबैले आफैँलाई हेरेजस्तो लाग्थ्यो । कताकता लाजले उठेर हिँडौँ भन्ने भावना आउँथ्यो तर म हिम्मत छाड्ने मान्छे चैँ थिइनँ । लाज पचाएरै मकै पोलिरहेँ र अहिले पनि पोल्दैछु ।’
बल्खु चोकमा मकै पोल्न थालेको खबर आफन्तबीच फैलिएपछि सबैले खिसी गरेको उनको अनुभव छ । ‘सबैले केके न गर्न काठमाडौँ गएकी थिई, चोकमा मकै पोलेर बस्छे रे भनेर कुरा पनि काटे,’ सृजना ती दिन सम्झँदै भन्छिन्, ‘मैलै ती कुनै कुरालाई वास्ता गरिनन् । चोरेर, नराम्रो काम गरेर, ठगेर पैसा कमाएको भए पो लजाउनु, मेहनत गरेर खान केको लाज ?’
अहिले उनी दिनमा एक हजारभन्दा बढी कमाउँछिन् । मकै किन्दा, काठ किन्दाको खर्च कटाएर एक हजार रुपैयाँ कमाइ हुन्छ । ‘म पाँच कक्षा पढ्दापढ्दै छाडेको मान्छेले दिनको हजार गरेर महिनामा तीस हजार कमाउँछु,’ सृजनाले गर्वका साथ भनिन्, ‘आफ्नै काम गरेर महिनाको ३० हजार कमाउनु मेरा लागि ठूलो कुरा हो ।’
पाँच छोरी र एक छोराकी आमा सृजना आफूले धेरै पढ्न नपाए पनि छोराछोरी शिक्षाबाट वञ्चित नहोऊन् भनेर मकै पोल्न थालेको बताउँछिन् । नजिकै  रहेकी काइँली छोरीलाई देखाउँदै उनले भनिन्, ‘साना छोराछोरी छन्, सबै बर्सौटे । उनीहरुको भविष्य बिगारिदिनु भएन नि !’  किन वर्षैपिच्चे बच्चा जन्माउनुभएको त ? लजाउँदै उनको जवाफ थियो, ‘औषधि खायो, बिरामी भइहाल्ने । त्यही भएर बर्सौटे जन्मिए ।’ सबैले छोरा जन्माउन यत्तिका छोरी पाएको होला भन्ने अनुमान पनि गर्छन् तर उनका नजरमा भने छोराछोरी दुवै बराबर भएको स्पष्ट पारिन् ।
उनी हिजोआज सरकारसँग अलि आक्रोशित छन् । यी चार वर्षमा सरकारले आफूलाई काम गरेर खान नदिएको आरोप लगाइन् उनले । ‘महानगर आएर तीन पटक सामान उठाएर लगिसक्यो,’ उनले भनिन्, ‘सटर किन्न पैसा पुग्दैन । सडकमा मकै पोल्न दिँदैन ।’ उनको माग छ, कि त सरकारले गरिखाने ठाउँ तोकिदिनुप¥यो कि त आफ्नो काम गरी खाने वातावरण दिनुपर्यो ।
‘मानिसको चहलपहल भएको ठाउँमै मकै बिक्री हुन्छ, नत्र त घरमै बसेर मकै पोले भइहाल्थ्यो नि ? घाममा डढ्नुपर्ने, पानीमा रुझ्नुपर्ने आवश्यक नै थिएन नि !’ उनले आक्रोश पोखिन् । सरकारले जहाँ बढी बिक्री हुन्छ त्यहीँबाट भगाउन खोज्छ । उनी प्रश्न गर्छिन्, ‘हामी कहाँ जाने ? के खाने ?’ सरकारले सडकमा व्यापार गर्र्न सुविधा दिनुपर्ने उनको माग छ ।

 

Leave A Comment