परीक्षण गर्नुपर्ने उच्च रक्तचाप

मङ्गलबार, १० साउन २०७४, ०१ : १५ शुक्रवार , Kathmandu
परीक्षण गर्नुपर्ने उच्च रक्तचाप

दीपक दाहाल

रक्तचाप परीक्षण गर्ने बानी तपाईंको छ कि छैन ? धेरै मानिसहरु कुनै समस्या भएर चिकित्सककहाँ वा अस्पताल पुग्दा मात्रै रक्तचाप परीक्षण गर्छन् । त्यतिबेलासम्म रक्तचाप यति उच्च भइसकेको हुन्छ कि अधिकांश अवस्थामा जीवनभर औषधि सेवन मात्रै विकल्प बन्छ । चिकित्सकहरू १८ वर्ष कटेपछि समय–समयमा रक्तचाप परीक्षण गर्न सल्लाह दिने गर्छन् ।

बिना लक्षण शरीरका विभिन्न अंगमा गम्भीर असर पार्नसक्ने भएकाले उच्च रक्तचापलाई सुसुप्त हत्यारा (साइलेन्स किलर) भनिन्छ । जीवनशैली उच्च रक्तचापको प्रमुख कारण हो । सामान्य अवस्था रक्तचाप उच्च हुनेबित्तिकै औषधि सेवन थालिहाल्नु पहिला जीवनशैली परिवर्तन गरेर हेर्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीको सल्लाह छ । ‘नून कम खाने, मोटोपन घटाउने, रक्सी, चुरोट सेवन नगर्ने, तनाव कम गर्दा रक्तचाप नियन्त्रणमा आउनसक्छ,’ डा.रेग्मी भन्छन्, ‘१५० सम्म औषधि थालिहाल्नु पर्दैन तर औषधि थाल्ने र छाड्ने निर्णय डाक्टरको सल्लाहअनुसार मात्रै गर्नुपर्छ ।’

वरिष्ठ स्नायूरोग विशेषज्ञ डा.वसन्त पन्त पनि रक्तचाप परीक्षण गर्न जति सचेत हुनुपर्छ, त्यति सचेत औषधि सेवनको निर्णयमा पुग्न हुनुपर्ने बताउँछन् । ‘एउटै डाक्टर, एउटै र एउटैमा केही दिनको अन्तरमा जाँच गर्दा पनि बढी नै देखिएपछि औषधि थाल्नुपर्छ,’ डा.पन्त भन्छन्, ‘एक पटक औषधि खान थालेपछि छोड्नु हुँदैन, त्यस कारण सचेतनापूर्वक जाँच गराउनु पर्छ ।’ डा.पन्त पनि ब्रेनको नशा फुटेर हुने स्ट्रोक (मस्तिष्कघात) का कारण उच्च रक्तचापको औषधिमा गरिने लापरबाही हो भन्छन् ।

आधुनिक जीवनशैली, मानसिक तनाव, धूमपान उच्च रक्तचापको प्रमुख कारण हो । मधुमेह बुढौली, नूनको अति सेवन र वंशाणुगत पनि उच्च रक्तचापको कारण हुने चिकित्सक बताउँछन् । ‘धेरै मानिसले मलाई उच्च रक्तचाप छ भनेको सुनेर पनि यसलाई सामान्य रुपमा हेरिन्छ, खतराका हिसाबले यो बहुअंग घातक हो,’ रेग्मी भन्छन्, ‘हृदयघात, मिर्गौला फेलियर, मस्तिष्कघाट (स्ट्रोक), आँखाको ज्योति गुम्ने, पक्षघातजस्ता रोगको प्रमुख कारण उच्च रक्तचाप हो ।’

यस रोगले कुनै पनि लक्षण नदेखाइकनै बिरामीका प्रमुख अङ्गहरु मुटु, मिर्गौला, आँखा, दिमाग आदिलाई क्रमिक रुपले खतम पार्दै लगेर बिरामीलाई मृत्युको मुखमा पु¥याउँछ । यसै कारण उच्च रक्तचापलाई सुषुप्त हत्यारा (साइलेन्स किलर) संज्ञा दिइएको छ । चिकित्सकहरू भन्छन्, ‘उच्च रक्तचापको नियन्त्रण गर्न सके ठूलो खतराबाट जोगिन सकिन्छ ।’

उच्च रक्तचापलाई नियन्त्रण गर्न प्रशस्त मात्रामा फलफूल, सागसब्जी, तरकारी र चिल्लो नभएको दुग्ध पदार्थ खानुपर्छ । नूनको मात्रा कम गर्र्नुपर्छ । धूमपान र मदिरालाई जीवनबाट पूरै निषेध गर्नु उचित हुन्छ । ९५ प्रतिशत अवस्थामा यसको कुनै पनि लक्षण देखिँदैन तर भित्रभित्रै रक्तचाप बढ्दै गएर यसले रोगीलाई मृत्युको मुखमा पु¥याउन सक्छ ।

रक्तचाप के हो ?

मुटु खम्चिने र फुक्ने प्रक्रियामा मुटुले एउटा पम्पको काम गर्छ । मुटु खुम्चदा शरीरको विभिन्न अङ्गमा सफा रक्तसञ्चार हुन्छ भने मुटु फुक्दा शरीरको विभिन्न अङ्गबाट प्रदूषित रगत मुटुमा जम्मा हुन आउँछ । डा. रेग्मीका अनुसार यो खुम्चने र फुक्ने प्रक्रियालाई क्रमशः सिस्टोल र डास्टोल र रक्तनलीमा रक्तसञ्चार हुँदा उत्पन्न हुने चापलाई रक्तचाप भनिन्छ ।’ रेग्मीले थपे, ‘मुटु खुम्चिएको बेला मुटुबाट बेग साथ निस्केको रगतले रक्तनलीहरुमा दिएको चापलाई स्टोलिक रक्तचाप र मुटुको डायस्टोलको अवस्थामा रक्तनलीहरुमा उत्पन्न हुने चापलाई डायस्टोलिक रक्तचाप भनिन्छ ।’ सिस्टोलमा रक्तचाप बढी र डायस्टोलमा कम हुन्छ । स्वस्थ मानिसमा स्टोलिक रक्तचाप ९० मि.मि. देखि १४० मि.मि.सम्म र डायस्टोलिक रक्तचाप ६० मि.मि. देखि ९० मि.मि. सम्म हुन्छ ।

विश्व स्वास्थ्य संघको परिभाषाअनुसार स्टोलिक रक्तचाप १६० मि.मि (माथि) वा बढी भएमा र डायस्टोलिक रक्तचाप (तल) ९५ मि.मि. वा बढी भएमा यस्ता व्यक्तिहरुलाई उच्च रक्तचाप मानिन्छ । डा.रेग्मीका अनुसार उच्च रक्तचाप भएमा पूर्ण मानसिक तथा शारीरिक विश्रामको अवस्थामा दिनको एउटै प्रहारमा दुई वा सोभन्दा बढी पटक उच्च रक्तचाप हुन्छ । एकै पटक मात्र उच्च रक्तचाप भएको भेटिँदैमा उच्च रक्तचापको रोगीको संज्ञा दिन मिल्दैन ।

बढ्दो दर

नेपालमा दिन प्रतिदिन यो रोग बढ्दै गैरहेको छ । विभिन्न अध्ययनले नेपालमा १८ वर्षमाथिका जनसंख्याको ग्रामीण क्षेत्रमा २० प्रतिशत र सहरी क्षेत्रमा ३५ नेपालका ४० प्रतिशत मानिस उच्च रक्तचापबाट पीडित छन् । मृगेन्द्र सम्झना स्वास्थ्य चिकित्सा गुुठीले केही वर्षअघि काठमाडौं जिल्लाको भद्रवास गाउँमा गरेको अध्ययनअनुसार २० वर्ष माथिका सम्पूर्ण जनसंख्याको १० प्रतिशतमा उच्च रक्तचाप रोग पाइएको थियो । सोही गाउँमा सन् २००६ मा आएर उक्त गुठीले सो रोगको बारेमा अध्ययन गर्दा २६ प्रतिशतमा यो रोग पाएको थियो । सहिद गंगालाल हृृदय केन्द्रको अध्ययनअनुसार १८ वर्ष माथिका वयस्कमा उच्चरक्तचाप २० प्रतिशत पाइएको छ । विश्वमा करिब १ अर्ब ५० करोड मानिस उच्च रक्तचापबाट पीडित छन् । यीमध्ये १२ प्रतिशत मात्र उच्च रक्तचापका बिरामीले नियमित उपचार गराउँछन् ।
उच्च रक्तचापका कारण

उच्च रक्तचापका रोगीमध्ये ९० देखि ९५ प्रतिशतमा उच्च रक्तचापको कारण अज्ञात रहन्छ । मानसिक तनाव, वंशानुगन तत्व, मोटोपन, अत्यधिक नूनको सेवन, रक्तनलीहरुमा कडापन आउनु जस्ता कारक तत्वद्वारा प्रभावित ३० वर्ष उमेर नाघेका जुनसुकै व्यक्तिलाई पनि उच्च रक्तचाप हुने अत्यधिक सम्भावना रहन्छ ।
५ देखि १० प्रतिशत उच्च रक्तचाप भएका रोगीमा उच्च रक्तचापको कारण यो नै हो भनेर ठम्याउन सकिन्छ । कतिपय अवस्थामा तीसभन्दा कम उमेरका कुनै शारीरिक कारणले विकास भएको उच्च रक्तचाप औषधिबाट निको पार्न सकिने डा.रेग्मी बताउँछन् । ‘बढेको बल्ड प्रेसरलाई १० मात्रै कम गर्न सकियो भने पनि मृत्युको खतरालाई ३० प्रतिशतले कम गर्न सकिन्छ,’ डा.रेग्मी भन्छन् । उनका अनुसार ब्लडप्रेसरको औषधि झन्झट मानेर, प्रेसर नियन्त्रण गर्ने औषधिले किड्नी बिगार्छ भनेर औषधि सुरू गर्न डराउन नहुने रेग्मी बताउँछन् ।

कारक तत्व
मानसिक तनाव
वंशानुगन तत्व
मोटोपन
अत्यधिक नूनको सेवन
रक्तनलीमा आउने कडापन

उच्च रक्तचापका खतरनाक परिणामहरु

हृदयाघात
पक्षाघात
मिर्गौलाघात
दृष्टिघात

रक्तचाप बढेपछि
टाउको दुख्नु र चक्कर लाग्नु
छाती दुख्नु
दम फुल्नु
नाथ्री फुट्नु (नाकबाट रगत आउनु)

Leave A Comment