अन्योलमा ए डिभिजन लिग

शनिबार, ३१ असार २०७४, १२ : ३१ कमल खत्री , Kathmandu
अन्योलमा ए डिभिजन लिग

लिग फुटबलको अन्योलले खेलाडीको पलायन क्रम मात्र बढेको छैन, खेलको लोकप्रियतामा समेत प्रहार भइरहेको छ। लिग प्रतियोगिता फुटबलको मेरुदण्ड हो । लिगले सम्बन्धित देशको फुटबलको स्तर र भविष्य आँकलन गरिरहेको हुन्छ । प्रतिभा उत्पादन र प्रतिभा पहिचान गर्दै घरेलु संरचनालाई बलियो बनाउने उद्देश्य लिएको ए डिभिजन लिग फुटबल २०६९ साल यता हुन सकेको छैन ।
लिग नहुँदा नेपाली फुटबलमा प्रतिभावान खेलाडी उत्पादनको क्रम घटिरहेको छ भने व्यवस्थापनमा फुटबल पदाधिकारी पछाडि पर्दैछन् ।

विनाशकारी भूकम्पपछि नेपालको ‘ए’ डिभिजन लिग फुटबल हुन सकेको छैन । भूकम्प गएको वर्ष लिग गर्न सक्ने अवस्था थिएन । त्यसको एक वर्षपछि लिग हुने दशरथ रंगशालाको मर्मत नहुँदा लिग भएन । मैदानलाई मुख्य कारण बनाउँदै फुटबलको नेतृत्वदायी निकाय अखिल नेपाल फुटबल संघ(एन्फा)ले लिग गर्न सकेन ।
तर एन्फा एकपछि अर्को समस्या देखाउँदै लिग आयोजनाबाट पन्छिरहेको छ । लिग आयोजना अन्योलमा छ । लिग आयोजना गर्ने मिति एन्फाले अहिलेसम्म तोक्न सकेको छैन । अहिले एन्फा थ्रीस्टार क्लबसँगको समस्या कारण लिग गर्न ढिला भैरहेको बताउँछ ।
एन्फा प्रमुख कार्यकारी निर्देशक इन्द्रमान तुलाधरले थ्रीस्टारको समस्या समाधान हुनेबित्तिकै लिग हुने बताए । ‘पछिल्लो पटक थ्रीस्टारको समस्या समाधान नहुँदा लिग गर्न समस्या भएको थियो तर हामी सहमति नजिक पुगिसकेका छौँ । एन्फाको बैठकले निर्णय गरेपछि लिग गर्ने मिति तोक्ने छौँ, तुलाधरले भने, ‘भदौ ९ देखि हामीले लिग गर्ने योजना हो तर त्यो निर्णय भएको छैन । क्लबसँग छलफल गरेर टुङ्गो लगाउनेछौँ ।’ एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समै ए डिभिजन लिग गर्ने तयारी गरिरहेको छ । हल्चोकस्थित एपिएफ क्लब पनि लिग गर्न सक्ने सम्भावित मैैदान रहेको एन्फाले बतायो ।
एन्फाले थ्रीस्टारको कारणले लिग गर्न ढिलाइ भैरहेको बताए पनि त्यसमा क्लब पदाधिकारी सहमत छैनन् । थ्रीस्टार क्लबका महासचिव सञ्जीव शिल्पकार एन्फाका कारणले लिगमा ढिलाइ भएको बताउँछन् । ‘थ्रीस्टारको कारणले होइन एन्फाको कारणले लिग भएको छैन । हाम्रा कारणले लिग रोकिनु हुन्न भनेर हामी समझदारीमा गएको हौँ । जति मर्का परे पनि नेपाली फुटबलका लागि हामीले त्याग गरेर सहमत ग¥यौँ तर प्रक्रिया मिलाउन ढिला भैरहेको छ, शिल्पकारले थपे, ‘नेपाली फुटबललाई बचाउन हामीले त्याग ग¥यौं । अब एन्फाले छिटो बाँकी काम पूरा गरेर लिग गर्ने तयारी गर्नुपर्छ ।’
एन्फा नेतृत्व भ्रष्टाचार आरोपमा मुछिदा त्यसको असर घरेलु फुटबलमा पनि देखियो । तत्कालीन एन्फा अध्यक्ष गणेश थापालाई फिफाले भ्रष्टाचारको आरोप लगाउँदै कारबाहीसमेत गरिसकेको छ । थापापछि एन्फा नेतृत्व आएका नरेन्द्र श्रेष्ठको नेतृत्वमा फुटबलले अपेक्षाकृत गति लिन सकेको छैन । घरेलु संरचना कमजोर बनिरहेको छन् । अन्तर्राष्ट्रिय सहभागिता र केही मैत्रीपूर्ण खेल खेले पनि नेपाली फुटबलसँग अहिले स्पष्ट कार्ययोजना छैन ।  
हिमालयन शेर्पा क्लब अध्यक्ष एवम एन्फाका निर्वतमान उपाध्यक्ष कर्मा छिरिङ शेर्पा नेपाली फुटबलमा दुःखद् स्थिति आएको बताए । ‘नेपाली फुटबलको दयनीय अवस्था छ । एन्फासँग कुनै योजना छैन । लिग मात्र होइन । फुटबलका अन्य गतिविधि नियम संगत हुन सकेका छैनन्,’ शेर्पाले भने, ‘एन्फाले विभिन्न बहाना बनाउँदै लिग गर्न ढिलाइ गरिरहेको छ । थ्रीस्टारको कारणले लिग गर्न ढिलाइ भएको होइन । त्यो समस्या समाधान गर्न एक वर्ष लाग्दैन । एन्फा नेतृत्व लिग गर्नबाट टाढिरहेको छ । सम्बन्धित निकाय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र मन्त्रालय, एएफसी र फिफा पनि मौन छ ।’
एन्फाका कारण क्लबलाई आर्थिक भार थप्ने काम भएको बताए । एन्फाले वैशाखमा लिग गर्ने तयारी गरेको थियो । लिग नहुँदा क्लबलाई मार परेको शेर्पाले बताए । शेर्पाले थपे, ‘लिगका लागि क्लबले कम्तीमा दुई महिना तयारी गर्नुपर्छ । हामीले विदेशबाट खेलाडी ल्याएर तयारी गरिरहेका थियौँ तर लिग भएन । एन्फासँग लिग गर्ने सोच नै छैन ।’
लिग नहुँदा नेपाली फुटबल धरासायी अवस्थामा पुग्न लागेको शेर्पाले बताए ।
उनले भने, ‘नयाँ खेलाडी उत्पादनको क्रम रोकियो । अहिले भएका खेलाडी चार वटा क्लबलाई पनि पुग्दैनन् । भएका खेलाडी विदेश पलायन हुँदैछन । उनीहरुलाई रोक्ने भनेकै लिग फुटबलबाट हो । एक वर्षअघि लिग मिति र तालिका थाहा हुनुपर्ने हो तर नेपालमा लिग कहिले हुने हो भन्ने टुङ्गो छैन ।’
नेपालमा ए डिभिजन मात्र होइन, अन्य नियमित हुने गरेको सी, बी डिभिजन लिग पनि नियमति छैन । भदौमा लिग गर्ने तयारी गरे पनि एन्फासामू अन्य थुप्रै समस्या छन् । दशरथ रंगशालामा लिग हुँदा एन्फाले टिकटबाट उठाउने आर्थिक रकम उठाउन सक्ने अवस्था छैन । लिग रोकिँदा फुटबलबाट प्रायोजक पनि टाढिँदै गएका छन् । बी र सी डिभिजन लिग नहुँदा क्लबलाई खेलाडीको समस्या हुनेछ । ती समस्याले नेपाली फुटबललाई थप कमजोर बनाउँदै लगेको छ । यसले समग्र फुटबलको लोकप्रियता घटाउने निश्चित छ । 

Leave A Comment