‘फिल्म प्रचार गर्न मलाई मन पर्दैन’

शनिबार, ३१ असार २०७४, १२ : ४३ शुक्रवार , Kathmandu
‘फिल्म प्रचार गर्न मलाई मन पर्दैन’

रणवीर कपुर पछिल्लो समयका प्रतिभाशाली कलाकार हुन् । युवा पुस्ताको केन्द्रविन्दु बनेका उनका पछिल्ला फिल्मले बक्स अफिसमा राम्रो गर्न सकेनन् तर केही समयअघि आएको करण जोहरको ‘यह दिल हे मुस्किल’ले उनको निराशालाई साम्य पार्ने काम गर्यो । लामो अन्तरालपछि आउन लागेको उनको बहुप्रतिक्षित फिल्म ‘जग्गा जासूस’ शुक्रबार प्रदर्शन हुँदैछ । यसै सन्दर्भमा कपुरसँग एक भारतीय मिडियाले गरेको कराकानी :
‘जग्गा जासूस’ बन्न त तीन वर्ष नै लाग्यो र बल्ल प्रदर्शनको तयारी हुँदैछ । तपाईंलाई कस्तो लागिरहेको छ ?
यस पटक निकै फरक महसुस हुँदैछ किनभने फिल्मले निकै समय लियो । यसमा निकै धेरै परिश्रम, हाम्रो आफ्नै इमान, पैसा सबै यस फिल्ममा खर्च गरिएको छ । अनुराग बसुसँग काम गर्न तपाईंमा धैर्यता भन्ने चिज हुनुपर्छ । उनी निकै नै अस्तव्यस्त रुपमा काम गर्छन् र निकै अराजक पनि छन् । म उनीसँग पहिला ‘बर्फी’मा काम गरेको थिएँ । म ‘बर्फी’को लागि तयार थिएँ तर लामो समयसम्म ‘बर्फी’का लागि सोचविचार गरेको थिइनँ । कुनै दर्शक आएर फिल्म हेर्छन्, उनीहरुलाई फिल्मको पर्दा पछाडि कत्ति धेरै काम भएको हुन्छ वा कति गाह्रो, कति समयसम्म हामीले फिल्ममा खर्चियौं भन्ने कुुरा देख्दैनन् र यस्ता कुरामा रुचि पनि राख्दैनन् । उनीहरु आउँछन्, फिल्म हेर्छन् र उनीहरुलाई फिल्म मन परिदिनु पर्छ । रोमाञ्चक दृश्यहरु, मस्ती र मुख्य रुपमा फिल्मको कथाले नै हामीलाई ‘जग्गा जासूस’ गर्ने प्रेरणा दिएको हो । फिल्मको कथा पारिवारिक छ । मलाई थाहा छ, जो व्यक्ति परिवारसँग यो फिल्म हेर्न आउँछन् उनीहरु यसलाई आफ्नो परिवारकै कथाजस्तै पाउनेछन् ।
‘जग्गा जासूस’ सांगीतिक फिल्म हो तर भारतीय सांगीतिक फिल्मका लागि हामीसँग फिल्मको मर्मअनुसार गाइदिने कलाकार पाउन निकै मुस्किल छ । यसलाई कसरी लिनु हुन्छ ?
साँचो मनले भन्ने हो भने यो कुरा ममा पनि लागू हुन्छ । कलाकारका रुपमा म निकै अल्छी छु । मैले केही समय गाउने प्रयास पनि गरेँ तर म गाउन सक्दिनँ । तर यस फिल्ममा केही त्यस्ता क्षण छन्, जहाँ म आफैँ गायक बनेको छु । फिल्मका लागि निकै नै मौखिक शब्द र लयको आवश्यकता थियो । म यसमा राम्रो मात्र हुन सक्दिनँ । हामीसँग निकै राम्रा राम्रा गायक हुँदा हामीलाई सजिलो भएको छ । हाम्रोमा कलाकारले गीत नगाउने प्रचलन निकै पहिलेदेखि चलिआएको कुरा हो तर ‘जग्गा जासूस’ पूर्ण सांगीतिक फिल्म हो । यसमा मैले निभाएको पात्र भकभके छ । उसलाई बोल्नभन्दा गीत गाउँदै बोल्न सजिलो लाग्छ । यो भारतमै नयाँ कन्सेप्ट हो । हेरौं यो कुरालाई दर्शकले कत्तिको रुचाउँछन् ।
तपाईं त सुपरस्टार तर तपाईं अहिले पनि कहिँकतै मन फाटेकोजस्तो देखिनुहुन्छ ? काममा निकै नै प्रेसर छ हो ?
फिल्म प्रदर्शनताकाको हाम्रो समय मार्केटिङले खाइदिन्छ । जतिबेला पनि फिल्म बिकाउनेतिर उनीहरुको ध्यान जान्छ । कलाकार भएपछि लामो समय घरि यता घरि उता कुदिरहनु पर्छ । त्यस्तै अन्तर्वार्ता र जमघटमा गइरहनुपर्छ । मलाई फिल्म प्रदर्शनताकाको यो समय निकै नै बोरिङ लाग्छ र यसमा म रमाउन सक्दिनँ । मलाई यो भन्दा त फिल्मको सेटमै रमाइलो लाग्छ तर पनि यस फिल्मको प्रोड्युसरमध्ये म पनि एक जना भएको हुँदा म यसमा रमाइरहेको छु ।
तपाईं आफ्नो सफलता र असफलताबारे बारम्बार बताइरहनु हुन्छ । तपाईंले खासमा गर्न खोजेको चैं के हो ?
जब कुनै दिन फिल्म सुटिङ सकियो भन्ने हुन्छ, त्यही दिन फिल्म पनि सकिन्छ । कलाकारका रुपमा तपाईं एउटै मात्र फिल्म झुन्डिनुभयो भने आफ्नै लागि नराम्रो हुन्छ । म नयाँ फिल्मलाई नयाँ गन्तव्यका रुपमा हेर्छु र सधैँ नयाँ गन्तव्यको पर्खाइमा हुन्छु । कुनै पनि फिल्म गरिसकेपछि निभाएको पात्रको भावना र आवेग आफैँसँग टाँसिन पुग्छन् । म करियरमा सफलता र असफलतासँग टाढा रहेको छु जस्तो लाग्छ । मसँग केही सफलता छन् तर धेरै भने असफलता नै असफलता । असफलताले नै मलाई गहन रुपमा पाठ पढाउने काम ग¥यो । फिल्मी यात्रामा मैले आफैँलाई ग्रहण गर्नुपर्ने बुझेँ । यसको फाइदा के छ भने म मेरो सफलता र असफलतासँग जोडिन चाहन्न ।
‘जग्गा जासुस’ बन्न निकै लामो समय लियो । त्यही समयमा तपाईंको व्यावसायिक र व्यक्तिगत जीवनबारे धेरै टीकाटिप्पणी लेखिए । अझ कट्रिना कैफसँगको सम्बन्धबारे त निकै नै लेखियो । यसबारे तपाईंको विचार के छ ?
तपाईंलाई थाहै होला मेरो करियरको सुरुवातताका निकै नै तनाव हुन्थ्यो तर अहिले म यो क्षेत्रमा आएको दस वर्ष भयो । मैले धेरै किसिमका अनुभव सँगाल्ने अवसर पाएँ । मैले सो बिजनेस र मिडिया कसरी चल्छ भन्ने कुरा बुझेँ । मेरा बारेमा केही समय निकै नै तल्लो स्तरका नकारात्मक कुराहरु पनि लेखिए । कट्रिना र मेरो सम्बन्ध, फिल्मको आरोह अवरोह, फिल्मको ढिलासुस्तीबारे निकै कुरा मिडियामा आए । मैले ती कुराहरुलाई वास्तै गरिनँ । कलाकारका रुपमा तपाईंको मुख्य काम भनेकै फिल्म खेल्ने हो । तपाईंले गरेको राम्रो कामबाटै तपाईंले प्रशंसा पाउनु हुन्छ । फिल्मले बोल्नुपर्ने ठाउँमा अभिनेता बोल्नुको कुनै तुक छैन । यही कुरालाई आत्मसात गर्दै म मेरा फिल्मले नै बोलून् भन्ने चाहन्छु । मेरो व्यक्तिगत जीवनबारे राम्रो लेखे पनि नराम्रो लेखे पनि त्यस्ता कुरामा ध्यान दिनु समयको बर्बादी हो । मानिसहरुले मेरो फिल्म मन पराइदिन्छन् भने त्यो मैले चाहेको र बोनस कुरा हो ।
तपाईं ‘वेकअप सिड’ निकै चुनौतिपूर्ण फिल्म भन्नुहुन्थ्यो । पछिल्लो समय त्यसमा केही थपघट भयो कि ? तपाईं आफ्नो फिल्मी पात्रसँग कत्तिको जोडिनुभएको हुन्छ ?
‘वेकअप सिड’ गर्दाताका म त्यस्तै युवा उमेरको थिएँ । त्यसबेलाको त्यो पात्र आजसम्म मसँगै छ । त्यसैले ‘वेकअप सिड’ मेरालागि विशेष फिल्म हो । मलाई लाग्छ ‘दत्त बायोपिक’(सञ्जय दत्तमाथि बन्दै गरेको फिल्म) आजसम्मकै चुनौतीपूर्ण फिल्म हो । ‘रकस्टार’ पनि चुनौतीपूर्ण थियो । ‘जग्गा जासूस’ले मेरो धैर्यता जाँच्यो । लामो समय लिएको यस फिल्मको मेरो पात्रलाई पूर्ण रुपमा समय दिएँ ।
फिल्म खेलेसँगै म मेरो रियल लाइफमा निकै नै संयमित र परिपक्व भएको छु । अझ असल हुने प्रयास जारी छ । फिल्म खेल्न थालेको दस वर्षमै मैले आफ्नो इच्छा वा भनौं सपनालाई केही हदसम्म प्राप्त गरेको छु । मलाई मेरो काम मनपर्छ । म मेरो जुत्ता झुन्ड्याएर रिटार्यड हुन यहाँ आएको हैन । म नयाँ–नयाँ काम गर्न नपाउँदा छटपटिन्छु । मलाई राम्रो पात्र र धेरै मानिसहरुसँग काम गर्न मनपर्छ । परिर्वतन भन्ने कुरा मेरो वरिपरिकै मानिसहरुले राम्रोसँग बताउन सक्छन् ।
राम्रा फिल्म आफसेआफ आउने तपाईं बताउनुहुन्थ्यो । तपाईंसँग अब हिटदेखि फ्लप सबै फिल्म छन् । यसबारे के भन्नुहुन्छ ?
मैले पछिल्ला केही समयमा निकै नै असफलताको सामना गर्नुपर्यो । म राजकुमार हिरानी, आयान मुखर्जी, करण जोहर र अनुराग बसुजस्ता राम्रा फिल्म मेकरसँग राम्रा फिल्म गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्छु । हाम्रोमा निकै नै प्रतिभावान मेकरहरु छन् । उनीहरु मलाई फिल्म खेलाउन चाहन्छन् भने म सधैँ तयार छु ।

 

Leave A Comment