‘कतार समस्याबारे चिन्ता नगर्नुस्’

मङ्गलबार, १० साउन २०७४, ०१ : १२ रुद्र खड्का , Kathmandu
‘कतार समस्याबारे चिन्ता नगर्नुस्’

तपाईंका आफन्त या नातेदार कतारमा रहेका कारण तनावमा हुनुहुन्छ भने खुसीको खबर छ । साढे एक महिनाअघि छिमेकी मुलुकहरूले नाकाबन्दी लगाउँदा भयानक संकट हुनसक्ने त्रास बढेको बेला सरकारी टोलीले यसै साता गरेको कतार भ्रमणले अहिले नै कतारमा समस्या सिर्जना नभएको निष्कर्ष निकालेको छ ।
जुन ५ मा छिमेकी मुलुकहरूले नाकाबन्दी लगाएपछि संकटमा परेको कतारको अवस्था बुझ्न गएको सरकारी टोलीले अहिले नै उक्त समस्यालाई लिएर आत्तिनु पर्ने अवस्था नरहेको जनाएको हो ।
वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका प्रमुख तेजराज पाण्डेको नेतृत्वमा गएको टोलीले नाकाबन्दी भएको साढे एक महिना बित्दा नाकाबन्दीको असर नदेखिएको बताएको हो । एक साता कतारमा रहेका कामदारलगायत विभिन्न निकायसँग भेटघाट गरी फर्केका पाण्डेले यतिखेर त्यहाँ दूध र सागपात खरिदमा सामान्य मूल्यवृद्धि भए पनि अन्य कुनै फरक नभएको बताए ।
 ‘कतारमा नाकाबन्दी छ भन्ने अनुभूति नै भएन,’ उनले भने, ‘नाकाबन्दी लम्बियो भने समस्या आउन सक्छ ।’ कतारी अधिकारीले नाकाबन्दीको विकल्प खोजिरहेको उनले जानकारी दिए । छिमेकी मुलुकले नाकाबन्दी लगाएपछिको अवस्थाले भन्दा नेपाली कामदार मेनपावर र रोजगारदाताको मारमा परेको पाण्डेले बताए ।
‘सम्झौताअनुसार कामदारले काम र पारिश्रमिक नपाउने समस्या ठूलो देखियो,’ उनले भने, ‘मेनपावरले कामदार पठाउने बेला मासिक १२ सय रियाल पारिश्रमिक पाउने भने पनि कतारमा ८–९ सय रियाल मात्रै पाउने गरेका छन् ।’ कतारका रोजगारदातासँग नेपालका अधिकांश म्यानपावरको सोझो सम्पर्क नभएको पाइएको उनको भनाइ छ ।
म्यानपावर र रोजगारदाताबाट कामदार ठगिने क्रम बढेकाले अब यसको उपाय खोजिनु पर्ने पाण्डेले बताए । साथै वैदेशिक रोजगारीमा जाँदा सीप सिकाउन उत्तिकै आवश्यक रहेको टोलीले निष्कर्ष निकालेको छ । कतार संकटपछि कामका लागि त्यता जानेको संख्या भने करिब ७५ प्रतिशतले घटेको विभागले जनाएको छ । नाकाबन्दी अघि दैनिक सरदर चार सय रोजगारीका लागि कतार जाने गरेकोमा अहिले त्यो संख्या एक सय जतिमा झरेको छ ।
वैदेशिक रोजगारीमा जाने युवायुवतीको संख्याको हिसाबले कतार खाडी क्षेत्रमा पहिलो र सबै गन्तव्य मुलुकमा दोस्रो गन्तव्य हो । विभागका अनुसार हालसम्म कतार जान करिब साढे १२ लाखले युवायुवतीले श्रम स्वीकृति लिएका छन् भने जसमध्ये करिब चार लाख यतिखेर कतारमै रहेको बताइन्छ । विभागले वैदेशिक रोजगारीमा जानेको विवरण राख्ने तर फर्कनेको कुनै विवरण नराख्ने गरेकाले विदेशमा रहिरहेका व्यक्तिहरूको यकिन विवरण खुल्न नसकेको हो ।
त्यस्तै नेपाल भित्रिने रेमिट्यान्समा कतारको योगदान १०–१५ प्रतिशत रहँदै आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा चार खर्ब ५० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिँदा करिब ६० अर्ब रुपैयाँ कतारको रहेको विज्ञहरूको अनुमान छ ।
 नेपालले हाल संस्थागततर्फ एक सय आठ र व्यक्तिगत तर्फ एक सय ६७ देशमा श्रम स्वीकृति दिएर आफ्ना नागरिक पठाउने गर्छ । रोजगारीका लागि संसारमा राम्रा राम्रा गन्तव्य भए पनि करिब ९५ प्रतिशत युवायुवती भने खाडी मुलुक र मलेसिया जाने गरेका छन् ।
म्यानपावर व्यवसायीले राम्रा देशबाट माग ल्याउन नसक्दा र रोजगारीमा जाने पनि गतिला गन्तव्यप्रति चासो नराख्दा युवायुवतीको गन्तव्य खाडी र मलेसियामा सीमित भइरहेको पाइन्छ । अधिकांशको गन्तव्य खाडी र मलेसियामा सीमित हुँदा नेपालले वैदेशिक रोजगारीबाट अपेक्षित लाभ लिन नसकेको गुनासो व्यापक छ । हुँदाहुँदा पछिल्लो वर्ष आइपुग्दा रेमिटेन्सको वृद्धिदर घट्न पुगेको छ । जसले गर्दा वैदेशिक रोजगारी हात्ती आयो फुस्सा सरह हुने खतरा बढेको  छ ।
कतारमा कार्यरत व्यक्तिहरू भने नाकाबन्दीपछि दैनिक उपभोग्य वस्तुमा सामान्य मूल्यवृद्धि हुनुबाहेक अन्य समस्या सिर्जना भएको छैन । नाकाबन्दीपछि कतारले टर्की, इरानजस्ता देशबाट दैनिक उपभोग्य वस्तुको जोहो गरिरहेको छ । यसअघि कतारले नाकाबन्दीको प्रमुख नेतृत्वकर्ता साउदी अरेबियाको भूमि प्रयोग गरेर खाद्यान्न आपूर्तिको व्यवस्थापन गर्दै आएको थियो । प्राकृतिक ग्यास र इन्धन बिक्री गरेर मनग्यै आम्दानी गरिरहेको कतारमा खाद्यान्न भने सधैं परनिर्भर रहँदै आएको छ । कतारको आफ्नै उत्पादनले एक प्रतिशत पनि योगदान गर्दैन । कतारको कुल २६ लाख जनसंख्यामध्ये करिब ८० प्रतिशत आप्रवासी छन् । कतारमा सबभन्दा बढी भारतीय नागरिक सात लाख जति रहेको बताइन्छ । कतारमा रहेका नेपालीको संख्या आप्रवासी कामदारमा दोस्रो हो । कतारको आफ्नै जनसंख्या भने साढे तीन लाख जति मात्र छ ।
सन् २०२२ मा विश्वकप फुटबल प्रतियोगिता आयोजनामा जुटेकाले कतारमा पछिल्लो पाँच वर्षयता बर्सेनि एक लाखभन्दा बढी  युवायुवती कामका लागि पुग्ने गरेका छन् । विभागका अनुसार आर्थिक वर्ष २०७२÷७३ मा एक लाख २९ हजार युवायुवती रोजगारीका लागि कतार पुगेका थिए । जसमा महिलाको संख्या एक हजार पाँच १८ थियो ।

सरकारी अधिकारीहरूले नाकाबन्दीले कतारमा समस्या सिर्जना नभएको बताए पनि श्रम विज्ञहरूको मत भने कतारको समस्या घट्नुको साटो बढ्दै गएकाले सरकारले विकल्प तयार गर्नुपर्ने रहेको छ । कतिपय विज्ञ भने नेपाली युवायुवती लामो समयदेखि खाडी र मलेसियामा मात्र निर्भर रहँदै आएकाले ती मुलुकको साटो नयाँ गन्तव्य खोज्नुपर्ने अवसर अहिलेको समयलाई लिन्छन् । कतारमा समस्या चुलियो भने कसरी समाधान गर्ने भन्ने बारेमा सरकारले यकिन गर्नुपर्ने श्रम विज्ञहरूको धारणा छ । छिमेकी मुलुक भारतले कतारमा रहेका आफ्ना नागरिकबारे विवरण संकलन गर्न थालिसकेकाले नेपालले पनि त्यसै गर्नुपर्ने श्रमविज्ञ सोम लुइँटेल बताउँछन् ।
काममा जानेलाई सल्लाह
वैदेशिक रोजगारीका लागि मलेसिया जानेलाई निम्न टिप्स उपयोगी हुन सक्छन्ः
–मलेसियाको न्यूनतम तापक्रम २० अधिकतम तापक्रम ३२ डिग्री ।
–मलेसियाको प्रमुख उद्योगमा रबर, पेट्रोरसायन, धातु र पर्यटन हुन् ।
–मलेसियामा ६१.३ प्रतिशतले इस्लाम, १९.८ प्रतिशतले बौद्ध, ९.२ प्रतिशतले क्रिश्चियन र ६.३ प्रतिशतले हिन्दु धर्म मान्छन् ।
–मलेसियाको मुख्य भाषामा मलय, चिनियाँ हुन् । अंग्रेजी र हिन्दी पनि प्रयोगमा छन् ।
–मलेसियाका सडकमा गाडीको गति अत्यधिक हुने हुनाले सडक पार गर्दा ट्राफिक बत्तीको छेउमा रहेको जेब्राक्रसिङ तथा आकाशे पुलबाट मात्र बाटो काट्नु पर्छ । नेपालमा जस्तै गाडीको स्टेरिङ दायाँतर्फ हुन्छ । तपाईंलाई ट्याक्सी भन्दा बसमा चढ्नु सुरक्षित तथा सस्तो हुन जान्छ ।
–मलेसिया बहुधार्मिक राष्ट्र हो । धार्मिक पर्वहरूमा बिदा हुन्छ । मुस्लिमहरूको प्रार्थनाको समयमा गैरमुस्लिमहरूले पनि त्यहाँको नियमको सम्मान गर्नुपर्छ ।
–मलेसियामा शुक्रबार, शनिबार र आइतबार सरकारी बिदा हुने गर्छ । कम्पनीका कामदारको हकमा भने कम्पनीको नियमअनुसार आलोपालो बिदा पाइन्छ । आफ्नो कामको समय मिलाउन नसकेमा कम्पनीको नियमअनुसार तलब काट्नेदेखि लिएर अन्य कारबाहीसमेत गर्न सक्छ । सातामा ४८ घण्टा काम गर्ने समय हुन्छ भने ओभरटाइम कम्पनीको नियमानुसार मिलाइएको हुन्छ । वर्षमा ११ दिन सार्वजनिक बिदा हुन्छ ।
–कामदारको तलबमा मलेसियन सरकाले लेबी (कर) लगाउँछ ।
–भर्खरै मलेसियाली सरकारले कामदारको न्यूनतम मासिक पारिश्रमिक एक सय रिंगिट थप गरी  ९०० रिंगिट  अर्थात् २२ हजार ५ सय रुपैयाँ (हालको विनियम दरअनुसार) बनाएको छ ।
–मलेसियामा कुनै समस्या परे क्वालालम्पुरस्थित नेपाली राजदूतावासको सम्पर्क नम्बर ६०३२१६४५९३४ हो ।

 

Leave A Comment