बलिउडको आउँदो पुस्ता

आइतबार, १५ साउन २०७४, ०१ : ४० शुक्रवार
बलिउडको आउँदो पुस्ता

उनीहरु स्मार्ट छन् । सेक्सी पनि छन् । उनीहरु हुन् बलिउडका चर्चित कलाकारहरुका छोराछोरी । फिल्म नखेल्दै उनीहरु समाचारहरुमा छाइरहेका छन् । अखबार र म्यागेजिनहरुमा ठाउँ कब्जा गरिसकेका छन् । केही समयमै उनीहरु फिल्ममा डेब्यु गर्नेछन् । प्रस्तुत छ, बलिउडका आउँदो युवा पुस्ताका केही नयाँ अनुहारबारेको यस पटक ।

श्रीदेवी पुत्री : जान्वी कपुर
श्रीदेवी र बोनी कपुर पुत्री जान्वी कपुरले अचेल धेरैको ध्यान भंग गर्न थालेकी छन् । उनी मिडियाको केन्द्रबिन्दु बन्न थालेकी छन् र पापाराजीहरु उनका पछाडि कुद्न थालिसकेका छन् । उनी चाँडै नै बलिउडको यात्रामा सफरमा हुने पक्का भएको छ । सुन्दर रुपकी धनी उनी फेसन कन्सस छिन् । मनिष मल्होत्राको डिजाइनमा उनी चित्ताकर्षक देखिन थालेकी छन् । छोटो समयमै सोसल मिडियामा हिट भइसकेकी उनलाई करण जोहरसँग पार्टीमा रमाइरहेको फेला पारिएको थियो । जान्वीका बारेमा श्रीदेवी चुपचाप रहे पनि उनी करण जोहरको फिल्मसँगै डेब्यु गर्ने बजार हल्ला चलिरहेको छ । सायद त्यसैले पनि पछिल्लो समय ‘नेपोटिज्म’ अर्थात् भाइभतिजावादले बलिउड गाँजिएको छ भन्ने आरोप लागेको होला ! त्यसो त जान्वी जोहरको कोही पनि होइनन् तर अरुलाई भन्दा स्टार सन या डटरलाई भ्यालु त जसले पनि दिइहाल्छ नि, होइन र ?

सैफ पुत्री: सारा अलि खान
सैफ अलि खान र पूर्व पत्नी अमृता सिंहकी छोरी सारा अलि खान  सारा ट्रेन्डी छन् । उनकी सौतेनी आमा करिना कपुर खानको मिल्दोजुल्दो स्टाइलमा देखिन थालेपछि कतै करिनाले त सिकाइरहेकी छैनन् भन्ने बजार चर्चा पनि नगर्माएको होइन । त्यसो त फिल्ममा अनुबन्ध हुनुअघि नै उनी ‘पेज थ्री’मा पनि छाइसकेकी बाला हुन् । छिट्टै उनी टाइगर श्राफसँग करण जोहरको ‘स्टुडेन्ट अफ दि इयर’को सिक्वेलमा उनी आउँदैछिन् भन्ने सार्वजनिक भइसकेपछि त उनको भाउको के कुरा ! हलिउडको एउटा रिमेक फिल्ममा पनि उनी देखिने चर्चा चलिरहेकै छ । त्यस्तै उनी पछिल्लो समयका चर्चित युवा अभिनेता सुशान्त सिंह राजपुतसँगै ‘केदारनाथ’मार्फत फिल्मी पर्दामा देखिँदैछिन् । केही साताअघि बाहिर आएको उनको लुक्समा उनी निकै नै शालिन नारीका रुपमा प्रस्तुत भएको देख्न सकिन्छ । ‘केदारनाथ’लाई अभिषेक कपुरले निर्देशन गर्नेछन् । फिल्म २०१८ को जुनमा रिलिज हुनेछ ।
सैफ पुत्र: इब्राहिम खान
सारासँगै उनका भाइ इब्राहिम खान पनि अचेल मिडियामा छाइरहेका छन् । सोसल मिडियामा चर्चित उनी अभिनयप्रति आकर्षित नभए पनि उनी आफ्ना हजुरबुबा मन्सुर अलि खानको पदचाप पछ्याउँदै आएका छन् । उनी पिता सैफ अलि खानजस्तै चित्ताकर्षक छन् । इब्राहिम फिल्मी पर्दामा आउलान् नआउलान् त्यो त समयले नै बताउला ।
अमिताभ नातिनी: नव्या नवेली नन्दा
नव्या नवेली नन्दा बिग बि अमिताभ बच्चनकी नातिनी हुन् । उनका बारेमा मिडियाले बेलाबेला छेड्छाड गरिहन्छन् । केही समयअघि उनी शाहरुख खान पुत्र आर्यनसँग मस्ती गरिरहेको फेला पारिएको थियो । सोसल मिडियामा नव्याको नृत्यलाई धेरैले मनपराइरहेका छन् । सोसल मिडियामा हिट उनलाई यस्तो गज्जबको नृत्यमा देख्दा फिल्मका लागि संघर्ष नै गर्नुपर्लाजस्तो देखिँदैन । तापनि नव्याले कहिले बलिउडमा डेब्यु गर्लिन् भन्ने धेरैको चासो छ । यसबारे उनकी आमा श्वेता बच्चन भन्छिन्, ‘नव्या भर्खर हुर्कंदै छे । अभिनय नै उसको करियर बन्ला भनेर भन्न सक्दिनँ ।’ अभिनय नगर्दै सबैको ध्यान खिँच्न सफल उनी पापाराजी र प्रशंसकहरुबाट वाहवाही पाइरहेकी छन् ।
शाहरुख पुत्री : सुहाना खान
सुहाना खान बलिउड बादशाह शाहरुख खानकी छोरी हुन् । उनलाई धेरैपटक पापाराजीहरुले पार्टी र समारोहरुमा फेला पारेका छन् । करण जोहरसँग उनको राम्रै उठबस छ । सुहानाबारे शाहरुख भन्छन्, ‘सुहानाले आफू कलाकार बन्ने बताइसकेकी छे तर अहिले उसको प्राथमिकता भनेको पढाइ हो । म अहिले पनि भन्छु, तिमी मेरो ठाउँमा आउन मैलेभन्दा पाँच गुणा बेसी काम गर्नुपर्छ । रंग क्षेत्रमा टिकिरहन तिमीमा धैर्य हुनुपर्छ ।’ जसको बाउ शाहरुख खान होस् र अभिनयको चस्का पनि रहेको होस्, यस्तो अवस्थामा उनलाई बलिउडको बाटोमा केही कुराको तगारो होला त ?
शहरुख पुत्र : आर्यन खान
आर्यन खान शाहरुख खानका जेठा छोरा हुन् । सुन्दर रुप र सुगठित शरीरका धनी उनी समय समयमा तरुनीहरुको समीपमा आउँदा मिडियाको तारो बनिरहेका हुन्छन् । उनको अनुहार हेर्दा बाबु शाहरुखको झल्को आउँछ । सोसल मिडियामा चर्चित उनी अचेल अमेरिकी फिल्मी नगरी लस एन्जलसमा पढ्दैछन् । आर्यनबारे करण जोहर भन्छन्, ‘आर्यन भगवान पुत्र हो । अबको चार वर्षपछि ऊ फिल्ममा आउन मन गरेछ भने पक्कै पर्दामा देख्न पाउनुहुनेछ । उसले मान्यो भने म उसलाई डेब्यु गराउनेछु । आर्यनलाई लन्च गर्नु भनेको मेरो आफ्नै छोरालाई लन्च गरेजस्तै हो ।’
ज्याकी श्राफ पुत्री : कृषा श्रफ
ज्याकी श्राफ पुत्री कृषा श्राफ सोसल मिडियाकी बमसेल हुन् । आकर्षक र सुगठित शरीरकी धनी उनले केही पहिले टपलेस फोटोसुट गरेर हंगामा मच्चाएकी थिइन् । सामाजिक सञ्जालमा पोस्टिएका उनका हट तस्बिरहरुमा धेरैको मन गढेको छ । टाइगर श्राफकी बहिनी उनले डकुमेन्ट्री फिल्म ‘ब्ल्याक सिप’को निर्देशन गरिसकेकी छन् । समलिंगीबारेको उक्त फिल्म समीक्षकहरुले मन पराएका थिए । मिडियाहरुमा आए अनुसार उनी ब्राजिलियन फुटबलरसँग रिलेसनमा छिन् । सामाजिक सञ्जालमा चर्चित उनलाई फिल्मी पर्दामा हेर्न कहिले पाइने हो भन्ने चासो चाहिँ अझै छँदैछ ।

Leave A Comment