भरियादेखि मालिकसम्म

आइतबार, २५ असार २०७४, १२ : ५२ शुक्रवार , Kathmandu
भरियादेखि मालिकसम्म

खिलक बुढाथोकी
पर्यटन क्षेत्रले साधारण भरियालाई मालिक बनाउन सक्छ अनि सर्वसाधारणलाई उद्योगी । यसकै एक उदाहरण बनेका छन्, सिन्धुपाल्चोकको गुम्बा गाविसमा जन्मेका ४२ वर्षीय सोनाम शेर्पा ।
सामान्य किसानी परिवारमा जन्मेर अरुको घरमा गोठालो बसी हुर्र्किएका सोनाम यतिबेला पर्यटन व्यवसायी तथा समाजसेवी भनेर चिनिएका छन् । हिमाल सोनाम टे«क्स एन्ड एक्सपिडिसन सञ्चालन गरेर पर्यटन व्यवसाय चलाइरहेका सोनामले १० जनालाई रोजगार दिएका छन् । आफ्नो जन्मथलो तेम्पाथाङमा पनि सोनामले चलाएकोे व्यवसायको माध्यमबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा समाजसेवा पनि गरिरहेका छन् ।
बालापनमा पाँच लिटरको ग्यालिनमा पानी बोक्न सक्ने भएदेखि नै अरुको गोठमा गोठालो बसेर हुर्किएका सोनामले पढाइलाई औपचारिकता दिनै सकेनन् । ११ वर्षको कलिलो उमेरमा काठमाडौं प्रवेश गर्दाका ती कष्टपूर्ण दिन सम्झँदा उनी अहिले झस्किन्छन् । कलम समाउने कलिला हातले गलैँचा बुन्ने धागो समाउन पाउँदा सोनाम खुसीले गद्गद् भएका थिए रे ! उनी काम पाइयो भनेर खुसी भएका थिए । यसपछिका आठ वर्ष गलँैचा बुनाइमा नै रमाइरहे । यतिञ्जेल उनी उमेरले लक्का जवान भइसकेका थिए । त्यसैले पनि उनको घरपरिवारले कमाइको आशा गर्न थाल्यो । परिवारको जेठो छोरा भएकाले क्रमशः जिम्मेवारी पनि थपिन थाल्यो । जिम्मेवारी थपिएपछि गलैँचा बुनेको कमाइ घर पठाउने कि आफू खाने हुन थाल्यो । यस्तो अवस्थामा उनलाई विदेशीको भारी बोक्ने प्रस्ताव आयो । अन्ततः गलैँचा बुन्न छाडेर उनले विदेशीको भारी बोक्ने निर्णय गरे ।
सात वर्षसम्म उनले स्वदेशी तथा विदेशीको भारी बोके । पर्यटकले दिने गरेको टिपले उनलाई लोभ्याइरह्यो । अनुभवले उनलाई अगाडि बढ्न मद्दत ग¥यो । किचन ब्वाई, कुक, क्वालामिन गाइड हुँदै गाइडसम्म बन्दा पर्यटनमा सोनामले १२ वर्ष बिताए । नपढे पनि अंग्रेजी फरर... बोलेको देखेर गाउँले छक्क पर्थे । गाउँले मात्र होइन, विदेशीलाई समेत सोनामले अंग्रेजी बोलेरै आफ्नो नजिक बनाए । आफैँ आफ्नो समूह परिचालन गर्नसक्ने बने । कम्पनीले पनि सोनामलाई राम्रै विश्वास गर्दथ्यो तर पनि आफैँ कम्पनी सञ्चालन गर्ने सोचे । वि.सं. २०६२ सालमा उनले ‘हिमाल सोनाम ट्रेक्स एन्ड एक्सपिडिसन प्रा.लि.’ कम्पनी खोले । अहिले उनको कम्पनीले डोल्पा, मुस्ताङ क्षेत्रलाई प्राथमिकता राखेरा पर्यटकलाई घुमाउने काम गर्छ । कम्पनीले यातायातका साधन र टिकट बुकिङजस्ता सुविधा पनि दिइरहेको छ ।
सोनामको गाउँमा अहिले पनि गोठालो बस्ने प्रचलन छ । सोनामका केही साथीहरु भेडा, चौरी हेर्नैमा व्यस्त छन् तर सोनाम भने विदेशीहरुलाई आफ्नो गाउँ चिनाएर मात्र होइन, गाउँको विकास कसरी गर्न सकिन्छ भनेर सोच्दै दैनिकी बिताउने गरेका छन् । सोनामले आफ्नो गाउँमा पर्यटकीय सम्भावना देखेका छन् । विदेशीलाई आफ्नो गाउँठाउँमा पु¥याएर साथीहरुलाई पनि आफूजस्तै विदेशीको सेवामा जुटेर आर्थिक रुपमा सक्षम बनाउने उद्देश्यमा सोनाम निरन्तर लागिरहेका छन् । तेम्पाथाङ शेर्पा ट्रेकिङ भिलेज ट्रेक्स र इको हिमालय ट्रायल टे«क्स बनाएर सोनामले आफ्नो कम्पनीबाट विदेशी पठाउने काम गरिरहेका छन् । यो ट्रेक्समा विदेशी गएर हुने नाफा सोनाम लिँदैनन् । गाउँमा संस्था बनाएका छन, तेम्पाथान नेपमासल समाज । विदेशीबाट आएको नाफा यही समाजमा रहन्छ र गाउँको विकास तथा सामाजिक कार्यमा खर्च हुन्छ । समाजको अध्यक्ष सोनाम आफैँ छन् । उनले गाउँको विकास गर्न सक्दो पर्यटक पठाउने कोसिस गर्छन् । आफ्नो गाउँमा ग्रुप पठाउन पाउँदा सोनामलाई धेरै खुसी लाग्छ । यसैले उनी आफूलाई नाफा नै नराखी काम गरिरहेका छन् । उनी भन्छन्, ‘आफू जन्मेको गाउँको विकास गर्ने मेरो ठूलो उद्देश्य छ । हेरौँ कत्तिको गर्न सक्छु !’
भूकम्पले उनको गाउँ ध्वस्त भयो । सबै बासिन्दालाई काठमाडौं ल्याइयो । सोनामले त्यसबेला आवश्यक खाना तथा कपडाको व्यवस्था गरे । लामो समयसम्म निरन्तर सहयोग गरिरहे । अहिले उनी गाउँको पुनर्निर्माण अभियानमा जुटेका छन् । विदेशी दाता लगेर तेम्पाथाङको पूरै गाउँमा १४० वटा भूकम्प प्रतिरोधी घर बनाउने अभियानमा सोनाम लागेका छन् । २० पटक अमेरिका पुग्दा त्यहाँको प्रगति देखेर मख्ख परेका सोनामको चाहना नेपाल पनि अमेरिकाजस्तै बनोस् भन्ने छ । नेपालमा अथाह सम्भावना देखेका उनी नेपाली युवाले पढेर आफ्नै देशमा रहेका सम्भावनालाई व्यवहारमा उतार्ने हो भने नेपाल अमेरिका बन्ने कुनै समय नलाग्नेमा विश्वस्त छन् । 

Leave A Comment