बलिउडका आइकोनिक भिलेन

मङ्गलबार, २७ असार २०७४, ०१ : २७ शुक्रवार , Kathmandu
बलिउडका आइकोनिक भिलेन

मुखमा सिगार पाइप, सुट अनि डरलाग्दो लुक्स । डिसुमडासुम र डाइलगबाजी बलिउडका खतरनाक भिलेनहरुको परिचय हो । बलिउडको एक शताब्दी इतिहासमा यादगार नायकलाई मात्र सम्झेर पुग्दैन । यादगार खलनायक पनि उत्तिकै छन् । जसरी एउटा फिल्म पूर्ण हुन नायकको ठूलो हात हुन्छ, त्यस्तै खलनायकको पनि उति नै हात हुन्छ । फिल्ममा खलनायक नै नभए हिरो कोसँग लड्नु ? खलनायक नै नभए हिरोइनको चित्कार अनि त्यस चित्कारसँगै हिरोले ‘हिरोइजम’ कसरी देखाउन पाउनु ? यहाँ यस्तै केही चर्चित खलनायकबारे जानकारी प्रस्तुत गरिएको छ ।

गब्बर सिंह– सोले
‘यहाँ से पचास पचास कोस दूर गाँव मे जब बच्चा रात को रोता है तो माँ कहती हैं– सो जा मेरे लाल... सो जा, नहीँ तो गब्बर सिंह आ जाएजा ।’
फिल्म ‘सोले’को यो डाइलग अहिले पनि निकै रुचाइँदैआइएको छ । समय समयमा मेमे र ट्रोलहरुमा यो सम्वाद निकै सेयर गरिन्छ । अमजद खानले पाएको गब्बर सिंहको यस भूमिका भारतीय सिनेमा इतिहासकै आइकोनिक ‘भिलेन’ मानिन्छ । गब्बरको ‘जो डर गया सम्झो मर गया’ पनि निकै नै चर्चित डाइलग हो ।

मोगाम्बो– मिस्टर इन्डिया
‘मोगाम्बो खुस हुआ’

सलिम जावेदको फिल्म ‘मिस्टर इन्डिया’ रिलिजपछि यो डाइलग सबैको मुखमा झुन्डिएको थियो । मोगाम्बोको रुपमा अमरिश पुरी देखिएका थिए । फिल्ममा उनको पोशाक, रमाइला मिमिक्रीसँगै लार्जर देन लाइफ पात्र भएकै हुनाले मोगाम्बो निकै नै रुचाइएको हो ।

शकाल – शान
‘ये जहरिली ग्यास धिरे धिरे महफिल को और रंगीन बनाती रहेगी ।’
आफूलाई सार्क माछाहरुको वरिपरि प्रस्तुत गर्ने भिलेन भेट्न निकै मुस्किल छ अहिले । कुलभूषण खरबन्डा फिल्म ‘शान’मा शकालका रुपमा निकै नै डरलाग्दो रुपमा प्रस्तुत भएका थिए । उनले तालु कन्याउने स्टाइल कसले पो बिर्सिएको होला र ? अझ उनले लगाउने ती औंठीहरु पनि उदेककै थिए ।

डक्टर दंग– कर्म
‘राना विश्व प्रताप सिंह । इस थप्पड कि गून्ज सुनी तुम्ने ? अब इस गून्ज कि गून्ज तुम्हे सुनाई देगी, जब तक जिन्दा रहोगे ।’
डाक्टर भए पनि निकै नै डरलाग्दो र आक्रामक खलपात्र हो डाक्टर दंग । फिल्म ‘कर्म’मा अनुपम खेरले खेलेको खलपात्र आजसम्मकै नौलो भिलेन हो । भारतीय सिनेमा जहाँ भिलेन भन्ने बित्तिकै इलाका जमाएर बसेको देखाइन्थ्यो, यस खलपात्रमार्फत भारतीय सिनेमामा खलपात्र बारेको नौलो अभ्यास भएको मानिन्छ ।

कान्चा चीना– अग्निपथ
‘तुम क्या लेके आए थे, और क्या लेके जाओगे । रहे जाय सिर्फ एक इन्सान, सर्व शक्तिशाली, सर्व शक्तिमान– कान्चा’
पुरानो र रिमेक गरिएको दुवै ‘अग्निपथ’मा कान्चा चीना पात्र निकै हिंस्रक र डरलाग्दो छ । पुरानो ‘अग्निपथ’मा डेनी डेन्जोङ्पा र पछिल्लो रिमेकमा सञ्जय दत्त भए पनि कान्चा चीना खलपात्रका रुपमा सदाबहार चर्चित छ ।  

लोइन– कालीचरन
फिल्म ‘कालिचरन’मा अजित खान लोइनका रुपमा निकै नै सफल खलपात्र हुन् । उनले ‘मोना डार्लिङ’ भन्ने सम्वाद निकै चर्चित बनाए र आफूलाई नयाँ पन्चलाइन ‘लोग मुझे लोइन के नाम से जानते हैं’ सँगै आफूलाई परिचित गराए । यो खलपात्र नौलो र डाइलग बाजीमा निकै माहिर छ । यो खलपात्रकै कारण अजितलाई अहिलेसम्म कसैले भुल्न सकेको छैन ।

क्राइम मास्टर गोगो – अन्दाज अपना अपना
‘खानदानी चोर हुँ मैँ खान्दानी...मोगाम्बोका भतिजा’ ‘अन्दाज अपना अपना’मा क्राइम मास्टर गोगोले बोल्ने डाइलग हो यो । क्राइम मास्टर गोगोको रुपमा देखिएका शक्ति कपुर आफैँमा सम्झन लायक खलपात्र हुन् । क्राइम मास्टर गोगो उनका भूमिकामध्येकै तारिफयोग्य र सम्झन लायक भूमिका हो । गोगो कमिकल भिलेनका रुपमा निकै नै रुचाइएको पात्र हो ।

शहरुख खान– डर
‘आइ लभ यु ककक...किरन’

‘डर’ फिल्मको यस डाइलगका बारे केही बताइरहनुपर्ला र ? किङ खान शाहरुख आफ्नो करियरको सुरुताका खलपात्रका रुपमा बुलन्द अभिनयसहित प्रस्तुत भएका थिए ।

Leave A Comment