पोखराकी एक्ली महिला ट्याक्सी चालक

सोमबार, ०९ साउन २०७४, १२ : ३७ शुक्रवार , Kathmandu
पोखराकी एक्ली महिला ट्याक्सी चालक

सन्तोष सुवेदी
अन्य महिलाभन्दा उनको दैनिकी पूरै फरक छ । बिहान उठेपछि अरु घरधन्दामा व्यस्त हुन्छन्, उनी भने ट्याक्सीको ‘क्यु’मा हुन्छिन् । उनी ट्याक्सी चालक हुन्, त्यसैले अरु महिलाभन्दा उनको दैनिकी फरक छ । पोखराको सडकमा पुरुष चालकको भीडमा महिला चालक बनेर ट्याक्सी हुइँक्याउँछिन् । गाडीको स्टेयरिङ जति सन्तुलनसँग चलाउँछिन् उनी, परिवार पनि उत्तिकै मिलाएर राखेकी छन् । पोखराको सडकमा अन्य चालकले झैँ ट्याक्सी कुदाउने एक मात्र महिला चालक हुन्, विष्णु कुँवर ।
‘तपाईँसँग आज भेट्न पाउँदिनँ कि जस्तो लागेको थियो !’ पोखराको जिरोकिमिमा भेट्न बिहान समय दिँदै गर्दा उनले भनेकी थिइन्, ‘हिजो लम्जुङ बिरामी लिएर गएकी थिएँ । आउन मिल्दैन कि जस्तो लागेको थियो !’ आफूले चाहेको भन्दा पनि यात्रुले चाहेको बाटोमा हिँड्नुपर्ने आखिर उनको कर्म नै छ ।
ट्याक्सी चालकको पेशा रोज्नुको कारण ? ‘पहिला तरकारी पसल गर्थें, दिनभरि पसलमा बसिरह्यो, व्यापार पनि सोचेजस्तो नहुने अनि दिक्क लाग्यो,’ उनले आफ्नो कथा सुनाइन्, ‘केही नयाँ काम गरौँ भन्ने सोचेर ट्याक्सी सिक्न थालेँ ।’
हुन त जीवनमा ट्याक्सी चालक बन्छु भन्ने कहिल्यै सपना नै देखिन् न त कल्पना नै गरिन् । पोखरा मालेपाटनकी चेलीको विवाह सर्लाही भएको थियो । तापनि उनी फेरि सपरिवार पोखरा नै आइन् । विवाहपछिको दैनिकी तरकारी बेचेर बित्थ्यो । पोखरा सभागृह नजिकै तरकारी बेचेर उनी महिनामा १५/२० हजार कमाउँथिन् । ‘दिनभरि सडक छेउमा बस्नुपर्ने, कहिले झरी, कहिले घाम, अनि त्यति सोचेजस्तो व्यापार भएन,’ उनले पुराना दिन सम्झँदै भनिन्, ‘दिक्क लागेर अर्कै काम गर्न मन लाग्न थाल्यो ।’ केही समय फुर्सदै बसेर ड्राइभिङ सिकिन् । लाइसेन्स निकालिन् । अनि बैंकबाट ऋण लिएर ट्याक्सी किनिन् ।
ग १ ज ४३४१ नम्बरको ट्याक्सी उनको आफ्नै हो । अहिले महिनैपिच्छे ४०/५० हजार कमाउँछिन् । ‘अहिले त बैंकलाई ऋणको किस्ता पनि सकियो,’ यसो भनिरहँदा उनको अनुहारमा छुट्टै खुसीको चमक देखिन्थ्यो ।
विष्णुका पति स्वयं माइक्रो बसका चालक हुन् तर विष्णुले ट्याक्सी चलाउने इच्छा देखाउँदा सुरुमा उनले नाक खुम्च्याए । विष्णुले कुनै हालतमा ट्याक्सी चलाउने अठोट मनमा लिइसकेकी थिइन् । आफ्ना बुबासँग कुरा राखिन् । उनले एकै वचनमा समर्थन जनाए । बाबुले हुन्छ भनेपछि पतिको पनि मन फर्कियो । त्यसपछि बनिन्, विष्णु कुँवर पोखराकै पहिलो महिला ट्याक्सी चालक । विष्णुले ट्याक्सी चलाउन थालेको सात वर्ष पूरा भयो । ‘यत्रो समय भै’सकेछ,’ उनले भनिन्, ‘अहिले बरु यसो गर्छु भन्न सजिलो छ, त्यतिबेला त निकै गाह्रो अवस्था थियो ।’ अहिले राष्ट्रको सबैभन्दा ठूलो पद राष्ट्रपतिमा पनि महिला, सभामुख पनि महिला हुँदा उनलाई खुसी लागेको बताउँछिन् ।
उनले पोखराका सडकमा ट्याक्सी कुदाउन थालेको यत्रो वर्ष भइसक्दा पनि अहिलेसम्म अरु महिला उनको बाटोमा आएका छैनन् तर उनले हिम्मत हारेकी छैनन् । सुरुसुरुमा ट्याक्सी चालक पुरुषले उनलाई जिस्काउँथे रे ! ‘टायर पन्चर भएछ भन्थेँ, म ट्वाल्ल पर्थें,’ उनी सम्झन्छिन्, ‘हिजोआज जिस्काउन छाडेका छन् !’ केटा मान्छेसँग कुरा मिल्दैन, महिलाहरु पनि यो पेसामा आइदिए हुन्थ्यो भन्ने उनलाई लागिरहन्छ । ‘महिलाले पनि पुरुषसरह काम गर्न सक्छन्,’ उनले भनिन्, ‘कोही इच्छुक भए म सहयोग गर्थें !’
उनका एक छोरा र एक छोरी छन् । ट्याक्सी चलाएर छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाएकी छन् । ३२ वर्ष वसन्त पार गरेकी कुँवर जिन्दगीमा ठूलो सपना देखेकी भने छैनन् । भन्छिन्, ‘खुसी र सन्तोकको जिन्दगी बाँच्ने सके, पुगो ।’ ट्याक्सी चलाएर केही दाम र केही नाम पनि भएकोमा उनले खुसी व्यक्त गरिन् । उनले गरेको हिम्मत र आँटलाई थुपै्र संस्थाले पहिचान गरेर सम्मान पनि गरेका छन् । त्यस्ता सम्मान पाउँदा आफूले राम्रै गरेछु भन्ने लाग्छ उनलाई ।

Leave A Comment