भाइरल युट्युबर

आइतबार, ०१ साउन २०७४, ०३ : ०२ शुक्रवार , Kathmandu
भाइरल युट्युबर

पुष्पा थपलिया
नेपालमा सबैभन्दा प्रख्यात वेबसाइट कुन हो ? तपाईंले भन्नुहोला, गुगल, फेसबुक या अन्य तर तपाईं गलत हुनुहुन्छ । नेपालमा सबैभन्दा बढी भिजिट हुने वेबसाइटको श्रेय युट्युबलाई छ । नहोस् पनि किन ? युट्युबमा अचेल के पाइँदैन ? मज्जाका दोहोरी, रमाइला ठट्टा, हेर्नैपर्ने समाचारदेखि तपाईंका भान्सामा के नयाँ पकाउने भन्नेसम्मका जानकारी छन् ।
यही लोकप्रियतालाई भजाउँदै केही उत्साही युवाले यस्ता भिडियो तयार पारिरहेका छन्, जसलाई उनीहरुले कमाउने भाँडो बनाउन सफल भएका छन् । यसबाटै उनीहरुले सैयौँ डलर कमाइरहेका छन् ।
केही वर्षअघिसम्म कुनै नेपाली गीत वा भिडियो एक लाख पटक हेरियो भने त्यसलाई ठूलो उपलब्धि मानिन्थ्यो । अहिले करोड पटक हेरिन त्यति गाह्रो छैन ।
यही लोकप्रियताको लोभमा नेपालमा पनि धेरै युट्युबर जन्मिसकेका छन् । तपाईंले युट्युब हेरिदिँदा त्यस भिडियोले थोरै पैसा कमाउने वातावरण दिनुहुन्छ । यसैलाई केही भिडियो निर्माताले थोरै पैसा कमाउने बाटो पाएका छन् । कतिसम्म भने युट्युबलाई कमाउने माध्यम बनाउने युवाहरुको संख्या दिनदिनै बढ्न थालेको छ ।
त्यस्तै एक नेपाली हुन्, जेम्स श्रेष्ठ । उनको युट्युब च्यानलमा अहिले ७० हजार ग्राहक छन् । जेम्स कहिले विदेशीसँग नेपालीमा बोलेर प्राङ्क भिडियो बनाउँछन् त कहिले पटरपटर बोलेरै समय सकिदिन्छन् । नेपालमा भएका विकृति र विसंगतिलाई उनी रमाइलो पारामा भिडियोमार्फत् पस्कने  गर्छन् । र, विश्लेषणबाट उनी डलर कमाउने गर्छन् ।
त्यसो त कमाइबारे खासै चासो नराख्ने अमृत न्यौपाने र हरिश क्षेत्रीले पनि फुर्सदमा भिडियो बनाउने गरेका छन् । अमृत एक्मी इन्जिनियरिङ कलेजमा बिई दोस्रो वर्षमा अध्ययन गर्दैछन् भने हरिश जर्मन भाषा अध्ययनमा व्यस्त छन् । यसबाट फुर्सद निकालेर उनीहरुले भिडियो बनाउने गरेका छन् ।
सुरुमा हरिशलाई युट्युबमा आफ्नै भिडियो हेर्न पाउँदा रमाइलो लाग्यो र कहिलेकाहीँ उनले बनाएका भिडियोलाई ‘क्षेत्री रक्स’ च्यानल बनाएरै राख्न थाले । उनले भूकम्पका बेला बनाएको एउटा भिडियो यति भाइरल भयो कि त्यसबाट उनले दस हजार रुपैयाँसमेत कमाए । घरमै बसीबसी रमाइलो गर्दै बनाएको भिडियोले यत्तिका पैसा दिएपछि उनलाई यसको आकर्षणले छपक्क छोप्यो । आफैँ भिडियो सम्पादन गर्ने र खिच्ने हरिशले अमृतलाई पनि साथमा लिएर युट्युबमा राख्न थाले । छोटो समयमै उनको च्यानल ४ हजारले सब्सक्राइब गरिसकेका छन् । त्यस्तै अमृतको युट्युबले पनि एक महिना नपुग्दै करिब हजार सब्स्क्राइब पाइसकेको छ । यसलाई व्यावसायिक रुपमा चलाउनेबारे भने यी दुईले सोचिसकेका छैनन् ।
उनीहरुका सब्सक्राइबर कम भए पनि भिडियो भाइरल हुने गर्छ । आखिर उनीहरुले भाइरल हुने भिडियो कसरी बनाउँछन् ? रहस्य खोल्दै अमृतले भने, ‘सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो जारी गर्छौं र साना भिडियोले उत्साह जगाएपछि सबै युट्युबमा पुगेर हेर्ने गरेको र हिट हुने गरेको छ ।’
त्यसो त अरुको भन्दा अलि फरक भिडियो बनाएर युट्युबमा राख्छन्, विनायक कुइँकेल । बिबिए छैटौँ सेमेस्टरमा शंकरदेव क्याम्पस पढिरहेका विनायकले देशको शिक्षा प्रणाली, राजनीतिक, सामाजिक कुराको विश्लेषण गरेर भिडियो बनाउँछन् । उनी भन्छन्, ‘नेपालमा ह्युमर लेबलका भिडियो कम छन्, त्यसैले मैले यसमा काम गरेको हुँ ।’ उनीसँगै सागर भट्ट र रोजा ढुङ्गानाको टोली काम गर्छन् । ‘हामीलाई लेख्न मन पर्छ, त्यसैलाई प्रयोग गर्दै भिडियो बनाउने गरेका छौँ,’ विनायकले भने ।
त्यसो त युट्युबले पनि नेपाललाई स्थानीय भाषाको होमपेज उपलब्ध गराएको छ । नेपालमा मात्रै मासिक लाखौँले यस साइट प्रयोग गर्छन् । अहिलेसम्म लगभग ९० देशमा युट्युबलाई स्थानीयकरण गरिएको छ भने ८० भन्दा बढी भाषामा यसलाई उपलब्ध गराइएको छ । यसको अर्बौं मासिक प्रयोगकर्ता रहेको युट्युब आधिकारिक स्रोतले जनाएको छ ।
युट्युब च्यानलको मुख्य आयस्रोतको माध्यम भनेको गुगल एडसेन्स हो । च्यानलका दर्शक र  श्रोताका आधारमा एडसेन्सबाट कमाइ हुन्छ । एडसेन्सबाट नेपाली युट्युब च्यानलले पनि प्रशस्त आम्दानी गरिरहेका छन् ।

Leave A Comment