शंकर देव क्याम्पस

आइतबार, १५ साउन २०७४, १० : ४९ शुक्रवार
शंकर देव क्याम्पस

सुस्मिता लाल 
काठमाडौँ महानगर, त्यसको मुटु मानिने पुतलीसडकमा रहेको शंकरदेव क्याम्पस नेपालकै पुरानो क्याम्पसमध्येको एउटा हो । बाहिरबाट झट्ट हेर्दा वातावरण निकै अस्तव्यस्त देखिन्छ । यस क्याम्पस नजिकै टुकुचा खोला भएकाले वर्षायाममा पानी ह्वार्र पर्नेबित्तिकै क्याम्पसभित्र खोलाको पानी छताछुल्ल हुन पुग्छ । क्याम्पसमा हिलैहिलो हुन्छ । 
क्याम्पसको मूलद्वारा अगाडि नै बाइकहरु नमिलाई पार्क गरिएकाले पनि क्याम्पसको अस्तव्यस्तता अगाडि नै छताछुल्ल भएको भान हुन्छ । क्याम्पसबाहिर जस्तो अस्तव्यस्तता देखिन्छ, भित्र पनि त्यस्तै देखिन्छ । नहोस् पनि किन ? क्याम्पस हातामा अचेल मर्मतको काम भइरहेको छ । जसले गर्दा सिमेन्टका बोरा, इँट्टा, बालुवा लगायत सामग्री असरल्ल देखिन्छ । त्यसो त यो २०७२ मा गएको भूकम्पको प्रभाव हो । भूकम्प गएको यत्तिका वर्ष भइसक्दा पनि क्याम्पसमा त्यसको प्रभाव अझै अनुभूत गर्न सकिन्छ । 
भूकम्पले क्याम्पसको क्यान्टिनलाई धेरै प्रभावित पारेको थियो । त्यसैले यतिबेला क्यान्टिनलाई उत्तरतर्फ सारिएको हो । पहिलेको क्यान्टिन ठूलो ठाउँ भएकाले बस्ने सुविधा थियो तर नयाँ ठाउँमा भने क्यान्टिनमा बस्न, छलफल गर्न अलि असहज छ । पहिलेको क्यान्टिनमा हिजोआज पढाइ हुने गरेको छ ।
वि.सं. २००८ मा यस कलेजको स्थापना भएको हो । सुरुवातमा भने यसको नाम नेपाल नेसनल कलेज थियो । त्यसबेला यो कलेज अस्थायी रुपमा दरबार हाई स्कुलमा र त्यसपछि त्रिचन्द्र कलेजमा चलाइएको थियो । वि.सं. २०३० साल साउन १ मा नेपाल नेशनल कलेजको नाम परिवर्तन भएर शंकरदेव क्याम्पस बनाइयो । यस क्याम्पसका लागि शिक्षाविद् शंकरदेव पन्तको योगदान उल्लेखनीय छ । यस कलेजलाई सार्न जग्गा र दुई वटा पुरानो भवन उनले नै बनाइदिएका थिए । त्यसैले यस क्याम्पसको नाम शंकरदेव क्याम्पस रहन गएको हो । 
यस क्याम्पसका संस्थापक र आजीवन प्राचार्य शंकरदेव पन्तको जन्म वि.सं. १९६६ सालमा असारमा काठमाडौँको बुढानीलकण्ठमा भएको हो । उनले प्राथमिक शिक्षा घरमा, माध्यमिक शिक्षा दरबार हाई स्कुलमा, उच्च शिक्षा आइए र बि त्रिचन्द्र क्याम्पसबाट र एमए पटना विश्वविद्यालयबाट गरेका थिए । नेपाल नेसनल कलेजको विकास र उन्नतिमा संलग्न हुँदाहुँदै उनको निधन २०३० सालमा भएको थियो । उनी आफ्नो समयका अत्यन्तै प्रतिभाशाली र क्रियाशील व्यक्तित्व थिए । उनलाई प्राध्यापकका रुपमा मात्र नभई लेखक, कवि, र शिक्षासेवीका रुपमा समेत चिनिएका थिए । 

कृष्णप्रसाद आचार्य 
क्याम्पस प्रमुख 
वि.सं. २०३० सालभन्दा पहिले शंकरदेव कलेजमा विज्ञान विषयको पढाइ हुन्थ्यो । २०३० सालदेखि यस क्याम्पसमा व्यवस्थापन विषयको पढाइ हुन थालेको हो । पहिले व्यवस्थापन विषयलाई वाणिज्य शिक्षा भन्ने गरिन्थ्यो । शंकरदेव क्याम्पसका पहिलो क्याम्पस प्रमुख शंकरदेव पन्त हुनुहुन्थ्यो । म नौ वर्षदेखि यस कलेजमा छु । शंकरदेव क्याम्पस एउटा युनिटरी क्याम्पस हो । यस क्याम्पसको नियमित कार्यक्रममा एमबिएस र बिबिएस रहेको छ । यहाँ विशेष कार्यक्रममा बिबिए, बिआइएम, बिबिएम र एमबिएल रहेको छ । यस क्याम्पसमा निकट भविष्यमा फाइनान्समा बिबिए र एमबिएको कार्यक्रम आउन सक्छ । अहिले यस क्याम्पसमा दरबन्दीमा ४०  जना शिक्षक, पार्ट टाइममा सय जना शिक्षकहरु हुनुहुन्छ भने ६५ जना कर्मचारी रहेका छन् । 
हामीले विद्यार्थीहरुलाई नयाँ तरिकाबाट पढाउने गर्छौं । हामीले क्याम्पसमा प्रोजेक्टरबाट विद्यार्थीहरुलाई पढाउने गर्छौं । यसका साथै विद्यार्थीहरुले पनि मल्टिमिडियामा प्रेजेन्टेसन पनि दिने गर्छन् । यस क्याम्पसका विद्यार्थीहरुले इन्टर्नसीप र फिल्डवर्कमा पनि जाने गर्छन् । यस कलेजमा विद्यार्थीहरुले सैद्धान्तिक र व्यवहारिक दुवै शिक्षा पाउन सक्छन् । यदि विद्यार्थीहरुले नियमित रुपमा कलेजका कक्षाहरु लिए भने र राजनीतिक कम ग¥यो भने उनीहरुको परीक्षामा राम्रो नतिजा ल्याउन सफल हुन्छन् ।  
मुना नेपाल  
विद्यार्थी
शंकरदेव क्याम्पसको वातावरण मलाई ज्यादै मनपर्छ । यस कलेजमा शिक्षकहरुले धेरै राम्रोसँग पढाउनु हुन्छ । आफ्नो क्षमता वृद्धि गर्न र सेल्फ डेभलप गर्न म  यस क्याम्पसमा आएकी छु । अहिले म चौथो सेमेस्टरमा छु र आजसम्म पढाइमा मलाई कुनै गुनासो छैन । पहिले पहिले सरकारी कलेजमा राम्रो पढाइ हुँदैन, राजनीति मात्रै हाबी हुन्छ भनेर सुनेकी थिएँ तर यहाँ आएपछि मैले सुनेको कुराको विपरीत वातावरण पाएँ । पढ्ने विद्यार्थीले सरकारी र प्राइभेट जुन क्याम्पसमा पढे पनि राम्रो गर्न सक्छन् । 
दमन ढकाल
विद्यार्थी 
भनिन्छ नि मानिसको जीवनको सबैभन्दा रमाइलो क्षण क्याम्पसमा बित्छ । त्यसैले मलाई कलेज जीवन धेरै रमाइलो लागिरहेको छ । यस कलेजको मलाई सबै कुरा मन पर्छ । शिक्षकहरुले पनि हामीलाई बुझ्नेगरी पढाउनु हुन्छ । यहाँ सैद्धान्तिक र व्यवहारिक तरिकाको पढाइ हुन्छ । जसले गर्दा हामीले धेरै कुराहरु यहाँ सिक्न पाउँछौँ । 
मीरा शर्मा 
विद्यार्थी 
अहिले सबै अभिभावकहरु निजी क्याम्पसहरुको पछाडि दौडने गर्छन् । यस्तोमा सरकारी क्याम्पस भए पनि  शंकरदेव क्याम्पसले आफ्ना विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा र सेवा सुविधा दिइरहेको छ । आफ्नो छोराछोरीलाई  स्वावलम्बी, निडर बनेको देख्न चाहनुहुन्छ भने शंकरदेव क्याम्पस उपयुक्त क्याम्पस हुन सक्छ ।


सिर्जना पाण्डे
विद्यार्थी
यस क्याम्पसको मलाई हरेक कुरा मन पर्छ । यस क्याम्पसका साथीहरु र शिक्षकहरु धैरे सहयोगी हुनुहुन्छ, जसले गर्दा अहिलेसम्म क्याम्पसमा खासै कुनै समस्या भएको छैन । कक्षाहरु पनि रेगुलर नै भइरहेको छ । त्यसैले मलाई यस क्याम्पसको सबै कुरा मनपर्छ । हामीले चाहिने पुस्तकहरु यस क्याम्पसको पुस्तकालयमा सजिलैसित पाउन सक्छौँ ।  
रोजिना थापा 
विद्यार्थी 
मलाई शंकरदेव क्याम्पसको सबै कुरा मनपर्छ । यहाँ शिक्षकले पढाउने र विद्यार्थीले पढ्ने वतावरण राम्रो छ । राजनीतिक हस्तक्षेप यस क्याम्पसमा कम भयो भने सुनमा सुगन्ध जस्तै हुने थियो । राजनीतिक कुराले विद्यार्थीको पढाइमा कहिलेकाहीँ नकारात्मक असर पार्ने गर्छ । यसले हाम्रो पढाइलाई पनि असर पार्ने गर्छ । 
सुमना गौतम 
विद्यार्थी 
यस क्याम्पसको बारेमा बाहिर राम्रो कुरा सुनिन्थ्यो, भित्री रुपमा पनि यस कलेजको वातावरण ज्यादै नै राम्रो छ । कुनै विद्यार्थीले म जीवनमा पढेर केही गर्छु भन्ने सोच बनाएको छ भने उसले यस कलेजबाट आफ्नो भविष्यलाई उज्ज्वल बनाउन सक्छ ।

अस्मिता  पौडेल 
विद्यार्थी   
शंकरदेव क्याम्पस व्यवस्थापन विषयको सबैभन्दा राम्रो क्याम्पस हो । यस क्यापसको विद्यार्थी हुन पाउनु पनि गर्वको कुरा हो । त्यसैले मलाई यो कलेज, यहाँको शिक्षा, शिक्षक सबै कुरा राम्रो लाग्छ । पढ्ने विद्यार्थीहरुको लागि यो क्याम्पस सही गन्तव्य हो भन्ने मलाई लाग्छ ।   

सिर्जना तामाङ
विद्यार्थी 
यस क्याम्पसको सबै कुरा राम्रो छ । यस कलेजलाई बाहिरको आवाजले कुनै प्रभाव पार्दैन । शिक्षकहरुले धेरै राम्रोसँग पढाउनु हुन्छ । यहाँ पुस्कालयको पनि राम्रो व्यवस्था छ । जसले गर्दा हामीलाई चाहिने पुस्तक सजिलैसँग पाउन सक्छौं । त्यसैले मलाई कलेज निकै मन पर्छ । 
 

Leave A Comment