चीन–भारतको झगडाको मुख्य कारण

शनिबार, ०७ साउन २०७४, ०१ : २५ मणि दाहाल , Kathmandu
चीन–भारतको झगडाको मुख्य कारण

पछिल्लो एक महिनायता भारत र चीनबीच विवाद देखिएको छ । दुवै देशले विवाद देखिएको क्षेत्रमा आफ्नो सैनिक तैनाथी बढाएका छन् । दुवै देशले एकअर्कालाई आफ्नो सैनिक फिर्ता लैजान चेतावनी दिएका छन् । सीमा विवादको कारण आधा सताब्दीअघि युद्ध लडिसकेका चीन र भारतबीच फेरि त्यो अवस्थामा पुग्ने हो कि भन्ने चिन्ता धेरैमा देखिन्छ । पछिल्लो समय केही यता भएको भारत–चीनबीच सबैभन्दा गम्भीर प्राकृतिको विवाद भए पनि विश्लेषकहरु युद्धको अवस्था नआउनेमा ढुक्क देखिन्छन् । सन् १९६२ मा भारत र चीनबीच सीमा विवादका कारण एक महिना लामो युद्ध भएको थियो । भारत नराम्रोसँग पराजित भएको त्यस युद्धमा चीनले एक पक्षीय रुपमा युद्धविराम गर्दै कब्जा गरेको भूभाग छाडेर लाइन अफ एक्चुअल कन्ट्रोल (म्याकमोहन लाइन)मै फर्किएको थियो ।  
४ हजार ५७ किमी लामो सीमा जोडिएको भारत र चीनबीच कतिपय स्थानमा सीमांकन स्पष्ट छैन । जसका कारण समय–समयमा दुवै देशबीच तनाव देखिने गरेको छ । सञ्चार माध्यममा दुवै देशको सैनिक सामथ्र्यबारे लेखाजोखा हुने गरेको छ भने विवादमा रहेको स्थलको बारेमा चर्चा हुन थालेको छ ।
अहिलको विवादको चुरो
भारतले दोक्लाम र चीनले दोङ्लान भन्ने गरेको पठार क्षेत्रमा चीनले आफ्नो सीमा सडक विस्तार गर्न खोज्दा पछिल्लो विवाद सुरु भएको हो । यो त्रिदेशीय सीमा जोडिएको स्थल हो । भारतको उत्तरपूर्वी राज्य सिक्किम, भुटान र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा जोडिन्छ । यो स्थान आफ्नो भएको दाबी थिम्पु र बेइजिङ दुवैको छ । भारतले भुटानको दाबीलाई समर्थन गर्दै सो क्षेत्रमा सैनिक तैनाथ गरेको छ । अहिले विवाद चीन र भारतको जस्तो भएको छ ।
भारतले सीमा निर्माण गर्न लागेको सडकले पूर्णता पाउने हो भने उत्तरपूर्व क्षेत्रमा सात राज्यसँग बाँकी भारतलाई जोड्ने सिलिगुढी कोरिडरको २० किमी चौडाइको ‘चिकेन नेक्स’मा चीनको वृहत् पहुँच पुग्ने चासो रहेको छ ।
सडक निर्माण गर्न थालेको स्थानमा भारतीय सैनिकहरु विरोध गरेपछि चीनले प्रयोगमा नरहेका भारतीय सेनाको दुई वटा बंकर ध्वस्त बनाएको थियो । त्यसपछि भारतीय सैनिकहरु मानववाल निर्माण गरेर चिनियाँ सैनिकलाई रोकेका थिए । चीनले भने आफ्नो नियमित काममा भारतीय पक्षबाट अवरोध उत्पन्न गरेको भन्दै सैनिक फिर्ता लैजान भन्दै आएको छ । चीनले अहिले विवाद भएको स्थान नजिकै रहेको ना थुला भञ्ज्याङ हुँदै भारतीय तीर्थ यात्रीलाई मानसरोवर यात्रामाथि रोक लगाएको छ ।
यसैबीच सिक्किमले दुवै देशबीच भएको द्विपक्षीय सहमति विपरीत भएको भन्दै चीनसँग सडक निर्माण रोक्न माग गरेको छ तर चीनले सो क्षेत्रमाथि आफ्नो सार्वभौमिकताको दावी गरेको छ । सडक निर्माण आफ्नो भूभागमा भैरहेको र भारतीय सैनिक प्रवेशले सीमामाथि अतिक्रमण भएको जनाएको छ ।
भारत–चीनबीच तनाव बढ्दा जाँदा त्यसको प्रभाव सञ्चार माध्यमहरुमा समेत देखिएको छ । चिनियाँ सरकार निकट रहेको ग्लोबल टाइम्सले भारतीय सैनिकले सम्मानपूर्वक फिर्ता नभए चिनियाँ सैनिकहरुले ‘किक आउट’ गर्ने बताएको छ । चीनले सिक्किमसँगको सीमा विवाद सन् १८९० ले समाधान गरेको भन्दै चीनले अहिलेको घटना त्यसको उल्लंघन नभएको जनाएको छ । उसले यसलाई गम्भीर घटना भएको छ ।
चीनले सन् १९६२ को युद्धमा पराजयबाट भारतीय पक्षले शिक्षा लिनुपर्ने र अहिले पहिलेको भन्दा धेरै शक्तिशाली भएको समेत भारतलाई स्मरण गराएको छ तर भारतीय रक्षामन्त्रीले सन् १९६२ भन्दा भारत धेरै अघि बढिसकेको बताएका छन् । भारतीय स्थल सेनाध्यक्षले साढे २ वटा युद्ध एकै पटक लड्न भारत सक्षम रहेको दाबी गरे । उनले भारत भित्रको पृथकतावादी र सशस्त्र समूहलाई आधा, चीन र पाकिस्तानसँग एकै पटक लड्न सक्ने बताएका हुन् ।
यसैबीच ग्लोबल टाइम्सले सडक परियोजनामा भारतीय हस्तक्षेपले भुटानको सार्वभौमिकतालाई अपमानित गरेको जनाएको छ । भारतीय पक्षले भुटानसँग प्रत्यक्ष सम्बन्ध बनाउनका लागि सार्वभौमिकताको विषय उठाएको जनाएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग भुटानी संस्कृति मिल्ने भए पनि दुवै देशबीच द्वीपक्षीय सम्बन्ध छैन ।
भारतीय रक्षा विश्लेषकहरुले भौगोलिक अनुकूलताका कारण भौगोलिक अवस्थितिको कारण भारतले चीनलाई रोक्न सक्ने स्थान सिक्किम मात्रै भएको बताएका छन् । जसका कारण हिमालय क्षेत्र प्राकृतिक रुपमा मात्रै नभएर राजनीतिक रुपमा पनि त्यतिको जोखिमयुक्त र संवेदनशील क्षेत्रमा बनाएको छ ।
प्राकृतिक र राजनीतिक रुपमा तनावको क्षेत्र
म्यान्मारदेखि अफगानिस्तानसँग फैलिएको हिन्दुकुश हिमालयको गर्भ र सतह प्राकृतिक र राजनीतिक कारणले संसारकै उच्च जोखिमयुक्त क्षेत्रमा पर्छ । इन्डो–अस्ट्रेलियन र युरोसिया टेक्टोनिक प्लेटको टकरावबाट सञ्चित भएको शक्ति कुन समय भूकम्पको रुप लिने हो र तहसनहस बनाउने हो ठेगान छैन । त्यसैगरी चीन, भारत र पाकिस्तानबीच स्पष्ट सीमांकनको नभएका कारण परमाणु हतियारयुक्त यी देशबीच जुनसुकै समयमा पनि युद्ध सुरु हुनसक्ने ठूलो जोखिम छ ।
कहाँ–कहाँ छ विवाद ?
चीनले भारत उत्तर पूर्वी अरुणाचल प्रदेशमाथि दाबी छ । बेइजिङले यस क्षेत्रलाई दक्षिण तिब्बती क्षेत्र भएको बताउँदै आएको छ । सन् १९१४ मा भारतीय सहर सिमलामा भएको बेलायत र तिब्बतबीचको सम्झौतापछि सो भूभाग उनीहरुको नियन्त्रणमा आएको हो । चीनले सिमला सम्झौतालाई कहिले पनि मान्यता दिएको छैन । त्यसो त चीन कमजोर भएको समयमा त्यस समयमा साम्राज्यवादी देशहरुले उसको धेरै भूभाग खोसेको आरोप चीनले लगाउँदै आएको छ । यसमा रुस, जापान, बेलायत, पोर्चुगल लगायतका देशको समर्थन रहँदै आएको छ । चीनले अपमानको शताब्दी भन्ने गरेको त्यस समयमा भएको सम्झौता मान्न अस्वीकार गर्दै आएको छ । जसका कारण धेरै देशसँग विवाद देखिएको छ । गत महिना निर्वासनमा रहेका तिब्बती धर्मगुरु दलाई लामाको हिमाञ्चल भ्रमणले पनि चीनलाई चिढ्याएको छ । जसका कारण चीनले अरुणाचल प्रदेशको विभिन्न स्थानको नाम चिनियाँकरण गरेको छ ।
विवादित जम्मु तथा कस्मिरको लद्दाख नजिकै उत्तरपूर्वमा पर्ने अक्साइचीनको विषयमा पनि दुवै देशको विवाद छ । पूरै कस्मिर आफ्नो भएको दाबी गर्ने भारतले चीनले नियन्त्रण गरेको जनाउँदै आएको छ ।
तीव्र रुपमा आर्थिक विकास गरेको भारत र चीनबीच प्राथमिकता पनि फरक रहेका छन् । चीन बहुध्रुवीय विश्व एक ध्रुवीय एसिया चाहन्छ भने बहुध्रुवीय विश्व र बहुध्रुवीय एसिया चाहन्छ । जसले आफ्नो भूमिकालाई प्रभावकारी बनाउने खोजेका छन् ।
तीव्र रुपमा आर्थिक प्रगति गर्दै गएका चीन र भारतबीच एकअर्कामा विश्वासको कमी देखिएको छ । त्यसैले आन्तरिक राजनीतिका कारण दुवै देश विवाद आउँदा आफ्नो अडानमा लचिलो हुने अवस्था छैन । यसका दुई कारण देखिन्छन् । बेइजिङ र दिल्लीले एकले अर्कोलाई विश्वास गर्दैनन् । दुवैले आफूमाथि अर्को देशले घेराबन्दी गर्न थाल्यो भन्ने शंका गर्ने गर्छन् ।
देशभित्र जनतालाई असन्तुष्ट बनाएर दुवै देशले सरकार चलाउन सक्ने छैनन् । धेरै राजनीतिक दल हुने भारतका लागि अझै यो सम्भव छैन । चीनमा भारतजस्तो व्यवस्था नभए पनि सीमाको विषयमा चिनियाँ जनता संवेदनशील छन् ।
चीनको सीमा विवाद
चीनको १४ देशसँग स्थल सीमा जोडिएको छ । चीनले अफगानिस्तान, काजकस्तान, म्यान्मार, नेपाल, पाकिस्तान, रुस र ताजिकस्तानसँग सीमा विवाद छैन वा भए पनि कम छ । अहिले भारतसँग सबैभन्दा ठूलो विवाद छ भने भुटानसँग केही विवाद देखिन्छ । स्थल मात्रै नभएर चीनको जापान, दक्षिण कोरिया, फिलिपिन्स र भियतनामसँ जल सीमा जोडिएको छ । ती मुलुकसँग चीनको जल सीमामा विवाद छ ।
सीमा विवादको प्रमुख कारण के हो?
यस विवादको मूल चुरो एसियामा साम्राज्यवादी शासनसँग जोडिएको छ । साम्राज्यवादी शक्तिका कारण अमिल्दो विगत वा फरक संस्कृति भएका धेरै देशहरु निर्माण भएका छन् । अफ्रिका, एसिया र दुवै अमेरिकामा सहज नलाग्ने प्रकारको सीमाकंन निर्माण भएका छन् । फरक जातीय वा संस्कृति भएका बीचमा छुट्टाछुट्दै सीमाकंन हुन्थ्यो भने त्यो जीवन्त प्रकारको सीमा हुने थियो । जमिनको पूर्ण सर्भेको अवधारणा आधुनिक पश्चिमा डिजाइन हो । त्यही विषयलाई साम्राज्यवादीहरुले कडाइका साथ लागू गरे । त्यस समयमा चीनलाई धेरै वटा सन्धिहरुमा संलग्न हुन बाध्य पारियो र त्यो असमान थियो र अहिलेको विवादको कारण पनि त्यही हो ।
सन्धिहरु के थिए ?
उन्नाइसौँ र बीसौँ सताब्दीमा चीनमाथि बेलायत, फ्रान्स, जर्मनी, रुस र जापानले धेरै वटा सन्धि गर्न बाध्य पारे । ती सन्धिहरुमा चिनियाँ सरकारलाई सुरक्षा दिने थियो, त्यसमा व्यापार गर्न पाउने सुविधा र साम्राज्यलाई देशको भूभाग दिनेसमेत रहेको थियो । बेलायतले हङकङ, पोर्चुगलले मकाउ, उत्तर क्षेत्रको ठूलो भूभाग रुसका जारहरुले लगे । त्यसैगरी अहिलेको भियतनाम फ्रान्सको भागमा प¥यो, त्यसैगरी जापानले ताइवान लग्यो । रुसमा बोल्सेभिक क्रान्तिपछि ती भूभाग चीनलाई फिर्ता भयो तर अन्य साम्राज्यवादी शक्तिहरु एसियामा लामो समयसम्म रहे । अहिलेको अधिकांश सीमा विवाद त्यसमै जोडिएको छ ।

Leave A Comment