गोविन्द र कृष्णको ‘कुलकुल’

शनिबार, ३१ असार २०७४, ०१ : ०६ शुक्रवार , Kathmandu
गोविन्द र कृष्णको ‘कुलकुल’

गीतकार गोविन्दराज शिवाकोटीको एकल शब्द र गायक कृष्ण भट्टराईको एकल स्वर रहेको गीतिसंग्रह ‘कुलकुल’ सार्वजनिक भएको छ । राजधानीमा शनिबार आयोजित कार्यक्रममा गीतकार रत्नशमशेर थापा, संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, गीतकार संघका अध्यक्ष चूडामणि देवकोटा र गीतकार शिवकोटीले संयुक्त रूपमा एल्बम सार्वजनिक गरे । एल्बमभित्र ‘कुलकुल’, ‘आज फेरि’, ‘तिमीलाई नदेख्दा’ गरी तीन गीत छन् । जसमा शंकर थापा, अर्जुन पोखरेल र धनु ग्याङ्मीको संगीत छ । एल्बमलाई डस म्युजिकले बजार प्रबद्र्धन गरेको छ ।

ललितकलाको ‘उठौं कलाकार’
ललितकलामा लाग्ने कलाकारलाई ऊर्जा दिन ‘उठौं कलाकार’ बोलको गीतसहितको एल्बम सार्वजनिक भएको छ । कला कोर्दा शून्यतामा कोर्नुभन्दा संगीतको धुनसँगै कोर्दा कलाकारले राम्रो सिर्जना गर्ने भएकाले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले यो गीतसहितको एल्बम ल्याएको हो । हालै राजधानीमा एक कार्यक्रमबीच प्रतिष्ठानका कुलपति रागिनी उपाध्याय, गीतकार यादव खरेल लगायतले एल्बम सार्वजनिक गरेका थिए । पत्रकार मधु शाहीले लेखेको गीतमा कलाकार ज्योतिप्रकाश विकले संगीत दिएका छन् । गीतमा सीता भण्डारी र रूपक खनालको स्वर छ । एल्बममा ‘उठौं कलाकार’ गीत मात्र छ । म्युजिक भिडियोमा काठमाडौं र पोखरालगायतका स्थानमा कलाकारले कला सिर्जना गरिरहेको दृश्य छन् ।

एसराजको ‘बाडुली’
गायक एसराज कुमारको नयाँ गीत ‘बाडुली’ सार्वजनिक भएको छ । एसराजलाई यस गीतमा गायिका मेलिना राईले स्वरमा साथ दिएकी छन् । एसराजले नै लेखेको यो गीतमा थानेश्वर गौतमले सङ्गीत भरेका छन् । भोला दीप यात्रीले निर्देशन गरेको गीतको भिडियोमा एस राज र रंगकर्मी अमृता खनाल फिचरिङ भएका छन् ।

Leave A Comment