युगको ‘माङ्गेना’ सार्वजनिक

बिहिबार, २२ असार २०७४, ०२ : २५ शुक्रवार , Kathmandu
युगको ‘माङ्गेना’ सार्वजनिक

लेखक युग पाठकको नयाँ कृति ‘माङ्गेनाः नेपाल मन्थन’ सार्वजनिक भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा चिन्तक प्रदीप गिरी, समाजशास्त्री बालकृष्ण माबुहाङ, कवि निभा शाह र लेखक पाठकले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे ।
कवि शाहले लेखक पाठकले नेपाल प्राचीन थियो भन्ने कुरा गलत हो भनेकोमा आफ्नो समर्थन रहेको बताइन् । ‘नेपाल कहिले प्राचीन थियो भन्ने कुरा कहिँकतै खुलेको छैन,’ शाहले भनिन्, ‘पुस्तकमा वर्ग संघर्षको कुरा उठान गर्नुभएको छैन तर माक्र्सवादलाई चाहिँ प्रस्तुत गर्नुभएको छ ।’
माबुहाङले युगको पुस्तकका सबै पक्ष राम्रो भए पनि पुस्तकको ‘नेपाल एक नक्सा, एक अवधारणा’ले पुस्तकको सबै अंशलाई समेटेको बताए । ‘पुस्तकमा राज्यको ऐनामा सबै मुद्दा मुखारित हुन्छ हुँदैन भन्ने लेखकले प्रस्तुत गरेका छन् । त्यस कारण पनि यो पुस्तक आम पाठकका लागि महŒवपूर्ण हुन सक्छ,’ माबुहाङले भने ।
चिन्तक गिरीले राष्ट्रियताका सवालमा विविध प्रश्नको उठान गरेकाले पुस्तक पढ्न लायक रहेको बताए । ‘राष्ट्रियतालाई सबैले आफ्नै किसिमले व्याख्या गरेका छन् । यस पुस्तकमा पनि पाठकले आफ्नै शैलीको व्याख्या गरेका छन्,’ गिरीले भने, ‘पुस्तकले राष्ट्रियताको सवालमा युवा वर्गलाई मार्ग देखाउनेछ ।’
लेखक युगले अघिल्लो पुस्तकझैं नयाँ पुस्तक पनि पाठकका लागि रुचिकर हुने आशा व्यक्त गरे । पुस्तकलाई फाइन प्रिन्टले प्रकाशन गरेको हो ।

 

Leave A Comment