जीवन बुझ्न घाटमा अक्षरयात्री

शनिबार, २४ असार २०७४, ०१ : ०० शुक्रवार , Kathmandu
जीवन बुझ्न घाटमा अक्षरयात्री

पोखराको रामघाट, घाटमा जलिरहेको छ लास र बालुवा चाल्ने तथा गिटी जम्मा गरेर जीवन धान्ने केही मजदुर, सुकुम्बासी बस्ती र नदीको मापदण्ड मिचेर घर बनाएका विषयलाई साहित्यकारले सिर्जनामा उतारेका छन् । सेती नदीसँग आश्रित व्यक्ति र दोहन हुँदै गइरहेको सेतीप्रति साहित्यकारले विम्बात्मक रुपमा सिर्जना कोरेका हुन् ।
निर्वाचित जनप्रतिनिधिलाई साँची राखेर शनिबार रामघाट र सेती नदी तथा वातावरणको अवस्थाका विषयमा कविले खबरदारी र सजग तथा जनचेतना जगाउने काम गरेका छन् । गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागरले पोखरा महानगरपालिकाको प्रवद्र्धन तथा वडा नम्बर ९ को समन्वयमा सेती नदी तथा वातावरण संरक्षणका लागि गरेको यस पटकको अक्षरयात्रामा कविहरुले रामघाटको विम्वलाई टिपेका हुन् ।
प्रकृतिको संरक्षणभन्दा दोहन बढी गरेकै कारण मानवीय क्षति बढ्दै गएको कवि तीर्थ श्रेष्ठले बताए । ‘प्रकृतिले हामीलाई बिगार्दैन, हामीले प्रकृति बिगार्छौं । नदीले हामीलाई यसै बगाउँदैन । हामी नदी, खोला मिचेर बस्छौं र नदीले बगायो भन्छौं,’ श्रेष्ठ भन्छन् ।
विशेष अक्षरयात्रीका रुपमा पोखरा आइपुगेका चितवनका कवि प्रशन्न घिमिरेले सिर्जना मान्छेमाथि मात्रै केन्द्रित भएको बताए । ‘हामीले सिर्जनामा मान्छेलाई केन्द्रमा राख्यौं । प्रकृतिलाई केन्द्रमा राख्नुपर्ने हो,’ कवि प्रशन्नले भने, ‘हामीले साहित्यमा पर्यावरणलाई त्यति समेट्न सकेका छैनौं ।’ आफ्नो अबको कृतिको एक खण्ड पर्यावरणलाई पनि छुट्याएको बताउँदै उनले पर्यावरणकै दुई वटा कविता सुनाए ।
‘साहित्यमा जीवन र जगत अटाउनुपर्छ । प्रकृति र त्यसमा आश्रित मान्छेलाई नजिकबाट नियालेर स्थलगत रुपमै सिर्जना कोर्न सकियोस् भनेर रामघाटमा अक्षरयात्रा गरेका हौं,’ गजल सन्ध्याका अध्यक्ष अमृत सुवेदीले भने, ‘साहित्यले समाज रुपान्तरण अझ बढी भूमिका खेल्नुपर्छ र यस्ता कार्यक्रमले स्थानीय मुद्दालाई बाहिर ल्याउनुपर्छ भनेर यसपटक रामघाटमा अक्षरयात्रा गरेका हौं ।’
वडा नम्बर ९ का अध्यक्ष रामराज लामिछानेले समाज, जीवन र प्रकृतिसँग जोडेर अक्षरयात्राले सिर्जनात्मक सचेतना र खबरदारी गर्ने काम गरेको बताए । ‘यस्ता कार्यक्रमले सिर्जनात्मक जागरण ल्याउने काम गरेको छ,’ लामिछानेले भने, ‘नदी, तालतलैया र प्रकृतिका पक्षमा यस्ता कार्यक्रमहरु हुँदै जानुपर्छ । यस्ता कार्यक्रमले हामी जनप्रतिनिधिलाई पनि सचेत बनाएको छ ।’
पोखरा वडा नम्बर ९ का सचिव लोकदर्शन कोइरालाले वडाले लामो समयदेखि सेती बचाउ अभियान चलाएको बताउँदै सबैको इच्छा शक्ति हुने हो भने सेतीलाई नुहाउन मिल्ने बनाउन सकिने बताए । ‘वडाले सेती संरक्षणका लागि थुप्रै अभियान चलाएको छ । त्यसमा यस्ता सिर्जनात्मक कार्यक्रमले थप ऊर्जा थप्ने र सजग बनाउने काम गर्छ ।’
नवनीत साहित्य सागरका अध्यक्ष लक्ष्मण थापाले साहित्यका माध्यमबाट खबरदारी र जागरण ल्याउन सकियोस् र जीवनलाई नजिकबाट बुझ्न यसले सहयोग गरोस् भन्ने हेतुले रामघाटमा कार्यक्रम गरेको बताए । अक्षरयात्रा १५ वर्षे तन्नेरी भइसकेको र यसले सिर्जनात्मक माध्यमबाट जागरण ल्याउन भूमिका खेलेको बताए ।
गजल सन्ध्या पोखराका पूर्व अध्यक्ष रुपीन्द्र प्रभावीले अक्षरयात्राले गाउँलाई चिनाउने, ताल तथा नदी संरक्षणलाई जोड दिएर सिर्जनात्मक अभियान चलाएको बताए । कार्यक्रममा ३५ जनाले कविता, गजल, मुक्तक, गीत लगायत रामघाटको अवलोकनपछि तत्स्थानमै कोरिएको सिर्जना सुनाएका थिए । कवि वसन्त चालिसे, भीम घिमिरे, डा. वसन्त गौतम, डा. चैतन्य अधिकारी, अल्पज्ञानी, सञ्जीव पौडेल, कपिल शर्मा, विर्सना बस्नेत, विकास मगर, गौरी तमु, रीता अधिकारी, चन्द्रावती वाग्ले, शितल गिरी,  सविता सापकोटा, बालिका अभिलाषी, थापा योगमाया, सोम लम्साल, ध्रुव बराल, वसन्त विनोद, संगम भट्टराई, माया कुँवर, मिर्मिसा पराजुली, खिम लामिछाने, रीता लामिछाने, ज्वलन्तप्रेमी, केआर ढकाल, हिम्मत केसी, अर्जुन नेपाल लगायतले रचना वाचन गरेका थिए ।
‘जीवन र जगतको यथार्थबोधका लागि अक्षरयात्रा’ भन्ने मूल नारा र साहित्यिक पर्यटनको अवधारणालाई आत्मसात गर्दै गजल सन्ध्या र नवनीतले प्रत्येक महिनाको तेस्रो शनिबार साहित्यिक अभियान चलाउँदै आएको छ ।

 

Leave A Comment