२० वर्षदेखि दाँत नमाझ्दा

आइतबार, ०८ साउन २०७४, १२ : ४६ शुक्रवार , Kathmandu
२० वर्षदेखि दाँत नमाझ्दा

तपाईं हामीलाई एक दिन दाँत नमाझ्दा त सकसक लाग्छ । २१ वर्षे एक युवकले भने २० वर्षदेखि दाँत माझेका छैनन् भन्दा कस्तो लाग्ला ? बेलायती २१ वर्षे युवाले २० वर्षदेखि दाँत नमाझ्नुका साथै मुख कुल्ला नगरेको समाचार र यससँगै आएको भिडियो इन्टरनेटमा भाइरल भएको छ । जेका अनुसार उनलाई घर परिवारका मानिसहरुले समेत दाँत माझ्नुपर्छ भनेर सुझाएनन् । परिवारबाटै सिक्न नपाएपछि उनले दाँत माझ्ने कुरा नै भएन । र, यही सानो कुराले उनी यतिबेला गहन दन्त उपचार गर्न बाध्य भएका छन् । दाँत बिग्रिएर उनी दन्तचिकित्सककोमा पुगेपछि नै यो कुरा बाहिर आएको हो । गत जनवरीमा उनी बेलायती रियालटी सो ‘इम्ब्रासिङ बडीज’मा समेत आएका थिए । तर मूलधारका मिडियाहरुले गत साता मात्र यो कुरा थाहा पाए र यो खबरले सनसनी मच्चाएको छ ।
दाँत बिग्रँदा समेत जे डेन्टिस्टकोमा जान हिच्किचाइरहेका थिए । भन्छन्, ‘म यसअघि कहिल्यै डेन्टिस्टकोमा गएको थिइनँ । मलाई निकै डर पनि लागिरहेको थियो ।’ उनको उपचारमा संलग्न डाक्टर जेम्स रसेलका अनुसार धेरै वर्षदेखि दाँत नमाझ्दा जेका दाँतमा टैटार र प्लेग बनिसकेको थियो । जेको दाँतका जरामा इन्फेक्सन नभएको भए पनि सडिसकेका उनका ११ दाँत भने फुकाल्नै पर्ने थियो । जेम्स भन्छन्, ‘कृत्रिम दाँत राख्नेभन्दा पनि अब उसको दैनिकीमा परिवर्तन गर्ने अवस्था थियो । उसले चिसो र कोला निकै पिउँदो रहेछ । उसले यी पेय पदार्थ छोडेन भने उसका दाँत अब दाँत रहँदैनन् ।’ साथै उनले जेलाई मिठाई र गुलिया चिज नखान सुझाएका छन् । डाक्टरको कुरा जेले आत्मसात गर्दै अघि बढ्ने बताएका छन् । यसरी २० वर्षदेखि नमाझेका जे आजभोलि खानपान र दाँत माझ्न थालेदेखि उनका दाँतमा सुधार आएको छ ।

Leave A Comment