‘ज्यूँदै छँदा सम्मान किन नगर्ने !’

बिहिबार, १२ साउन २०७४, ०१ : १९ शुक्रवार , Kathmandu
‘ज्यूँदै छँदा सम्मान किन नगर्ने !’

सत्य–स्वरुपराज आचार्यले आफ्ना पिता भक्तराज आचार्यको नाउँमा स्थापना गरेको संस्थाबाट स्रष्टाहरुलाई सम्मान गर्ने कार्य गर्दैछन् । यही शुक्रवार राजधानीको माइतीघरस्थित कार्की ब्यांकेटमा संस्थामार्फत नाट्यकर्मी हरिप्रसाद रिमाल तथा संगीतकार चन्द्रराज शर्मा सम्मानित हुँदैछन् । यसै सन्दर्भमा शुक्रवारले स्वरुपराज आचार्यलाई सोध्यो–
बुबाको नाममा संस्था स्थापना गरेर तपाईं सत्य–स्वरुपले पुरस्कार दिन लाग्नुभयो नि ?
अँ, हामी (सत्य र म) पहिलेदेखि नै स्रष्टा जीवित छँदा नै आफूलाई सम्मान गरेको देख्नुपर्यो भन्ने सोच्थ्यौँ । मान्छे बितिसकेपछि सम्मान गर्नुको कुनै तुक छैन । त्यही सोचले हामीले बुवाको चलचित्र ‘आचार्य’ बनायौँ । उहाँको योगदानको स्मरण गर्न पुस्तक निकाल्यौँ । बुवाले आफ्नै विषयमा बनेको फिल्म हेर्न पाउनुभयो, किताब विमोचन गर्न पाउनुभयो । मेरो विचारमा यस्तै अवस्था हरेक उम्दा स्रष्टाले पाउनुपर्छ । ज्यूँदै छँदा पाएको सम्मानको जुन सन्तुष्टि हुन्छ, त्यसको कुनै बयान हुन सक्तैन । हामीले यसरी पनि काम गर्न सकिँदोरहेछ भन्ने बुझाउन पनि यो कार्यक्रम गर्न चाहेका हौँ । मैले गरेको कामको मूल्याङ्कन भएछ भन्ने देखाउन पनि हामीले यो सम्मान कार्यक्रम गरेका हौँ ।
यो कस्तो संस्था हो ?
यो बुवा (भक्तराज आचार्य)को नाममा स्थापना गरिएको सामाजिक संस्था हो, भक्तराज सांगीतिक प्रतिष्ठान । यसले विभिन्न स्रष्टालाई सम्मान गर्ने काम गर्छ । बुवाको जन्मदिनको अवसर पारेर यसअघि पनि हामीले विभिन्न कार्यक्रम गरिरहेका थियौँ । यस पटक सम्मानको शृंखला किन अघि नबढाउने भनेर वृहद् स्तरमा अघि बढ्यौँ । यस पटक भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७४ नाटककार हरिप्रसाद रिमाललाई र भक्तराज आचार्य अन्तर्राष्ट्रिय संगीत पुरस्कार २०७४ कलाभूषण चन्द्रराज शर्मालाई यही शुक्रवार प्रदान गर्दैछौँ । यी दुवै पुरस्कारको राशि ५० हजार १ रुपैयाँ छ ।
समाजसेवा त बुढेसकालमा गर्थे, तपाईंहरुले त यतिबेलै थाल्नु भो’ नि ?
वास्तवमा हामीलाई के लाग्यो भने समय छँदै र हाम्रो बोली बिक्ने अवस्थामा नै यस संस्थालाई दह्रो बनाउनुपर्छ र सम्मान तथा सेवाका कार्य अघि बढाउनुपर्छ भन्ने लागेको थियो । यसअघि पनि हामीले धेरै काम ग¥यौँ । कलाकार दीपक क्षेत्रीलाई साढे दुई लाख सहयोग गर्यौँ । भूकम्पका बेलामा पनि धेरै काम ग¥यौँ तर ती कुरालाई हामीले हल्लीखल्ली गरेनौँ । पछि हामीले के महसुस ग¥यौँ भने राम्रो कामलाई प्रचार गर्दा त्यो अझ बढी राम्रो र व्यवस्थित तरिकाले गर्न सकिन्छ भने किन नगर्ने ? त्यसैले हामीले यस पटकदेखि अलि व्यापकस्तरमा कार्यक्रम गर्ने विचार गरेका हौँ । यस पटक हामीले संगीत कल्याणकारी कोषलाई ३० हजार रुपैयाँ र गत वर्ष एकल साँझ गर्दा जसजसका शब्द गाएका थियौँ, तिनको रोयल्टीलाई रोयल्टी संकलन समाजलाई प्रदान गर्दैछौँ ।
नेपालमा संस्था स्थापना गर्ने र केही वर्षपछि संस्था नै नचल्ने अवस्था पनि देखिएका छन् । यी समस्यालाई सम्बोधन गर्नेबारे के सोच्नुभएको छ ?
वास्तवमा संस्थाले चलाउनेभन्दा पनि सिस्टमले चलाउने अवस्था आउनुपर्छ । सिस्टममा चलाइयो भने संस्था नरहे पनि कार्यक्रम गर्न सकिन्छ । हामीले राम्रा संस्थासँग सहकार्य गर्दै यसलाई निरन्तरता दिने विचार गरिरहेका छौँ ।
तपाईंहरुले फिल्म प्रोडक्सन कम्पनी पनि स्थापना गर्नुभएको छ । कन्सर्टमा विदेशमा पनि जाँदै हुनुहुन्छ, कसरी यी सब काम भ्याउनुहुन्छ ?
वास्तवमा गर्न चाह्यो, समय मिलाउन सकिँदोरहेछ तर त्यसका लागि तपाईंले राम्रा पार्टनरहरु छान्नु पर्छ । हामीलाई सघाउने यति असल साथीहरु पाएका छौँ, उहाँहरुका कारण यी सबै सम्भव भएका हुन् । फेरि यो उमेर भनेको काम गर्ने उमेर पनि हो । त्यसैले हामी व्यस्त हुन पाउँदा खुसी हुन्छौँ ।
‘साढे सात’ फिल्म बनाउनु भएको छ, कहिले रिलिज हुन्छ ?
मंसिर १५ मा । अहिले पोस्ट प्रोडक्सनको काम भइरहेको छ ।
संगीतकर्मीले फिल्म बनायो भनेर आलोचना गर्ने पनि देखिए नि ?
वास्तवमा बुवाको नाममा फिल्म ‘आचार्य’ बनाएपछि हामीले फिल्म उद्योगका असल व्यक्तिहरु फेला पा¥यौँ । नरेशदेव पन्त, सुनील थापा, प्रशान्त रसाइलीजस्ता असल व्यक्तिको सहयोग, साथ र समर्थनपछि हामीलाई के लाग्यो भने फिल्म बनाउनु भनेको लाख लगानी गरेर करोड छाप्ने काम होइन । यो त राम्रा फिल्ममा चाख भएकाहरुलाई फिल्मतर्फ आकर्षित गर्ने एउटा माध्यम हो । त्यसैले ‘सत्य–स्वरुप इन्टरटेन्मेन्ट’मार्फत राम्रा फिल्म बनाउने उद्देश्य हो ।
कतै गायकी नै छुट्ला नि !
गाउनै छाडेर यता लागेको होइन । हामीसँग दिनको १२ देखि १८ घण्टा समय छ । बस समय मिलाएर काम गर्दा हामीले सक्दो काम भ्याउँछौँ ।

 

Leave A Comment