जमाना ‘लाइभ’को

आइतबार, ०८ साउन २०७४, १२ : ३८ शुक्रवार , Kathmandu
जमाना ‘लाइभ’को

अब ‘लाइभ’ रेडियो र टेलिभिजनमा मात्र सीमित रहेन । हातमा मोबाइल र साथमा इन्टरनेट भएपछि हरेक मान्छेले अब ठाउँको ठाउँ आफूलाई मन परेका दृश्य तथा कुराकानीलाई प्रत्यक्ष प्रसारण गर्न सक्छ । फेसबुकले यो सम्भव बनाएसँगै नेपालमा ‘फेसबुक लाइभ’को प्रयोग बढेको छ । मार्क जकुरबर्गलाई मान्ने हो भने फेसबुक लाइभ भनेको तपाईंको पकेटमा टिभी क्यामेरा हुनुसरह हो । नेता, कलाकार, व्यवसायी मात्र होइनन्, आम नागरिक पनि फेसबुक लाइभको स्वादमा रमाइरहेका छन् । यस्तो लाग्छ– फेसबुक लाइभ अब मान्छेको जीवनशैली भइसक्यो । सँगसँगै प्रविधिलाई उपयोग गर्ने सांस्कृतिक चेतको अभावका कारण नेपालमा यसको दुरुपयोग हुने सम्भावना पनि उत्तिकै छ ।
के हो फेसबुक लाइभ ? नेपालमा कसरी भइरहेको छ यसको प्रयोग ? अनिल यादवले फेसबुक लाइभको दुनियाँमा पसेर तयार पारेको रिपोर्ट ।

एउटा समय थियो जतिबेला टेलिभिजनमा महत्वपूर्ण घटना र कार्यक्रम मात्र ‘लाइभ’ प्रसारण गरिन्थ्यो । ती कार्यक्रम हेर्न कुनै एक ठाउँ स्क्रिनको व्यवस्था हुन्थ्यो, जहाँ मान्छेहरु टाढा–टाढाबाट भेला हुन्थे र लाइभ प्रसारणको मज्जा लिन्थे ।

अब त्यो जमाना कहाँ रह्यो र ? हातमा स्मार्टफोन र साथमा इन्टरनेट भएपछि हरेक मान्छेले अब ‘लाइभ’ गर्न सक्ने भएको छ । फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि दुई वर्षअघि सुरु गरेको ‘लाइभ’ सेवा अहिले व्यापक भइसकेको छ । मान्छेहरु आफू जहाँ छन् त्यहीँबाट तत्कालै ‘फेसबुक लाइभ’ गरेर आफ्ना कुरा हजारौं दर्शकमाझ पुर्याइरहेका छन् ।

नेपालमा पछिल्लो समय ‘फेसबुक लाइभ’ मान्छेको जीवनशैली बनिरहेको छ । नेतादेखि कलाकारसम्म सबैले यसको भरपूर प्रयोग गरिरहेका छन् । सेलिब्रेटी मात्र होइन, आममान्छेमा पनि यसको प्रयोग र चासो बढ्दो छ । मानवशास्त्री सुरेश ढकाल भन्छन्, ‘कुनै एउटा लक्षित समूहसँग पुग्नका लागि फेसबुक लाइभ अरु माध्यमभन्दा एकदमै प्रभावकारी भइरहेको छ । त्यसैले राजनीतिज्ञदेखि व्यवसायी, कलाकारदेखि सर्वसाधारण सबैले यसको प्रयोग गरिरहेका छन् ।’

खुसी साट्न ‘लाइभ’
गायिका मेलिना राई र मोडल एलिसा राई कार्यक्रमका लागि सिंगापुर उड्दै थिए । नेपालबाट प्लेन प्रस्थान हुनुअघि मेलिनाले एलिसालाई छेउमा राखेर एयरपोर्टबाटै फेसबुक ‘लाइभ’ गरिन्, ‘हेल्लो, नमस्ते । मसँग हुनुहुन्छ अहिले एकदमै क्युट, प्रेटी एन्ड ट्यालेन्टेड मोडल÷डान्सर एलिसा राई । हामीचाहिँ अहिले वेटिङमा छौँ । यहाँनेर लाइनमा बस्नुको अल्छीले गर्दा, अलिकति एकछिन रेस्टमा छौँ । हामी अहिले सिंगापुर जाँदैछौँ । अहिले हामी हाम्रो प्यारो–प्यारो देश नेपालको इन्टरनेसनल एयरपोर्टमा छौँ ।’

खासमा मेलिना त्यतिबेला समयको सदुपयोग मात्रै होइन, आफ्नो पछिल्लो गतिविधिबारे दर्शकलाई जानकारी पनि गराइरहेकी थिइन् । सँगसँगै सिंगापुरमा रहेका नेपालीलाई कन्सर्टमा सहभागी हुनसमेत आग्रह गरिरहेकी थिइन् । ‘म प्रायः सांगीतिक माहोलका दृश्यहरु ‘लाइभ’ गरिरहेकी हुन्छु,’ मेलिनाले भनिन्, ‘फेसबुक लाइभले मेरा शुभचिन्तकहरुलाई मेरो ओरिजिनल फेसबुक पेज चिन्न सजिलो बनाएको छ । म खासगरी आफू ज्यादै खुसी भएको अवस्थामा लाइभ आउने गर्छु ताकि त्यो खुसी मेरा दर्शक÷श्रोताहरुसँग बाँड्न सकूँ । फेसबुक ‘लाइभ’ले मैले गरिरहेको कामहरुको राय बुझ्न पनि सजिलो बनाएको छ ।’

मेलिना मात्र होइन अधिकांश फेसबुक प्रयोगकर्ता आफू खुसी भएको अवस्थामा ‘लाइभ’ गरिरहेको भेटिन्छन् । ‘शुक्रवार’सँग कुराकानीमा अधिकांश लाइभ प्रयोगकर्ताको एउटै आवाज सुनियो, ‘म मेरो खुसी साट्न लाइभमा आउँछु ।’ काठमाडौँस्थित जोरपाटीकी सब्या श्रेष्ठ पनि एउटी प्रयोगकर्ता हुन्, जो कहिले फेसबुक ‘लाइभ’मा गीत गाइरहेकी हुन्छिन्, कहिले साथीहरुको म्यासेज रिप्लाई गर्र्दै मज्जा लिइरहेकी हुन्छिन् । ‘म एकदमै खुसी भएका बेला र कसैलाई म्यासेज पु¥याउन मन लाग्यो भने फेसबुकमा लाइभ आउँछु,’ उनले भनिन् ।

राजनीतिमा लाइभ
पछिल्लो समय राजनीतिज्ञका लागि आफ्ना कुरा जनता र कार्यकर्तासमक्ष पु¥याउने भरपर्दो अस्त्र बनिरहेको छ– फेसबुक लाइभ । नेकपा एमालेले त यसलाई प्रचारको एउटा भरपर्दो माध्यम नै बनाएको छ । स्थानीय निर्वाचनताका एमालेले आफ्नो कार्यलयमै पृष्ठभूमिमा ‘फेसबुक लाइभ’ लेखिएको ब्यानर राखेर अफिसियल फेसबुक पेजबाट लाइभको श्रृंखला नै चलायो । जहाँ एमालेका अध्यक्ष केपी ओलीदेखि झलनाथ खनाल, वामदेव गौतम लगायत वरिष्ठ नेताहरु प्रत्यक्ष प्रसारणमा देखिए । ‘फेसबुक लाइभ अब त राजनीतिमा अनिवार्यजस्तो भइसक्यो,’ एमाले केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजाल भन्छन्, ‘यो एकदमै प्रभावकारी हुँदोरहेछ । नेतादेखि कार्यकर्ता सबैका लागि यो नयाँ खालको स्वाद हो । हामीलाई आफ्नो आवश्यकताअनुसार लक्षित वर्गलाई सूचना दिन यसले सजिलो बनाएको छ । त्यसैले अब हामी पार्टी कार्यालयमा फेसबुक लाइभका लागि एउटा स्टुडियो नै बनाउँदैछौँ । धेरैले आवाज प्रस्ट सुनिएन भनेर गुनासो गरेकाले साउन्डप्रुफ स्टुडियो बनाउने तयारीमा छौँ ।’

‘लाइभ’को प्रभावकारिताबाट उत्साहित रिजालले ‘को नेता लाइभ आउँदा कति भ्यूज भयो ?’ कण्ठै गरेका छन् । शुक्रवारकर्मीसँग उनी भन्दै थिए, ‘मैले अध्यक्ष केपी ओलीज्यूको लाइभ गर्दा एक लाख ५६ हजारभन्दा बढी भ्युअरसिप भएको थियो । त्यस्तै माधव नेपालको लाइभ गर्दा ७८ हजारभन्दा बढीले हेरेका थिए । यो त एकदमै राम्रो हो नि ! हाम्रो पार्टीले यसलाई निरन्तरता दिन्छ ।’ एमालेका प्रचार विभाग सचिव योगेश भट्टराई पनि फेसबुक लाइभमार्फत आफू सहभागी कार्यक्रम र आफ्नाबारे अपडेट गराइरहेका हुन्छन् ।

नेपाली कांग्रेसले पनि चुनावताका फेसबुक लाइभलाई प्रयोग गरेको थियो । कांग्रेसका युवा नेता गगन थापा कपनजाँदा उनलाई निर्वाचन आचारसंहिता उल्लंघन गरिएको आरोपसहित लखेटिएको समाचार बाहिरिएको थियो । त्यतिबेला उनले फेसबुक ‘लाइभ’मा आएर ‘मेरो लखेटिने हैसियत छैन’ भन्दै त्यसको खण्डन गरेका थिए । सामाजिक सञ्जालमा एकदमै सक्रिय रहेका नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई पनि बेलाबेला फेसुबक ‘लाइभ’ गर्ने गर्छन् । उनी युनिभर्सिटी अफ अक्सफोर्डमा सहभागी हुन गएका बेला त्यहाँबाट कार्यक्रमको ‘लाइभ’ गरेका थिए ।

साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पनि चुनावताका फेसबुक लाइभको खुब प्रयोग गरे । आफ्ना एजेन्डा भन्न र जनताका प्रश्नको जवाफ दिन उनले लाइभको माध्यम प्रयोग गरेका थिए । त्यसो त उनले बिबिसी नेपाली सेवाको प्रमुखबाट राजिनामा दिएपछि बिबिसीको पेजबाट उनीसँग फेसबुक लाइभमा कुराकानी गरिएको थियो । त्यही फेसबुक लाइभबाटै उनले औपचारिक रुपमा राजनीतिमा लाग्ने घोषणा गरेका थिए जसलाई विभिन्न मिडियाले सम्प्रेषणसमेत गरे ।

आत्मप्रचारको माध्यम
फेसबुक ‘लाइभ’ अहिले व्यापक आत्मप्रचारको माध्यम बनिरहेको छ । ‘फेसबुक लाइभ भनेको मेरा लागि टिभी हो, जतिखेर चाह्यो त्यतिखेर खोल्छु अनि आफ्ना कुरा भन्छु,’ काठमाडौँको कलंकी बस्ने झापाका मोबाइल टेक्निसियन सुनिल राईले भने, ‘अब हाम्रा कुराहरु राख्न, हाम्रा प्रतिभाहरु देखाउन कोही दोस्रो व्यक्तिको सहयोग चाहिँदैन । सिधै फेसबुक खोल्ने हो, लाइभ बटन थिच्ने हो अनि फटाफट बोल्न थाल्ने हो ।’

सुनिल त प्रतिनिधि उदाहरण मात्रै हुन्, उनीजस्ता थुप्रै फेसबुक प्रयोगकर्ता फेसबुक लाइभलाई आत्मप्रचार अर्थात् आफ्नो प्रचारका लागि प्रयोग गरिरहेका भेटिन्छन् । यदि तपाईं फेसबुक चलाउनुहुन्छ भने तपाईंले यो महसुस गर्नुभएकै हुनुपर्छ । लोकप्रिय गायक राजेशपायल राईकै कुरा गरौं । उनी अत्यधिक फेसबुक लाइभ प्रयोग गर्ने सेलिब्रेटीमध्येमा पर्छन् । ‘फेसबुक लाइभले मेरो व्यावसायिक जीवनमा अत्यन्तै प्रभाव पारेको छ । सायद यसको एकदमै धेरै प्रयोग गर्नेमध्येमा पर्छु होला म,’ उनले भने, ‘विदेशमा हुने कन्सर्ट होस् या स्वदेशमा म ‘लाइभ’ गरिरहेको हुन्छु र मेरा फ्यानहरुलाई इन्जोय गराइरहेको हुन्छु । म नयाँ–नयाँ गीतको रेकर्डिङ गरिरहेका बेला लाइभ आएर गीतका बारेमा जानकारी गराइरहेको हुन्छु । यसले दर्शकलाई इन्जोय पनि हुने, आफ्नो गीतको प्रचार पनि हुने ।’

लाइभबाटै समाजसेवा
शब्दका माध्यमबाट मागिएको सहयोगभन्दा धेरै गुणा प्रभावकारी हुन्छ– प्रत्यक्ष आग्रह । त्यसैले पछिल्लो समय सामाजिक कामका लागि पनि फेसबुक लाइभको प्रयोग भइरहेको छ । गएको वैशाखमा बिरामी कलाकार दीपक क्षेत्रीको उपचारका लागि फेसबुक लाइभमार्फत नर्थ क्यारोलिनाबाट दुई लाख संकलन भएको थियो । विशाल भारतीको आयोजना र सुमन भट्टराईको स्वरमा संचालन भएको फेसबुक लाइभबाटै कलाकार क्षेत्रीको अवस्था सुनेर धेरैले भावुक हुँदै स्वस्फूर्त सहयोग गरेका थिए । सहयोगदाताहरुको नामावली पनि त्यतिबेला लाइभकै क्रममा प्रसारण गरिएको थियो ।

लाइभबाटै जन्मदिन
फेसबुक लाइभ गरेर आफ्नो जन्मदिन मनाउने शैली पनि पछिल्लो समय निकै बढेको छ । असार २८ गते गायिका एन्जिला रेग्मीले आफ्नो जन्मदिन यसैगरी मनाइन् । आफ्नो परिवार, आफन्त र प्रशंसकका लागि आफूले यसरी लाइभ गरेको उनले बताइन् । ‘मेरो बर्थडेको दिन ममी ड्याडी, परिवार, आफन्त, प्रशंसक कोही पनि मसँग हुनुहुन्थेन, त्यसैले उहाँहरुले पनि मेरो खुसीको पल हेर्नुहोस् भनेर लाइभ गरेकी थिएँ,’ उनले भनिन्, ‘भोलिपल्ट फेरि लाइभमार्फतै मलाई शुभकामना दिनुहुने सबै साथीहरुलाई एकमुष्ट धन्यवाद दिन पनि सजिलो भयो ।’ रंगकर्मी नानी थापाले पनि अघिल्लो साता आफ्नो जन्मदिनको अवसरमा लाइभ आएकी थिइन् । ‘एकैपल्ट हजारौँ शुभकामनाको म्यासेज र पोस्ट आउँदा रिप्लाई दिन पनि गाह्रो हुन्छ, त्यसैले प्रत्यक्ष कुरा गरेर धन्यवाद दिएँ,’ उनले भनिन्, ‘यसरी रेस्पोन्स गर्दा टाढा रहेका साथीभाइ, आफन्त सबैसँग आत्मियता पनि कायम हुँदोरहेछ ।’

लाइभबाटै गुरु पूर्णिमा
अभिनेत्री रजनी केसीले यस वर्षको गुरुपूर्णिमा (असार २५ गते) लाई आफ्नो जिन्दगीकै विशेष दिन बनाइन् । हास्य टेलिसिरियल ‘टेन टु फाइभ’को सुटिङ सेटमै उनले आफ्ना गुरुहरुसँग फेसबुक लाइभमार्फत् दर्शकहरुलाई प्रत्यक्ष रुपमा केक काटिन् र गुरुपूर्णिमा मनाइन् ।
लाइभमा उनीसँग उनका गुरुहरु निर्मल शर्मा, कमलकान्त मैनालीलगायत देखिन्थे । रजनी पछिल्लो समय निर्मलका थुप्रै प्रोजेक्टमा लगातार काम गरिरहेकी छन् । त्यसैले उनलाई मिडियाले बारम्बार निर्मलसँग लामो समयसम्म काम गर्नुको कारण सोधिरहन्छ । रजनीले त्यतिबेला फेसबुक लाइभमार्फत नै स्पष्टीकरण पनि दिइन्, ‘म निर्मल सर, केशव भट्टराई, कमलकान्त मैनाली सबैलाई आफ्नो गुरु मान्छु । उहाँहरुसँग काम गर्दा मलाई आफ्नै परिवारसँग काम गरेको महसुस हुन्छ । त्यसैले उहाँहरुसँग काम दोहोर्याएर गरिरहन्छु ।’

फिल्मको प्रचार
पछिल्लो समय नेपाली फिल्मको प्रचारमा नयाँ–नयाँ शैलीहरु अपनाइँदैछ । फेसबुक लाइभ पनि निर्माता र कलाकारका लागि दर्शकसमक्ष पुग्ने एउटा  एउटा सशक्त माध्यम बनिरहेको छ । हाल हलमा रिलिज भइरहेका फिल्म ‘सायद–२’ का निर्माता सुनिल रावल केही समययता फेसबुक लाइभमा निरन्तर आइरहे । आफ्नो फिल्मको बारेमा जानकारी दिँदै दर्शकलाई हेर्न आग्रह गरिरहे । ‘म एउटा फिल्म मेकर भएकाले दर्शकको प्रतिक्रिया लिनु मेरो दायित्व हो  र फेसबुक लाइभमार्फत म त्यो दायित्व पूरा गरिरहेको छु,’ उनले शुक्रवारसँग भने, ‘यसमार्फत मलाई दर्शकसँग प्रत्यक्ष टचमा रहन सजिलो भएको छ । दर्शक कस्तो फिल्म हेर्न चाहन्छन् ? उनीहरुको रुचि र मनोविज्ञान बुझ्न पनि मद्दत गरेको छ ।’ अर्को साताबाट रिलिज हुने तयारीमा रहेको फिल्म ‘प्रेमगीत–२’ ले पनि फिल्म प्रचारका लागि फेसबुक लाइभको खुब प्रयोग गरिरहेको छ । यसका कलाकारदेखि निर्माता सबै फेसबुक लाइभमार्फत दर्शकसँग अन्तरक्रिया गरिरहेको भेटिन्छन् ।

घरमै कन्सर्ट
‘नेपालदेखि अमेरिकासम्म, राजेशपायलदेखि कुमार सानुसम्म सबैको कन्सर्ट घरमै बसीबसी हेर्न पाइन्छ, बस हातमा मोबाइल र इन्टरनेट हुनुप¥यो,’ काठमाडौँ, जोरपाटीका केशव राईं भन्छन्, ‘कतै कन्सर्ट भइरहेको छ भने फेसबुकमा कसै न कसैले लाइभ गरिहाल्छ । महत्वपूर्ण घटना भइरहेको छ भने पनि लाइभ भइहाल्छ । अहिले धेरै सजिलो भएको छ ।’ त्यसो त अहिले अधिकांश गायकगायिकाले आफ्नो सांगीतिक प्रस्तुतिलाई फेसबुकमार्फत लाइभ गरिरहेका हुन्छन् । भर्खरै काठमाडौँमा सम्पन्न भारतीय गायक कुमार सानुको कन्सर्ट पनि धेरैले फेसबुकबाटै लाइभ गरेका थिए । ‘कार्यक्रमतिर आफूले गरेको प्रस्तुति पछि आफैँले हेर्दा पनि लाइभ फिल गराउँछ जुन तस्बिरले गराउँदैन,’ अभिनेत्री रजनी केसीको अनुभव छ ।

मिडियामा बढ्दो प्रयोग
अहिले फेसबुक लाइभ सञ्चारमाध्यममा अनिवार्यजस्तै भइरहेको छ । मूलधारका पत्रपत्रिकादेखि रेडियो, टिभी र अनलाइन मिडिया सबैले फेसबुक लाइभ प्रयोग गर्न थालेका छन् । ‘अन्तर्राष्ट्रिय मिडियाहरुमा यो धेरै अघिदेखि प्रचलनमा आए पनि नेपाली मिडियामा यसको प्रयोग बढिरहेको धेरै भएको छैन,’ मानवशास्त्री सुरेश ढकाल भन्छन्, ‘अहिले थुप्रै अनलाइन मिडियाले फेसबुक लाइभमार्फत टक सो नै चलाउँछन् । चल्तीका पत्रिकाले पनि सेलिब्रेटीलाई बोलाएर फेसबुक लाइभमार्फत सो नै चलाइरहेका छन् । र भोलिपल्ट फेसबुक लाइभमै भएका कुराकानीलाई पत्रिकामा प्रकाशित गरिरहेका छन् । फेसबुक लाइभ मेनस्ट्रिम मिडियामा पनि अनिवार्यजस्तो भइसक्यो ।’

‘लाइभ’मै गाली
तत्कालै केही सूचना प्रवाह गर्न, आफ्ना कार्यक्रम आमदर्शकमाझ पु¥याउन, अनौठा, लोभलाग्दा र रमाइला घटना देखाउन मात्रै फेसबुक लाइभको प्रयोग भइरहेको छैन । यो त कसैका लागि गालीगलौज र झगडा गर्ने माध्यम पनि भइरहेको छ । केही समयअघि भएको सीमा सुवेदी काण्डलाई एउटा उदाहरणका रुपमा लिन सकिन्छ । भारतको दार्जिलिङमा भइरहेको गोर्खाल्यान्ड आन्दोलनलाई लिएर दार्जिलिङकी सीमाले फेसबुक लाइभमार्फत दिएको अभिव्यक्तिले उनी विवादमा मुछिएकी थिइन् । उनको अभिव्यक्तिको प्रतिकारमा थुप्रै नेपालीले फेसबुक लाइभमार्फत उनलाई गाली गरेका थिए । ‘सीमालाई गाली गर्नु त फेसन नै बनेको थियो,’ मानवशास्त्री ढकालले भने, ‘कतिपयको गाली गर्ने तरिका हेर्दा लाग्थ्यो, न उनीहरुलाई राष्ट्रियता भनेकै थाहा छ, न नेपाल–दार्जिलिङ बीचको सम्बन्धबारे थाहा छ । यो त फेसबुक लाइभको अपउपयोग हो । खासगरी हामीकहाँ प्रविधिलाई उपयोग गर्ने सांस्कृतिक चेतको अभाव छ । सही ढंगबाट उपयोग गर्ने चेतना नहुनु भनेको सांस्कृतिक पछ्यौटेपन हो ।’

व्यवसायमा फाइदा
पछिल्लो समय अधिकांश रेस्टुराँ र पबहरुमा हुने लाइभ कन्सर्टको फेसबुक लाइभ भइरहेको हुन्छ । विभिन्न प्रडक्टका बारेमा पनि व्यवसायीहरुले फेसबुक लाइभ गरिरहेको देख्न सकिन्छ । राम्रोसँग सदुपयोग गर्ने हो भने यो सबै क्षेत्रका मान्छेका लागि उपयोगी माध्यम बनिरहेको छ । ‘एकैपल्ट ठूलो समूहमा पनि पुग्छ, विज्ञापन गरेवापत पैसा पनि तिर्नुपर्दैन,’ मानवशास्त्री ढकालले भने, ‘त्यसैले व्यवसायीहरुका लागि यो फाइदाजनक भएको छ ।’
‘अरुसँग सरोकार नहुने कुरा किन लाइभ गर्नु ?’

सुरेश ढकाल, मानवशास्त्री

फेसबुक लाइभ– नेपालमा भर्खरै बढेको ट्रेन्ड हो । यसलाई राजनीतिक दल, सेलिब्रेटीदेखि आम मानिस सबैले प्रयोग गरिरहेका छन् । लक्षित समूहसँग पुग्न यो अन्य माध्यमभन्दा एकदमै प्रभावकारी भइरहेको छ ।  यही कुरा मिडियामार्फत जानुप¥यो भने सञ्चारका न्यूनतम कुरा पालना गर्नुपर्ने हुन्छ । तर फेसबुक लाइभ चलाउन सामान्य सामाजिक मर्यादालाई पालना गरिदिए पुग्छ ।

सँगसँगै यसको अपउपयोग पनि भइरहेको छ, दुरुपयोग नै त भन्न मिल्दैन । जस्तो मान्छेहरुले नितान्त व्यक्तिगत कुराहरु, सामाजिक रुपमा अस्वीकार्य कुरा फेसबुक लाइभ गरिरहेका हुन्छन् । आफन्त बिते भने लासको भिडियो खिचेर समवेदना दिने नाममा लाइभ गरिरहेका हुन्छन् । घरको पूजा, बर्थडे पार्टी मनाइरहेका बेला लाइभ गरिरहेका हुन्छन् । योचाहिँ अपउपयोग हो जस्तो लाग्छ । यसले आफूलाई मात्र रमाइलो प्रदान गरिरहेको हुनसक्छ र अरुलाई बोर । फेसबुक भनेको त सार्वजनिक ठाउँ हो नि ! त्यसैले यहाँ अरुको पनि सरोकार हुनुपर्ने कुराहरु राखिनुपर्छ जस्तो लाग्छ । निजी कुरा जसले अरुलाई कनेक्ट गर्दैन, त्यस्तो कुरा राख्नुअघि सोच्नुपर्छ । अरुको सरोकारसँग पनि त्यो जोडिन्छ भने राम्रो हो नत्र त बोर हुने भइहाल्यो नि ! हुन त आफ्नो फेसबुकमा आफूले के राख्ने के नराख्ने त्यो आफ्नो स्वतन्त्रताको कुरा होला । तैपनि अरुहरुले त्यसलाई कसरी लिन्छन्, त्यो सोच्नुपर्छ । नत्र यसरी सञ्जालको दुरुपयोग भयो भने मान्छेहरुलाई प्रविधिप्रति नै वितृष्णा जाग्न सक्छ ।
खासमा भन्नुपर्दा हामीकहाँ अझै पनि प्रविधिलाई उपयोग गर्ने सांस्कृतिक चेतको अभाव छ । यही ढंगबाट उपयोग गर्ने चेतना नहुँदा समस्या निम्तन सक्छ । यो त सांस्कृतिक पछ्यौटेपन भयो ।
के हो फेसबुक लाइभ ?
आफूलाई मन लागेको समयमा दर्शकसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने सबैभन्दा प्रभावकारी माध्यम हो– फेसबुक लाइभ । मान्छेहरु नयाँ–नयाँ भिडियो हेर्न रुचाउँछन्, त्यसैले आफूलाई मन लागेका कुरा श्रव्यदृश्यसहित ठूलो समूहमा पुर्याउने सहज माध्यम बनेको छ, यो । यसले तपाईंलाई तपाईंका साथी अर्थात प्रशंसकहरुसँग तत्कालै कनेक्ट गराउँछ । तपाईं फेसबुकमा लाइभ आउनेबित्तिकै तपाईंका फलोअर्सहरुले तपाईं लाइभ आएको नोटिफिकेसन पनि पाउँछन् । फेसबुक भन्छ– तपाईं लाइभमार्फत आफ्ना कथाहरु नयाँ ढंगले दर्शकलाई सुनाउन सक्नुहुन्छ र मनोरञ्जन दिलाउन सक्नुहुन्छ ।


फेसबुकको लाइभ स्ट्रिमिङ भिडियोमा लाइभ प्रसारणकै क्रममा लाइक, सेयर र कमेन्ट गर्न सकिन्छ । साथै, आफ्ना साथी तथा अन्यले आफ्नो भिडियो कतिबेलादेखि हेर्न सुरु गरे भन्ने जानकारी समेत पाउन सकिन्छ । आफ्ना साथीहरुसँग रियल टाइममा जोडिने एउटा उत्तम तरिकाको रुपमा यसलाई लिइएको छ । लाइभ हेर्न नपाउनेले पछि रेकर्डेड हेर्न पाउने सुविधासमेत रहेको छ ।
फेसबुक लाइभ सुरुमा सेलिब्रेटीको सुविधाका लागि मात्र थियो । सन् २०१६ अप्रिल ६ मा यसलाई सबै प्रयोगकर्ताले प्रयोग गर्न मिल्ने बनाइयो । त्यतिबेला फेसबुकका सिइओ मार्क जुकरबर्गले भनेका थिए, ‘आज हामी सबैका लागि फेसबुक लाइभ लन्च गर्दैछौं ताकि यसले सबैलाई लाइभ भिडियोहरु सिर्जना गर्न, सेयर गर्न र खोज्न सजिलो होस् । लाइभ भनेको तपाईंको पकेटमा टिभी क्यामेरा हुनुसरह हो । हातमा मोबाइल फोन हुने जोकोहीसँग अब जोकोहीलाई ब्रोडकास्ट गर्न सक्ने शक्ति छ । जतिखेर तपाईं लाइभ अन्तरक्रिया गर्नुहुन्छ, तपाईं आफूलाई बढी व्यक्तिगत तरिकाले जोडिएको महसुस गर्नुुहुनेछ । हामी कसरी संवाद गर्छाैं त्यसमा यो एउटा ठूलो परिवर्तन हो र यसले सबैलाई एकसाथ लैजान नयाँ अवसर सिर्जना गर्न गइरहेको छ । ’


लाइभ आइओएस, एन्ड्रोइड मोबाइलमार्फत फेसबुक पेज र प्रोफाइलमा चलाउन सकिन्छ । भिडियोको माथिल्लो बायाँ हातावाला कुनामा एउटा रातो आइकन हुन्छ । यसले यो लाइभ भिडियो हो भन्ने दर्शाउँछ । लाइभ गरिसकेपछि पनि उक्त भिडियो पेज वा प्रोफाइलमा सेभ भइरहेको हुन्छ । तर प्रयोगकर्ताले चाहेमा उक्त भिडियोलाई जतिखेर पनि हटाउन सक्छ । फेसबुकका अनुसार करिब चार घण्टासम्म लगातार लाइभ गर्न सकिनेछ । फेसबुक लाइभका लागि बलियो इन्टरनेट कनेक्सन हुन आवश्यक छ ।

फेसबुकले हिंस्रक, अश्लील र फेसबुकको कम्युनिटी स्ट्यान्डर्डलाई उल्लंघन गर्नेखालका भिडियो लाइभ नगर्न सुझाएको छ । त्यस्ता भिडियोमाथि रिपोर्ट गर्नका लागि फेसबुकले रिपोर्टिङ टुल्सको पनि व्यवस्था गरेको छ ।
‘टिभीभन्दा प्रभावकारी फेसबुक लाइभ’

राजेश हमाल
अभिनेता

म कहिलेकाहिँ फेसबुक लाइभमा आइरहेको हुन्छु तर म लाइभ आउनुको लागि मात्र आउँदिन । कहिले दर्शकको मागअनुसार आउँछु त कहिले आफ्नो आवश्यकताअनुसार । ‘दाइ हजुर त कहिले लाइभ आउनुहुन्न ? आउनुस् न हौ’ भन्दै फ्यानहरुले इच्छा व्यक्त गरिरहेका हुन्छन् । कहिले ‘घरबाटै लाइभ गर्नुस् न हजुर कहाँ बस्नुहुन्छ, कहाँ सुत्नुहुन्छ हामी पनि हेरुम न’ भन्दै आग्रह गरिरहेका हुन्छन् । तर सबै प्राइभेसी त खोल्न मिल्दैन । त्यही पनि म मिलाएर फ्यानहरुको इच्छा पूरा गरिरहेको हुन्छु । मलाई त फेसबुक लाइभ एकदमै प्रभावकारी माध्यमजस्तो लाग्छ । यो पहुँचका हिसाबले टेलिभिजनभन्दा बढी इफेक्टिभ लाग्छ ।
आफ्ना कुराहरु मनमा लागेको बेला भन्न सकिन्छ, अन्तक्र्रिया पनि गर्न सकिन्छ । यहाँ टेलिभिजनमा जस्तो औपचारिकता पनि चाहिँदैन, क्याजुअल अवस्थामै प्रस्तुत हुन सकिन्छ । त्यसैले यसले दर्शकसँग झन् बढी दुरी नजिक्याउने काम गरिरहेको छ । मलाई कुनै घटनाले मोटिभेट ग¥यो भने लाइभ आउने गर्छु ।
 

फेसबुक लाइभमा म


‘ओरिजनल अकाउन्ट चिनाउन लाइभ’
मेलिना राईं,
गायिका
विशेषगरी मेरा दर्शक/श्रोतासँग लाइभ इन्टरएक्ट गर्न म फेसबुक लाइभ चलाउँछु । मेरो फेसबुक अकाउन्ट र फ्यान पेज अहिलेसम्म भेरिफाई भएको छैन । यस कारण मेरो नाममा बनेका फेक अकाउन्टले दर्शकलाई झुक्याइरहेको हुन्छ । उनीहरुलाई यो मेरो वास्तविक अकाउन्ट हो है भनेर जानकारी दिन पनि म फेसबुक लाइभ आउने गर्छु । फेसबुक लाइभले मेरा शुभचिन्तकहरुलाई मेरो ओरिजनल अकाउन्ट थाहा पाउन सजिलो भएको छ ।

‘अप्ठेरो समयमा लाइभ’
रीमा विश्वकर्मा,
अभिनेत्री
कहिलेकाहीँ कामको सिलसिलामा कतै पुगिएको हुन्छ, स्टाटस गर्न भ्याइरहेको हुँदैन । त्यतिबेला दर्शकसमक्ष अपडेट हुने प्रभावकारी माध्यम हो, फेसबुक लाइभ । म यस्तै अप्ठेरो समयमा लाइभको सहारा लिन्छु ।  बेलाबेला शुभचिन्तकहरुसँग सिधै लाइभ कुराकानी गर्दा उहाँहरुको जिज्ञासालाई सिधै सम्बोधन गर्न सकिन्छ । त्यति मात्र होइन म केही विशेष अवसरमा पनि फेसबुक लाइभ प्रयोग गर्छु जस्तो कि जन्मदिन, चलचित्रको प्रिमियर या नयाँ ठाउँ घुम्न पुग्दा । आफूलाई केही चिज नयाँ लाग्यो भने पनि फेसबुक लाइभ गर्छु ।

‘सन्देश बाड्न लाइभ’
कविता कटुवाल,
सञ्चारकर्मी

म अनलाइन रेडियोमा काम गर्ने भएकाले फेसबुक लाइभमार्फत म कार्यक्रम नै चलाउने गर्छु । जब–जब म लाइभ आउँछु अनि म दर्शक÷मित्रहरुको कुरामा पूरै भुल्ने गर्छु । म प्रायः रेगुलर ४ बजेतिर लाइभ आइरहेको हुन्छु । साथीहरु फेसबुकमा लाइभ÷कमेन्ट र च्याटमा मात्र सीमित हुन चाहँदैनन्, केही नयाँ पनि चाहन्छन्, त्यो हो– फेसबुक लाइभ । त्यसैले म लाइभ आउँछु अनि सबैलाई आफ्ना मनका भावना अनि सन्देश सेयर गर्न लगाएर आफन्तको नजिक पु¥याउने कोसिस गर्छु ।

‘लाइभमा छुट्टै आनन्द’
राजेश घतानी
, स्टेज प्रस्तोता/निर्माता
म धेरैजसो स्टेजमा कार्यक्रम सञ्चालन गर्ने भएकाले कार्यक्रमको स्तर, स्थान र आयोजक हेरेर कार्यक्रमको सूचना प्रवाह गर्न फेसबुक लाइभ प्रयोग गरिरहेको हुन्छु । विदेश गएका बेला या नेपालकै रमणीय स्थान घुम्न गएको बेला र मन मिल्ने साथीभाइसँग भेट हुँदा लाइभ गर्ने गर्छु । लाइभ गर्दा प्रत्यक्ष साथी÷भाइ र शुभचिन्तकसँग दोहोरो कुरा गर्दा एक प्रकारको आनन्द अनुभूति हुन्छ ।

‘लाइभमा स्वामीका प्रवचन’
नेहा रिमाल,
विद्यार्थी
म आफू त्यति फेसबुकको लाइभ बटन चलाइरहेको हुँदिन तर अरुण स्वामी अन्य देशमा घुम्न जाँदा उहाँले फेसबुक लाइभ गरेर आफ्नो प्रवचन आफ्ना प्रशंसकलाई सुनाइरहनु भएको हुन्छ । म त्यो हेरेर सेयर गरिरहेकी हुन्छु । मलाई उहाँका प्रवचन लाइभ सेयर गर्दा खुसी लाग्छ, उहाँसँग नजिक भएको महसुस हुन्छ अनि यसले मेरो आध्यात्मिक जिज्ञासालाई समाधान गर्न मद्दत गरिरहेको हुन्छ ।

‘पहिले भिडियो, अहिले सिधै लाइभ’
रसिया प्रधान,
विद्यार्थी
लाइभ कन्सर्ट भइरहेका बेला, परिवारसित रमाइलो गरिरहेको बेला, बर्थ डे मनाइरहेको बेला म फेसबुक लाइभ गर्छु । आफ्ना साथीहरुसँग आफ्नो जीवनका रमाइला पलहरु सेयर गर्न पाउनुको मज्जै बेग्लै हुन्छ । पहिले–पहिले भिडियो बनाएर फेसबुकमा हाल्नुपथ्र्यो, अहिले बनाइराख्नुपर्दैन सिधै लाइभ गरे पुग्यो ।

‘दर्शकसँग नजिक हुन लाइभ’
प्रमोद खरेल,
गायक
म आफ्नो अफिसियल पेजबाट लाइभ गर्ने गर्छु । लाइभमार्फत उनीहरुसँग नजिकबाट कुराकानी गर्ने गर्छु । सांगीतिक टुरको क्रममा संसारका विभिन्न ठाउँ घुमिरहेको हुन्छु, म त्यहीँबाट दर्शक÷श्रोतासँग कुरा गर्छु । मेरो नयाँ गीतसंगीतका बारेमा श्रोताको प्रतिक्रिया लिन्छु, सुझाव र सल्लाह लिन्छु । म मेरा कुरा पनि भन्छु, श्रोताका कुरा पनि सुन्छु कमेन्टमार्फत । फेसबुक लाइभ म विशुद्धः सांगीतिक प्रायोजनका लागि प्रयोग गरिरहेका छु । यसले मलाई दर्शक÷श्रोतासँग नजिक हुन मद्दत गरिरहेको छ ।

‘लाइभबाटै नयाँ गीत प्रमोट गर्छु’
दीपा लामा
, गायिका
फेसबुक लाइभ सबै साथीहरुसँग कनेक्ट हुन चलाइन्छ । यसले मेरोे जीवनशैलीमा धेरै फाइदा पु¥याएको छ । नयाँ–नयाँ गीतको रेकर्डिङ हुँदा दर्शक÷श्रोतालाई सुनाउने एकदमै राम्रो अवसर हो, फेसबुक लाइभ । त्यसोहुँदा गीत प्रमोट पनि हुने, दर्शक÷श्रोतासँग नजिक पनि भइने ।


‘रेकर्डिङ स्टुडियोबाटै लाइभ’
बादल लिम्बु
, गायक

फेसबुक लाइभले वर्तमानमा घटेको घटनालाई जस्ताको त्यस्तै संसारलाई देखाउन महŒवपूर्ण भूमिका खेलिरहेको छ । त्यसैले म फेसबुक लाइभबाट पूरै प्रभावित छु । मैले गर्ने हरेक नयाँ कामका बारेमा म फेसबुक लाइभमार्फत संसारभर रहनुभएका दर्शक÷श्रोतालाई पु¥याउने गर्छु, उहाँहरुको फिडब्याक पनि लिने गर्छु । रेकर्डिङ स्टुडियोबाटै नयाँ–नयाँ गीतको अपडेट गराइरहेको हुन्छु ।


‘लाइभले आफ्नोपन महसुस गराउँछ’
राजेशपायल राईं, गायक

मलाई फेसबुक लाइभमार्फत मेरा शुभचिन्तकसँग कुराकानी गर्दा मज्जा मात्रै आउँदैन, आफ्नोपन पनि महसुस गराइरहेको हुन्छ । यसले हाम्रो समय बचाएको छ । आफ्नो कामको विज्ञापन गरिरहनुपर्दैन । सिधै फेसबुकमा लाइभ आए भइगयो । म नयाँ–नयाँ गीतको रेकर्डिङ गरिरहेका बेला लाइभ आएर पनि गीतबारेमा थोरै जानकारी गराइरहेको हुन्छु ।

‘लाइभबाट ज्ञानगुनका कुरा’
बबिता फोम्बो लिम्बु,
मोडल
कसैले ज्ञानगुनका कुरा गरेको बेला अरुले पनि त्यो कुरा थाहा पाऊन् भनेर म लाइभ गर्ने गर्छु । म प्रायः कार्यक्रमहरुको लाइभ गर्ने गर्छु । म यस्तो कार्यक्रम लाइभ गर्छु, जसले दर्शकलाई रमाइलो पनि प्रदान गरोस्, केही सिक्ने मौका पनि प्रदान गरोस् ।

‘लाइभले दिनमै ३ सय एमबी डाटा’
सुमी देवान राईं,
काठमाडौँ
फेसबुक लाइभले मेरो दिनकै ३ सय एमबी डाटा प्याक सिध्याइदिन्छ । यसले मेरो केही फाइदा गरेको छैन, दिनदिनै झन क्रेजी भइरहेकी छु । म प्रायः आफू खुसी भएको अवस्थामा अरुसँग खुसी बाँड्न लाइभ आउने गर्छु ।

‘यथार्थ घटनाहरु लाइभ गर्छु’
सुरज रिंगालुङ राई
, युवा व्यवसायी, झापा
कुनै महत्वपूर्ण घटना भइरहेको छ र त्यो सबैले हेर्न र सुन्न चाहन्छन् भन्ने लाग्यो भने म फेसबुक लाइभमा छिरिहाल्छु । यसबाट मेरा फेसबुकका साथीले पनि फाइदा लिऊन् भन्ने लाग्छ । म यथार्थ घटना लाइभ गर्ने गर्छु । अरुलाई देखाउन मिल्ने दैनिक जीवनका क्रियाकलाप पनि लाइभ गर्ने गर्छु ।

‘टेक्स्टको झ्याउले लाइभ’
सविन श्रेष्ठ,
अभिनेता
फेसबुकमा टेक्स्ट लेखिरहन मलाई झ्याउ लाग्छ । लाइभमार्फत तत्कालै कमेन्ट आउने अनि तत्कालै रिप्लाई दिन पनि सजिलो हुने रहेछ । त्यसैले म फेसबुक लाइभ चलाउँछु ।

Leave A Comment