'पुरस्कारका लागि लेख्नेहरु बेइमान हुन्'

मङ्गलबार, २७ असार २०७४, १२ : ५६ शुक्रवार , Kathmandu
'पुरस्कारका लागि लेख्नेहरु बेइमान हुन्'

‘टापुका स्वरहरु’ कथा संग्रह प्रकाशन गरिसकेकी कवि सीमा आभासको पछिल्लो कविता संग्रह ‘म स्त्री अर्थात् आइमाई’ले ‘खेमलाल प्रतिभा पुरस्कार’ प्राप्त गर्न सफल भएको छ । यसै सन्दर्भमा कविता र पुरस्कारलाई लिएर उनै कवि सीमा आभाससँग दिनमान गुर्मछानले गरेको कुराकानीः
१) तपार्इंको कविता संग्रह ‘म स्त्री अर्थात् आइमाई’ले ‘खेमलाल प्रतिभा पुरस्कार’ पाएको घोषणाले कत्तिको उत्साहित हुनुहुन्छ ? यो सफलताले भोलिका दिनमा कविताप्रति झन् थप जिम्मेवारी थपिएको पनि होला । यसलाई कुन रुपमा हेर्नु भएको छ ?
 आफ्नो संग्रहले पुरस्कार पाउँदा आम लेखकहरु खुसी भएजस्तै म पनि खुसी छु । अझ राम्रै राशिको पुरस्कार पाउनु लेखकका लागि अर्को सुखद् कुरा हो । अर्को कुरा, पुरस्कार पाए पनि नपाए पनि कविता लेख्ने जो कोही आफ्नो रचनाप्रति जिम्मेवार हुनुपर्छ । कविता लेख्नेले आफ्ना कविताका अक्षर, शब्द, हरफ र त्यसका अर्थप्रति इमान्दार, जवाफदेही र उत्तरदायी हुनुपर्छ । यस मामलामा एकदमै सचेत हुने प्रयास गरेकी छु । अझ यस पुरस्कारले मलाई आत्मवल बढाएको छ ।  
२) तपाईंका लागि कविता के हो ? तपाईं आफैँ कविताप्रति कत्तिको इमान्दार हुनुहुन्छ ? अचेल त कविता हल्ला र पुरस्कारका लागि लेखिन्छ भनिन्छ नि ? यसबारे तपाईंको विचार के छ ?
धेरै लेखकहरुले कविताको व्याख्या गर्ने कोसिस गरेका छन् तर ती सम्पूर्ण व्याख्याहरु एउटा सुन्दर कविताको अगाडि फिक्का लाग्छन् । त्यसैले मसित त्यस्तो ठोस व्याख्या छैन । तपाईंको जीवन के हो ? तपाईंको आत्मा के हो ? भनेर सोधियो भने आउने जवाफ जे हुन्छ, त्यही हो मेरा लागि कविता । म मेरो हृदयप्रति जति इमान्दार छु, त्यति नै इमान्दार छु कविताप्रति । मेरो हृदयले स्वीकार नगरुञ्जेल म कवितालाई सार्वजनिक नै गर्दिनँ । कविता लेख्छु भनेर कलम समात्नेहरु आफ्नो कविताप्रति इमान्दार हुन सक्तैनन् भने कविता लेख्छु भनेर जमर्को नगरेकै जाति । कविता हल्ला र पुरस्कारको लागि लेख्छु भन्नेहरु यदि कोही छन् भने तिनीहरुले आफूप्रति बेइमानी गरिरहेका छन् भनेर भनिदिए हुन्छ । हल्लाको आयतन साह्रै साँघुरो हुन्छ । त्यो साँघुरो आयतनमा कविता अटाउनै सक्तैन । पुरस्कारकै लागि यदि कविता लेखियो भने त्यो पुरस्कारको वजन कति हुन्छ ? त्यसैले मलाई यस्ता हल्लामा पटक्कै विश्वास छैन ।   
३) तपाईं कवि कि कथाकार ? तपाईंले एउटा प्रोजेक्टसँगको सम्झौतामा कथासंग्रह पनि लेख्नु भएको छ । कथासंग्रहले धेरै पाठकको मन जित्न पनि सफल भयो । कथा केका लागि लेख्नु हुन्छ ?
कविता र कथा दुवै लेख्छु । कविता लेखेको बेलामा कवि र कथा लेखेको बेलामा कथाकार बन्छु । जि.टि.जेड अन्तर्गतको “टाउन राइटर्स रेसिडेन्स्” अन्तर्गत रहेर कथा लेखेँ । तपाईंले भनेजस्तै कथाले पाठकको मन जित्न पनि सफल भए । मैले लेख्ने भनेको मैले देखेको, भोगेको र जानेको समाज लेख्ने हो । कतिपय घटना कथामा सशक्त लेख्न सक्छु जस्तो लाग्यो भने कथा लेख्छु । कहिलेकाहीँ विधा भञ्जन गरेर लेख्नु पनि मजा हो ।
४) अहिलेका कवितासँग तपाईं सन्तुष्ट हुनुहुन्छ ? कविताको सौन्दर्य म¥यो भनिन्छ नि ! कविहरु पहिचान र नारा कवितामै रुमल्लिएका हुन् त ?
पत्रपत्रिका र संग्रहको रुपमा छापिएका कविताका बारेमा सोध्नु भएको हो भने यो समय कविताको लागि उर्वर समय हो । हिजोका दिनमा कवितालाई होच्याउने गरिन्थ्यो । कवि भनेको खिसीको पात्र हो भनेर बुझिन्थ्यो । त्यसमाथि कविहरु स्वयंको पनि कमजोरी देखिन्थ्यो । चिया, चुरोट खान बस्ता होस् या हिँड्दाहिँड्दै ‘मेरो कविता सुन् सुन्’ भनेर कवितालाई हल्का बनाइन्थ्यो । ‘मलाई भर्खर फुरेको कविता’ भन्दै सुनाइन्थ्यो । अहिले धेरैले बुझेका छन्, जहाँ पायो त्यहीँ भन्दै हिँड्ने, त्यति सस्तो कुरा होइन कविता । अर्को कुरा, हिजोका दिनमा कविताको समीक्षा र त्यसको अर्थ समीक्षकले मात्र भन्नुपर्छ भन्ने मान्यता थियो । कविता सम्प्रेषणीय भन्दा दुरुह विधाको रुपमा लिइन्थ्यो । पाठक र कविता बीचमा ठूलो पहाड थियो । त्यो पहाड छिचोलेर पाठक कवितासम्म जान नै सक्तैनथ्यो । आजभोलि पाठकसँग कविता सम्प्रेषणीय हुँदै गएका छन् ।
जहाँसम्म कविताको सौन्दर्य म¥यो भन्ने कुरा छ, यो गलत बुझाइ हो । सौन्दर्य न त जन्मन्छ, न त मर्छ । सौन्दर्य भनेको शाश्वत कुरा हो । कविताको प्राण भनेको नै सौन्दर्य हो । जसरी सास रहेन भने मान्छे– मान्छे रहँदैन, त्यसैगरी सौन्दर्यविहीन कविता कवितै हुँदैन । तर सौन्दर्यका बारेमा हामीले वृहत् बहस गर्ने बेला भएको छ । हिजोका दिनमा कविताको सौन्दर्यलाई जसरी व्याख्या गरिएको छ, हामीले बुझेको सौन्दर्यको दायरा अझै वृहत् छ ।
यो समयका कविहरुको छातीभरि आगोको भर्भराउँदो भुङ्ग्रो छ । दिमागमा पड्किन आँटेको बारुद छ । पाखुराबाट तुपतुप रगत चुहेर मसी बनेको छ । सम्पूर्ण शरीर नीलडामले भरिएका छन् । बोल्न खोज्दा चित्कार निस्कन्छ । आँखा खोल्दा ज्वाला निस्कन्छ । हातखुट्टामा बाँधेका सिक्रीहरुको छिन्द्रिङ्छिन्द्रिङ आवाज सुनिन्छ । जे सुन्यो, जे देख्यो, जे भोग्यो त्यही लेख्ने हो । के यस्तो बेला कविले रुमानी प्रेमका कविता मात्र लेख्न सक्ला त ? यी आवाजहरु समाजका प्रमुख आवाज हुन् । यस्ता कवितालाई हल्कासँग व्याख्या गरेनौँ भने नै हामीलाई जाति हुन्छ ।
५) तपाईंको कविता सङ्ग्रह ‘म स्त्री अर्थात् आइमाई’सम्म आइपुग्दा कविता यात्रामा तपाईंले के अनुभव गर्नु भयो ? तपाईं र तपाईंका समकालीनहरुले कस्ता कविता लेखिरहेका छौँजस्तो लाग्छ ?
मेरो कवितासङ्ग्रह “साँझको सङ्घारबाट” देखि “म स्त्री अर्थात् आइमाई”सम्म आइपुग्दा लागेको छ– निरन्तर साधना गर्नुपर्ने गम्भीर विधा हो कविता । हामीले जति धेरै साधना ग¥यो, त्यति राम्रो बन्छ कविता । कविता लेखिसकेपछि कवितैजस्तो लेख्नुपर्छ । हरेक मान्छेले जीवनमा एकपटक कविता कोरेकै हुन्छ तर सबै कवि बन्दैनन् । त्यही एकचोटि कविता लेख्ने मध्येकी एकजना म पनि हुँ । मैले निरन्तर कविता लेखेँ, लेखी नै रहेँ । सुरुका दिनमा कविता लेख्नु, मञ्चमा वाचन गर्नु, पत्रपत्रिकामा छाप्नु मात्र पनि ठूलो कुरा लाग्थ्यो । क्रमैसँग बुझ्दै गएँ कविता वाचन गर्न, छाप्नका लागि मात्र लेखियो भने कविताको नाममा अर्थोकै बन्छ तर कविता बन्दैन । कविता लेख्दा अरुलाई चित्त बुझाउने भन्दा पनि सर्वप्रथम आफूलाई चित्त बुझाउने गरी लेखिनुपर्छ । यसरी लेखियो भने कविताको नाममा अर्थोकै नलेखिएर कवितै लेखिन्छ ।
आजका दिनमा कविताले सामाजिक बहस गरिरहेका छन् । कोठामा बसेर फुरेका कविता मात्र लेखिएका छैनन् । विभिन्न धर्म, संस्कार, संस्कृति, रीतिथिति, बेथिति, भूगोल, राजनीति, इतिहासका थिति र बेथितिलाई समीक्षा गरेर कविता लेखिन थालिएको छ । यो सुखद् पक्ष हो । त्यति मात्र हैन कविता बुझिँदैन, असम्प्रेषणीय विधा हो, अनुत्पादक विधा हो भन्ने कविता माथिको आमधारणालाई चिरेर अगाडि आएको छ । हाम्रो समयको सबैभन्दा सशक्त विधा कविता नै बनेको छ । नेपाली साहित्यमा कविता लेखेरै रोयल्टी थाप्ने पुस्ता पनि शायद हामीहरु नै हौँला । ‘मेरो कविता पढिदिनुस्’ भन्दै निन्याउरो मुख लाएर कसैलाई कविताको किताब हातमा थमाइदिनु नपर्ने अवस्थामा पाइपुगेको पुस्ता पनि हाम्रै हो । गर्वका साथ भन्नसक्छु, नेपाली साहित्यमा कविताले आफ्नो दह्रो तागत देखाइरहेको छ । अझै दह्रो तागत देखाउने छ ।
मैले लेखेको कविताको विषय भनेको समकालीन समय नै हो । म महिला भएका कारणले समाजले हामीलाई हेर्ने आँखा र हामीले हामीलाई देखेको आँखा बीचको अन्तर र दुरीलाई लेख्ने प्रयास गरेकी छु । मेरो भोगाइ र मैले देखेको कुरा लेख्नुलाई आमसमाज नारीवादी लेखक भन्छ । यसमा गर्व छ । अपसोच त यसमा छ– मैले मेरो समाजलाई लेख्दा समाजको कुरीति, विकृति, विभेद लेखी भन्दैन । पुरुषका विरुद्धमा उभिई भन्छ ।
म आइमाई हुँ । आइमाई पनि मान्छे हुन् भनेर यो समाज, कानुन, धर्म, परम्परालाई सुनाउन कविता लेखेँ । यहाँ बिस्तारी बोलेको सुन्न कोही पनि तयार छैनन् । उनीहरुले सुन्ने गरी मेरा कविता ठूलो स्वरले बोलेका मात्र हुन् । क्रान्तिकारी भई भन्छन्, बुझक्कडहरु । म मात्र हैन अरु कविहरु पनि बिस्तारै बोलेको नसुन्नेहरुले सुनून् भनेर ठूलो स्वरका कविता लेखिरहेका छन् ।    
६) कवितामा आजका कविहरुले के गरिदिए हुन्थ्यो लाग्छ ? अनि तपाईंले चाहिँ कविताको भविष्यका लागि के गरे जस्तो लाग्छ ?
यही गरिदिए हुन्थ्यो भन्दा पनि कवितामा जे स्वर र आवाजहरु उठेका छन्, ती ठीक विषय छन् । अझै साधना गर्न सक्यौँ भने हिराझैँ चम्किने थिए कविता । नेपाली साहित्यमा उभ्याएका महिला पात्रहरुलाई पढ्दा मलाई सधैँ लागिरहन्छ– के ती पात्र साँच्चै महिला हुन् ? ती पात्र साँच्चैका महिला हुन् भन्ने मलाई लाग्दैन । महिलाको लुगा लगाइदिएका, महिलाका अंगप्रत्यांग टाँसिदिएर बाहिरबाट हेर्दा दुरुस्तै महिला देखिने तर भित्री संवेदना महिलाको नभएर धर्म, कानुन, समाज, मान्यता, विपरीत लिंगीले चाहेको आग्रहमाथि उभ्याइएको छ ।
महिलालाई दुई वटा ध्रुवमा उभ्याइएको छ । पहिलो प्रकारको महिला एकदमै सहनशील भएर समाजलाई सर्लक्क स्वीकार गर्नेलाई समाजले अत्यन्त प्रशंसा गर्छ । अर्को प्रकारको महिला समाजको विपरीत ध्रुवमा उभिएर समाजलाई औँलो ठड्याउनेलाई समाज अस्वीकार गर्छ । तर साहित्य र प्राज्ञिक बहसमा यस्ता महिलालाई राम्रो मानिन्छ । यी दुई ध्रुवको चेपुवामा महिलाहरु छन् । जहाँ महिलाको सक्कली रुप देख्न सकिएको छैन । महिलाको नदेखिएको त्यो रुपलाई मेरा कवितामा चिनाउने प्रयास गरेकी छु ।  
७) कवितामा शैली र विचारको अन्तरसम्बन्धको कत्तिको महत्व र भूमिका रहेको हुन्छ ?
कवितामा शैली र विचार भनेको मान्छेको अनुहार र शरीरजस्तो हो । अनुहार र शरीरको रङ, मोटाइ, आकारबीचको तादात्म्य जसरी मिलेको हुन्छ, त्यसैगरी शैली र विचार मिल्यो भने कविता सुन्दर बन्छ । जति पनि कविता लेखिन्छन्, सबै कविता अब्बल हुन्छ भन्न सकिँदैन । जस्तो आँपमा जति फूल फुल्छ, त्यति चिचिला लाग्दैनन् । जति चिचिला लाग्छन्, सबै पाक्दैनन् । कविता पनि त्यही हो । लेखिएका कति कविता लेख्दालेख्दै मर्छन् । कति कविताले केही समयको आयु तय गर्छन् । केही कविता मात्र आयुविहीन आयु बाँच्ने हुन् । यसरी बाँच्ने कविताले तपाईंले भनेजस्तो बोझ उठाउन सक्छन् ।   
८) कविहरुले गुट, उपगुटमा लाग्नु कतिको सान्दर्भिक लाग्छ ? कविताको बहस भइरहेको यो बेला यी झुण्डले कविताको भलाई नै गर्छन् कि ?  
यो गुट उपगुटको कुरा म त्यति जान्दिनँ । मलाई मेरो लेखन र धारणामा विश्वास छ । मेरो धर्म साधना गर्नु हो । म त्यही गरिरहेकी छु । कवितालाई साधनाले नै कविता बनाउने हो भन्ने मेरो बुझाइ छ ।

Leave A Comment