जिम्मेवार सामाजिक सञ्जाल

बिहिबार, ०५ साउन २०७४, १२ : ३२ शुक्रवार , Kathmandu
जिम्मेवार सामाजिक सञ्जाल

गएको असार ३१ मा राजधानीको उत्तरपूर्वी क्षेत्रमा परेको अविरल वर्षाले सडक खहरे बन्यो । सडक नालीमा बगेको भेलले मनमैजुकी १० वर्षीया बालिका विनिता फुयाँलको इहलीला समाप्त ग¥यो । उता सामाखुसीमा केहीबेर बगिन्, १३ वर्षीया किशोरी सत्या सापकोटा । सामाखुसी सडकमा भेल कुदिरहेको दृश्य खिचिरहेकी ब्युटिसियन सुशीला थापाको क्यामराले नालीमा बग्दै गरेकी सत्या सापकोटालाई कैद गर्न भ्यायो । उनले सो भिडियोलाई तत्काल फेसबुकमा पोस्ट गरिन् । सामाजिक सञ्जालमा त्यो भिडियो भाइरल बन्यो । स्वभाविक हो, प्रकोपमा परेर बच्न सफल बालिकाको भिडियोलाई धेरैले सेयर गरे । प्रतिक्रियाहरू आए । समाचारपत्रको हेडलाइन बन्यो । नेपाल रिपब्लिक मिडियाको अग्रणी प्रकाशन ‘नागरिक दैनिक’ले भिडियो फुटेजसहित मुख्य समाचार बनायो । हुनसक्छ, नालीमा बगेर एक जना बालिकाको निधन हुनु र अर्की भाग्यले बाँच्न सक्नुका घटनालाई मिडियाले महŒव दिनु र सामाजिक सञ्जालमा यिनै घटनालाई लिएर प्रतिक्रियाको बाढी आउनुको दबाबकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीका सडकका खाल्डाखुल्डी पुर्ने निर्देशन दिए । प्रधानमन्त्रीको निर्देशनपछि खाल्डाखुल्डी पुर्ने काम भइरहेका समाचार पनि आइरहेका छन् ।
घटना जस्तासुकै हुन्, हामीकहाँ सामाजिक सञ्जालमा पोस्ट गर्ने चलन बढेको छ । विशेष गरेर सहरी क्षेत्रका नागरिकका हातहातमा एन्ड्रोइड मोबाइल फोन हुनु, ल्यापटप लगायतका डिजिटल डिभाइसको प्रयोग बढ्नुसँगै सामाजिक सञ्जालमा पोस्ट गर्नेहरूको संख्या बढ्दो छ । ग्ल्यामरमा रमाउनेहरू हुन् या सामाजिक आन्दोलनका अभियन्ता, राजनीतिगर्नेहरू हुन् या विद्यार्थी वा गृहिणी नै किन नहोऊन्, आफूलाई मनपरेका, राम्रो लागेका दृश्यहरू हतपत लाइभ गर्ने गर्छन् । त्यसमाथिको प्रतिक्रियाको लोभका कारण यसो गर्नु स्वाभाविक पनि हो । कतिपय अवस्थामा यस्ता लाइभ सफल हुन्छन् र तिनले समाज, सरकार तथा सम्बन्धित क्षेत्रलाई दबाब दिन ठूलो भूमिका खेल्छन् । आम नागरिकलाई सूचना दिने काम पनि गर्छ, लाइभ दृश्यहरूले । सहरी जीवनमा फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालको उपयोग जीवनशैली नै बन्न पुगेको छ । त्यसमा पनि ‘फेसबुके लाइभ’ त अहिले दैनन्दिनी बन्न पुगेको छ । यस्ता अत्याधुनिक सञ्चार प्रविधिको प्रयोग हामीले कसरी गर्ने र सदुपयोग गर्ने भन्ने प्रश्न पनि उत्तिकै टड्कारो देखिएको छ । प्रविधिको प्रयोग आफैँमा राम्रो हो । प्रविधि र भौतिक विकासले विश्वलाई एउटा सानो गाउँ बनाउँदै लगेको छ भने त्यही सानो गाउँका करोडौँ मानिस सामाजिक सञ्जालबाट एकआपसमा जोडिएका छन् तर सबैभन्दा खतरनाक चाहिँ  यो सामाजिक सञ्जालको जालो अनियन्त्रित छ । यसलाई कसरी सदुपयोग गर्ने भन्ने ज्ञान धेरैलाई नहुन सक्छ । सदुपयोग गर्न जान्दा यसले धेरैको उद्धार हुन्छ, नजान्दा साइबर कानुनको पञ्जामा मात्र पु¥याउने होइन अपराधी नै बनाउन सक्छ ।
जसरी आणविक ऊर्जा सदुपयोग गर्दा संसार उज्यालो हुन सक्छ, त्यसरी नै संसार ध्वस्त पनि बन्न सक्छ । सामाजिक सञ्जाल पनि त्यस्तै हो । हिंसा, गाली, अश्लीलता, अपराध कर्मका लागि यसको प्रयोग गरियो भने यसले नराम्रो प्रभाव पार्नु स्वाभाविक बन्छ । यो संजाललाई रचनात्मक बनाउन सकिन्छ, उपयोग गर्न सकिने असिम सम्भावनाको स्रोत छ तर अहिलेसम्म हामीकहाँ फेसबुक लाइभ लगायतका प्रविधिहरू खास गरेर आत्मप्रशंशा र प्रचारका निम्ति प्रयोग भएको देखिन्छ । सँगसँगै दुरुपयोग भएका प्रशस्त घटना पनि बेलाबेलामा सतहमा आउँछन् र हराउँछन् । अनियन्त्रित प्रविधि भएकाले यसलाई जिम्मेवार भएर चलाऔं, संयम भएर प्रयोग गरौं । अनियन्त्रित प्रविधिलाई आत्मनियन्त्रणले चलाउन सक्यौँ भने मात्र यसको भरपूर उपयोग हुन सक्छ ।

 

Leave A Comment