सन्जु र कमलाको राष्ट्रिय कीर्तिमान

आइतबार, १५ साउन २०७४, १० : ४६ कमल खत्री
सन्जु र कमलाको राष्ट्रिय कीर्तिमान

लगनखेलमा भइरहेको एसियन युथ तथा जुनियर च्याम्पियनसिप भारोत्तोलन प्रतियोगितामा नेपालकी सञ्जु चौधरीले पहिलो अन्तर्राष्ट्रिय सहभागितामा राष्ट्रिय कीर्तिमान सुधार गरिन् । सञ्जुसँगै कमला श्रेष्ठले पनि राष्ट्रिय कीर्तिमान बनाएकी छन् । सञ्जुले ग्रुप बीको ५३ केजी तौलमा स्न्याचमा ६० केजी र क्लिन एन्ड जर्कमा ८० केजी गरी कुल १४० केजी भार वहन गर्दै राष्ट्रिय कीर्तिमानमा आफ्नो नाम लेखाउन सफल भइन् । देवी चौधरीले सातौँ राष्ट्रिय खेलकुदमा राखेको कीर्तिमानलाई भंग गर्दै सञ्जुले राष्ट्रिय कीर्तिमानमा आफ्नो नाम लेखाएकी हुन् । चौधरीले कीर्तिमान कायम गर्न सकेकोमा खुसी व्यक्त गरिन् ।
कमलाले दोस्रिो अन्तर्राष्ट्रिय प्रतियोगितामा ५८ केजी तौल समूहको जुनियर विधामा स्न्याचमा ६७ केजी, क्लिन एन्ड जर्कमा ८५ केजी गरी कुलमा १५२ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेकी हुन् । उनले सातौँ राष्ट्रिय खेलकुदमा स्न्याचमा ६६ केजी र क्लिनमा ७९ केजी गरी कुलमा १४५ केजी भार वहन गर्दै राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाएकी थिइन् । 
उनले यसअघि गुहाटी र सिलोङमा भएको १२औं दक्षिण एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेकी थिइन् । उनी ग्रुप ‘बी’ मा ८ खेलाडीलार्ई पछि पार्दै पहिलो हुन सफल भएकी थिइन् । उनले कीर्तिमान राख्न सफल भएकोमा खुसी व्यक्त गर्दै कीर्तिमान राख्नेमा आफू विश्वस्त रहेको बताइन् । 
टीकामाया गुरुङले ५८ केजी तौलमा स्न्याचमा ४५ र क्लिनमा ५५ केजी गरी कुलमा १ सय केजी र कविता चौधरीले स्न्याचमा ४१ केजी र क्लिन एन्ड जर्कमा ५० केजी गरी कुल ९१ केजी भार वहन गरे ।
पुरुषको ६२ केजी तौलमा साजारुद्दिन आलमले स्न्याचमा ५५ र क्लिनमा ८० केजी गरी कुलमा १३५ केजी भार वहन गरे ।
महिला ५३ केजी तौलको युथ र जुनियर दुवैमा चाइनाकी ज्ञान होङयानले स्वर्ण प्राप्त गरिन् । उनले स्न्याच, क्लिन र कुलमा गरी ६ स्वर्ण पदक प्राप्त गरिन् । ज्ञानले स्न्याचमा ८३ केजी, क्लिनमा १०८ केजी र कुलमा १९१ केजी भार वहन गरिन् । यस्तै युथतर्फ थाइल्यान्डकी पोर्नचिता नियोमयोङले स्न्याचमा ६७ केजीका साथ कांस्य र क्लिनमा ९२ केजीका साथ रजत र कुलमा १५९ केजीका साथ रजत प्राप्त गरिन् भने ताइपेईकी चोउ युवानले स्न्याचमा ६८ केजीका साथ रजत, क्लिनमा ९० केजी र कुलमा १५८ केजीका साथ कास्य पाइन् । 
जुनियरतर्फ थाइल्यान्डकी सुरोधचना खाम्बाओले स्न्याचमा ७५, क्लिनमा ९५ र कुलमा १७० केजी भार वहनका साथ रजत तथा फिलिपिन्सकी पेरेज इलाइन रोजले स्न्याचमा ७३, क्लिनमा ९३ र कुलमा १६६ केजीका साथ कास्य पाइन् । 
प्रतियोगितामा नेपालको १३ खेलाडीले भाग लिइरहेका छन् । त्यसमा ११ खेलाडीको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । भारोत्तोलनको अफिसियल यस प्रतियोगितामा नेपाल पदक जित्नुभन्दा पनि राष्ट्रिय कीर्तिमान सुधारमा केन्द्रित छ । 
नेपाली टोलीका प्रशिक्षक जगदीश प्रधानले १९औं युथ, २४औं जुनियर महिला र ३१औं जुनियर पुरुष एसियन भारोत्तोलन च्याम्पियनसिपलाई हौसला बढाउने अवसरको रूपमा लिएको बताए । ‘एसियन स्तरको प्रतियोगितामा हामीले अहिले पदकको आशा गरेको छैनांै । घरेलु मैदानमा हाम्रो खेलाडीले खेल्न पाउनु महŒवपूर्ण अवसर हो । यसले खेलाडीको हौसला बढाउनेछ,’ प्रधानले भने, ‘विगतमा हामी भारोत्तोलनमा बलियो थियौं । त्यसलाई हामीले निरन्तरता दिन सकेनौँ । अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको सहभागिता बढिरहेको छ । हामीले जुनियर खेलाडीलाई सक्दो अवसर दिएका छौँ । जुन भविष्यका लागि राम्रो कुरा हो । यही गतिमा अगाडि बढे सागमा पदक जित्न सहयोग पुग्नेछ ।’ 
योजना, खेल मनोविज्ञान र प्राविधिक कुरामा नेपाली खेलाडीलाई एसियन स्तरको प्रतियोगिताले ज्ञान हासिल गर्न सहयोग गरेको प्रशिक्षक प्रधानले बताए । 

Leave A Comment