पोखराको सम्मोहन

बिहिबार, २९ असार २०७४, १२ : १५ शुक्रवार , Kathmandu
पोखराको सम्मोहन

काठमाडौं झर्ने आधाजसो पर्यटकलाई पोखराले स्वागत गर्न पाइरहेको छ । भारतको विहार, गोरखपुर, लखनउ लगायतका सहरबाट ठूलो संख्यामा भारतीयहरू मन बहलाउन पोखरामा आउँछन् । चिनियाँहरूको प्रमुख गन्तव्य पनि पोखरा नै  हो । नेपालका तन्नेरी र घुम्नुपर्नेहरूले योजना बनाउँदा अधिकांशको पहिलो रोजाइमा पोखरा आउँछ । पोखराले सबैलाई स्वागत गर्न भ्याएको छ । एक किसिमको सम्मोहन छ पोखरासँग । प्राकृतिक सम्पदालाई उपयोग गर्ने कला छ, पोखरेलीहरूमा । आतिथ्य गर्न सिपालु पोखरेलीसँग न्यानो दिल दिनसक्ने मन छ ।
पर्यटनको राजधानी भनिने पोखरा समयसँगै, समयको मागसँगै परिवर्तन हुँदैछ । पश्चिमा गोराहरूको पर्यटनबाट जग हालेको पोखरा अहिले खर्च गर्न रुचाउने भारतीय, चिनियाँ र नेपाली ओइरिऊन् भन्ने चाहन्छ । गोराहरूको ‘बजेट पर्यटन’भन्दा दिल फुकाएर फुटकर खर्च गर्ने भारतीय, चिनियाँ र नेपाली उसको प्राथमिकतामा पर्दैगएका छन् । त्यसैले हुनसक्छ पोखरा केही वर्ष यता रात्रि जीवनमा रंगिदैछ  । साँझपख डिस्को, पप, रेस्टुराँ, गजल, दोहोरीजस्ता सांगीतिक धुनहरूमा झुम्ने गर्छ । पोखराले मदिरा पिलाउँछ, देह सुखका शौखिनहरूका अफर पूरा गर्छ र रेस्टुराँहरूबाट संसारभरको स्वाद बेच्न सक्छ ।
पोखराको अहिलेको स्वरुप पछाडि ठूलो संख्याका कर्मवीरको योगदान छ । कर्मशीलहरूले निजी लगानी, श्रम र सेवा पस्केर यहाँसम्म ल्याएका हुन् । पोखरासामुन्ने अझै पनि अनन्त सम्भावना छन् । अर्बौंको निजी लगानी गरेर खर्बौं आम्दानी गर्ने पौरखीहरूकै कारण नेपालका सहरमध्ये यो वैभवशाली सहरमा गणना भएको हो । अन्तर्राष्ट्रिय विमानस्थल बन्ने पछिल्ला योजना र पोखराले महानगरको स्वरूप धारण गरेपछि यहाँको रियलइस्टेट अकासिएको छ । सवारीहरू थपिएका छन् । बसोबासकै निम्ति आसपासका जिल्लाहरूबाट मानिस आउनेक्रम बढेको छ । अर्थात्, पोखरा यसको मौलिकता पर्यटन व्यवसायमा मात्र होइन, मुलुकका अन्य सहरजस्तै जताततै, जथाभावी विस्तारित हुँदैगएको छ ।
पोखराले पर्यटन मौलिकतालाई जोगाउन के–के गर्नुपर्ने हो ? यसका लागि राज्यको दायित्व के हो ? अन्योलको अवस्था छ । पर्यटन व्यवसायी रेस्टुराँ चलाउन सक्छन्, होटल खोल्न सक्छन्, यावत् सेवाहरू दिनसक्छन् । उनीहरूले रात्रि जीवनलाई रंगीन बनाउने हरसम्भव काम गर्न सक्छन् । व्यवसायीमा आफ्नो लगानी विस्तार गर्ने र देशदेशावर फैलाउने चाहना हुन्छ तर तिनले भौतिक पूर्वाधार निर्माण गर्न सक्तैनन् । त्यस्ता पूर्वाधारको काम सरकारको हो । महानगरपालिकाको हो । सरकार र स्थानीय तह पोखराको सहरको मौलिकताअनुसार चलेका छन् त ? त्यहाँको भौतिक आवश्यकतालाई लिएर काम जिम्मेवार निकायबाट भएका छन् त ? यी गम्भीर प्रश्नमाथि अब घोत्लिने बेला आएको छ ।
पोखरा नेपालको सबैभन्दा ठूलो महानगर पनि हो, क्षेत्रफलका आधारमा । महानगर बनाउन टाढाटाढाका डाँडापाखा समेटिएको छ । महानगरका सबैजसो वडालाई कच्ची सडकले छोएको छ, हिउँदमा धूलो, वर्षामा हिलो मैलो । ढल निकास यहाँको ठूलो समस्या मध्येको हो । सडकबाटै वर्षाको पानी बग्ने भएकाले सडकहरू ठूलो पानी परेको बेला खहरेमा परिणत हुन्छन् । सहरमा खानेपानी संकट बढ्दै गएको कुरा ट्याङ्कर व्यवसाय फस्टाएबाट देखिन्छ । नगरले वितरण गर्ने पानी पाउन २÷३ दिनको पालो कुर्नुपर्ने नियति भोग्दैछन् पोखरेलीहरू । ४०/५० वर्ष पुरानो खानेपानी वितरण प्रणालीलाई दोष दिँदै ‘जिम्मेवारी’बाट पन्छिने गर्छन्, सरकारी अधिकारीहरू । खानेपानीका वर्षौंदेखिका योजना अधुरा छन् । सडकको अवस्था कस्तो छ त ? महानगरको मेयर निर्वाचित भएलगत्तै मानबहादुर जिसीले सडकका खाल्डाखुल्डी चौबीस घण्टाभित्र पुर्ने घोषणा गरेका थिए । उनी कुर्सीमा बसेको डेढ महिना हुनलाग्यो । लेक साइड जाने जीरो माइलदेखि हल्लनचोक सम्मको करिब अढाई किलोमिटरका खाल्डाले पोखराको वैभव र व्यवसायलाई जिस्काइरहेको अनुभव हुन्छ । मेयर जिसी जानकार होलान् सडकका खाल्डाहरू पुरिएका छैनन्, बरू बर्खामा अझै गहिरिँदै गएका छन् ।
पोखराको सबैभन्दा चलायमान केन्द्र लेकसाइडमा अबेर राति एटिएमबाट पैसा झिक्न समस्या झेल्नेको संख्या ठूलो छ । यहाँ एटिएम नचल्ने रोग पनि बल्झिरहने समस्या हो । यातायातमा पोखरेली सिन्डिकेट मुलुकभर कुख्यात छ । सुरक्षाका लागि महिनैपिच्छै ‘शुल्क’ बुझाउनुपर्ने व्यवसायीका बाध्यताका कारण सुरक्षा अवस्था कल्पना गर्न सकिन्छ । कानुनको जंजिर देखाउने प्रहरीको निशानामा रात्रीकालीन व्यवसाय ‘आतंकित’ छ । ‘कमाउने’हरूका लागि पोखरा स्वर्ग हो, त्यहाँको रात्रि जीवनका म्युजिक, मदिरा र मस्ती अवसर हुन्, अप्ठ्यारोमा पारेर आम्दानी गर्नेहरूका लागि । रात्रिकालीन व्यवसायबारे अब एउटा गतिलो नीति आवश्यक छ । देहव्यापार ओपेन सेक्रेट जस्तै बनेको छ । कुरो नमिल्दा डण्डा चलाउने चलन, यस पेसाबारे कामयावी नीति आवश्यक छ । पोखराको पर्यटन व्यवसाय उदारतामै फस्टाउन सक्छ । त्यसका लागि राज्यको स्पष्ट पोखरानीति आवश्यक छ ।

Leave A Comment