रोहित राई
शारीरिक सुगठनका लागि उर्वर भूमि हो धरान । ज्यानलाई फिट गराउन यहाँका युवायुवती अत्यधिक संख्यामा जिम हल धाउँछन् । त्यसैले जिम हल वा फिटनेस सेन्टर बग्रेल्ती खुलेका छन् तर जति युवायुवती जिम हल वा फिटनेस सेन्टरमा पुग्छन्, त्यस अनुपातमा शारीरिक सुगठन खेलमा अथवा प्रतियोगिताको स्पर्धामा भिड्न भने उनीहरु धकाउँछन् । जिम हल ज्यान बनाउन मात्र सीमित हुन थालेपछि चिन्तित यहाँका खेलकुदकर्मीले युवाहरुलाई प्रतियोगितामा पनि आकर्षित गर्न ठूलो धनराशि पुरस्कार भएको प्रतियोगिता गर्दैछन् ।
धरान १५ स्थित एलाइनेट जिम हलले आगामी भदौ २७ र २८ गते राष्ट्रिय स्तरको प्रतियोगिता प्रथम नेपाल च्याम्पियन खुल्ला राष्ट्रिय प्रतियोगिता गर्न लागेको हो । सधैँ सभागृह हलभित्र हुने शारीरिक सुगठन प्रतियोगितालाई यस पटक भने भानुचोकमा खुला रुपमा गरिने आयोजकले जनाएको छ । ‘प्रतियोगिता इन्डोर गरिँदा चाहे जति प्रवद्र्धन हुन सकेन कि भन्ने लाग्यो र, यसपालि भानुचोकमा खुला रुपमा गर्दैछौँ,’ एलाइनेटका अध्यक्ष एवं आयोजक कमिटीका संयोजक विक्रम लिम्बूले भने, ‘खुलारुपमा प्रतियोगिता गर्दा धेरैको नजरमा पर्छ र खेलको प्रर्वद्धनमा टेवा पुग्छ भन्ने आशा छ ।’
शारीरिक सुगठन खेलमा महिला खेलाडी निकै कम छन् । जति छन्, ती सबै राजधानीमा छन् । मोफसलमा पनि यस खेलप्रति युवतीहरुलाई आकर्षित गर्न लेडिज बडिबिल्डर जुनु वज्रचार्यलाई ल्याएर डेमोस्ट्रेसन गराउन आयोजकले पहल गरिरहेको छ । वज्राचार्यले अन्तर्राष्ट्रिय सेभेन पोज प्रस्तुत गर्ने र यस खेलप्रति युवतीहरुको भ्रम तोडिने आयोजकको अपेक्षा छ । नेपालमा शारीरिक सुगठन खेल पुरुषहरुको मात्र हो भन्ने आममानसिकता तोडिन सकेको छैन । जसले गर्दा शारीरिक संगठनमा युवतीहरुको संख्या न्यून छ ।
नेपाल च्याम्पियन नेपालमा आयोजना हुने शारीरिक सुगठन खेलमा धर्मश्रीपछि मोफसलमा हुने ठूलो पुरस्कार राशि पनि हुनेछ । पछिल्लो समय धर्मश्रीको विजेताले नगद राशि ५ लाख पाएको थियो । नेपाल च्याम्पियनको उपाधि विजेताले नगद १ लाख र जकर मेसिन पाउनेछन् । यस्तै, दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले ४० हजार, चौथोले ३० हजार र पाँचाँै हुनेले २५ हजार पुरस्कार पाउने आयोजक कमिटीका संयोजक लिम्बूले बताए । उनले भने, ‘मोफसलमा पनि राष्ट्रियस्तरको प्रतियोगिता हुन्छ भन्ने प्रमाणित पनि गर्नुछ ।’ यसअघि एलाइनेटले २०६३ मा राष्ट्रियस्तरको प्रतियोगिता मिस्टर बूढासुब्बा आयोजना गरिसके पनि निरन्तरता दिन भने सकेन । वि.सं. २०५७ सालमा स्थापना भएको एलाइनेटको यो १५ औँ प्रस्तुति हुनेछ ।
आयोजकले जनाएअनुसार भदौ २७ गते प्रि–जजिङ राउन्ड हुनेछ । जसमा एक वजन समूहबाट ६ जना खेलाडी मात्र फाइनल प्रतियोगिताका लागि छनोट हुनेछन् । प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७५ केजी गरी ५ वजन समूहमा खेलाडीहरु प्रतिस्पर्धा गर्न सक्नेछन् । भदौ २८ गते फाइनलमा प्रत्येक वजन समूहमा प्रतिस्पर्धा हुनेछ र प्रथम हुने खेलाडीले मात्र उपाधिको लागि ओभरअल राउन्डमा स्पर्धा गर्ने मौका पाउनेछन् । प्रतियोगितामा नेपालभरबाट खेलाडीहरु सहभागी हुन सक्ने तर कुनै न कुनै क्लबको प्रतिनिधित्व गर्नुपर्ने सचिव हिमाल श्रेष्ठले बताए । विभागीय क्लबबाट पनि खेलाडी आउन सक्नेछन् । एउटा क्लबबाट एक वजन समूहमा दुई जना खेलाडीले मात्र सहभागी हुन सक्छन् ।
यस्तै इन्डिभिजुअल पुरस्कारतर्फ पनि बेस्ट पोजर, मस्कुलर मेन, मोस्ट इम्प्रुभमा जनही नगद ५ हजार दिइनेछ । प्रतियोगितामा कुल ८ लाख ७० हजार खर्च हुने अनुमान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद, धरान उपमहानगर, प्रायोजक, टिकट तथा सहयोग रसिद लगायतबाट आर्थिक स्रोत जुट्ने अपेक्षा राखिएको आयोजकले जनाएको छ ।
Leave A Comment