‘मेरो स्ट्रेन्थ नै टिम हो’

मङ्गलबार, ०३ साउन २०७४, १२ : ०६ शुक्रवार , Kathmandu
‘मेरो स्ट्रेन्थ नै टिम हो’

व्यवस्थापनमा स्नाकोत्तर गरेका उद्धव खड्का करिब डेढ दसकयता विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शैक्षिक परामर्श दिने व्यवसायमा छन् । खड्काले अस्टे«लिया, अमेरिका, बेलायत, आयरल्यान्ड, न्युजिल्यान्ड, भारत लगायतका मुलुकमा अध्ययन गर्न जाने विद्यार्थीलाई भाषा कक्षा, कलेज, युनिभर्सिटी छनोट, भर्ना प्रक्रिया आदिमा सघाउँछन् । हब इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीका कार्यकारी अध्यक्ष खड्कासँग शुक्रबारको लागि दिलीप पौडेलले गरेको कुराकानी :
कसरी यो व्यवसायमा आउनु भयो ?
जीवनमा उतार चढाव हुन्छ । सुरुमा इन्सुरेन्स कम्पनीमा मार्केटिङको जागिर खाएँ । आफ्नै लगानीमा स्टेसनरी पसल चलाएँ । कुरियर कम्पनीको एजेन्ट लिएर पनि काम गरेँ । व्यवस्थापन विषय अध्ययन गरेकाले आफ्नै केही गर्नुपर्छ भन्ने थियो । त्यसपछि केही समय कन्सल्टेन्सीमा काम गरेपछि त्यही अनुभवलाई प्रयोगमा गरेर सन् २००५ देखि कन्सल्टेन्सी सुरु गरेको हुँ ।
यहाँको कन्सल्टेन्सीले के सेवा दिन्छ  ?
विदेश पढ्न जाने विद्यार्थीको लागि शैक्षिक परामर्श सेवा प्रदान गर्छौं । विद्यार्थीको आर्थिक, शैक्षिक क्षमताअनुसार निर्णय लिएपछि भाषा तयारी कक्षा सञ्चालन गर्ने, विभिन्न मुलुकका कलेज, युनिभर्सिटी छनोटमा सघाउने, भर्ना तथा भिसा प्रक्रियामा सघाउने काम गर्छौं । अस्टे«लिया, अमेरिका, बेलायत, आयरल्यान्ड, न्युजिल्यान्ड र भारतमा अध्ययन जाने विद्यार्थीलाई सघाउँदै आएका छौं ।
कति कलेज तथा विश्वविद्यालयमा यहाँको आबद्धता छ ?
नेपालको लागि अस्टे«लिया हट केक बनेको छ । त्यहाँका करिब ५० बढी कलेज तथा युनिभर्सिटीसँग मिलेर काम गर्छौं । अमेरिकाका करिब एक सय, न्युजिल्यान्ड, आयरल्यान्डका लागि पनि यथेष्ठ कलेज, युनिभर्सिटी छन् । इन्डियाका लागि लब्ली प्रोफेसनल युनिभर्सिटी र बैंगलोरको सिएमआर युनिभर्सिटीले नेपालको कन्ट्री हेडको जिम्मेवारी दिएका छन् । त्यहाँ सिधै विद्यार्थी पठाउन सघाउँछु ।
विदेश पढ्न जान चाहने विद्यार्थी के सल्लाह दिनुहुन्छ ?
बाहिर जाने योजनामा हुनुहुन्छ भने लहडको भरमा विषय र देश छनोट गर्नु हुँदैन । कुन विषयमा, कुन देश जाने विस्तृत अध्ययन गरेपछि निर्णय गर्नुपर्छ । विद्यार्थीको शैक्षिक र आर्थिक क्षमतालाई पनि हेर्नुपर्छ । विदेशमा अध्ययन र काम गर्न निकै कठिन छ ।  अभिभावक पनि सचेत हुनुपर्छ । आर्थिक वा शैक्षिक रुपमा बलियो भएपछि मात्र आँट्नु पर्छ ।
पैसा नभएका विद्यार्थी पढ्न जान पाउँदैनन् त ?
विद्यार्थीको क्षमतामा भर पर्छ । क्षमतावान विद्यार्थी छ भने हाम्रै पहलमा धेरै विश्वविद्यालयले छात्रवृत्ति पाएका छन् । वर्षैपिच्छे छात्रवृत्ति लिएर पढ्न गएका छन् ।
पढ्न विदेशनै जान खोज्नुपर्ने किन ?
यहाँ शैक्षिक गुणस्तर कमजोर भएका विद्यार्थी र अभिभावक सन्तुष्ट छैनन् । बन्द, हडताल, रिजल्ट समयमा नआउने, परीक्षाको टाइमटेबल निस्किने, रद्द हुने समस्या पनि छ । केही विद्यार्थीले आफूलाई ग्लोबल मार्केटमा बिकाउ बनाउन उपयुक्त शिक्षाको खोजीमा पनि विदेश गएका छन् ।
सेटलमेन्टको लागि विदेशिने पनि धेरै छन् नि ?
निश्चय पनि हाम्रो मुलुकको बेरोजगारी समस्या नै प्रमुख कारण हो । जस्तै अस्टे«लियामा गएर स्नातक, स्नाकोत्तर सकाएपछि आवासीय भिसा लिनको लागि सजिलो भएकाले रोजाइमा परेको छ ।
स्वदेशमै गुणस्तरीय शिक्षा दिन सकिँदैन ?
यहाँका कलेजमा गुणस्तरीय शिक्षा नभएको होइन । केही कजेलले विदेशी युनिभर्सिटीबाट सम्बन्धन लिएर पनि पढाइरहेका छन् । तर विद्यार्थीको सन्तुष्टिलाई पूरा गर्न सकेका छैनन् । विदेशमा अध्ययनमा मल्टी कल्चरल एक्स्पोजर, नयाँ प्रविधि, नयाँ पाठ्यक्रम छ । विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्छन् । त्यो यहाँ नभएर होला ।
विद्यार्थी हबमा किन आउने ?
हामीले गुणस्तरीय र प्रभावकारी रुपमा विद्यार्थीको क्षमताअनुसार परामर्श दिन्छौँ । एक दसक बढीको अनुभवले परिपक्व छौँ । टोफेल, आइएलटिएस पढ्ने विद्यार्थीलाई क्षमतावान शिक्षक, अध्ययनका लागि लाइब्रेरीको व्यवस्था छ । अस्ट्रेलियाका लागि क्युयएसी सर्टिफाइड काउसेन्लर हबमा छौँ । विद्यार्थीलाई सही बाटो देखाउँछौँ । त्यसैले टप टेन कन्सल्टेन्सीमा हब छ भन्ने हाम्रो बुझाइ हो ।
व्यावसायिक प्रतिस्पर्धा कस्तो छ ?
अस्वस्थ प्रतिस्पर्धा छ । नेपालमा जस्तो धेरै कन्सल्टेन्सी कहीँ पनि छैन । बजारले पनि एजुकेसनल कन्सल्टेन्सीलाई हेर्ने दृष्टिकोण पनि गलत छ । तर, पनि हामीले वार्षिक डेढ, दुई सय विद्यार्थी पठाएका छौँ ।
व्यावसायिक सफलताको लागि के चाहिन्छ ?
सुरुमै कमाउँछु भनेर लाग्नु हुँदैन । व्पापारमा उतारचढाव आउँछ । धैर्य भएर  कडा परिश्रम र मेहनत गरे सफलता मिल्छ । मेरो टिमले २४सै घण्टा काम गर्छ । मेरो स्ट्रेन्थ नै टिम हो ।
नयाँ क्षेत्रमा काम गर्ने योजना ?
टेडिङ बिजनेस गर्ने ।

Leave A Comment