फेसबुकबाट धार्मिक निन्दा गर्नेलाई मृत्युदण्ड

मङ्गलबार, २० असार २०७४, १२ : ५७ शुक्रवार , Kathmandu
फेसबुकबाट धार्मिक निन्दा गर्नेलाई मृत्युदण्ड

फेसबुकमा निन्दा तथा घृणाजन्य सामग्री पोस्ट गरेको अभियोगमा एक व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाइएको छ । इस्लाम धर्मका प्रवर्तक मोहम्मदबारे फेसबुकमा आपत्तिजनक टिप्पणी गरेको अभियोग लागेका तैमुर राजा नामक व्यक्तिलाई पाकिस्तानको एक अदालतले मृत्युदण्डकोे फैसला सुनाएको हो ।
सोसल मिडियासँग सम्बन्धित मुद्दामा कुनै अभियुक्तलाई मृत्युदण्डको फैसला गरिएको यो सायद पहिलो घटना भएको बताइएको छ । उता फेसबुकमा लेखेको विषयलाई लिएर मृत्युदण्ड दिने फैसलाको विषयमा मानव अधिकारवादीहरुले चासो व्यक्त गरेका छन् । यस विषयमा फेसबुक आफैंले चाहिँ कुनै टिप्पणी गरेको छैन ।
गत मार्चमा फेसबुकले एक जानकारी दिँदै पाकिस्तानमा फेसबुकका घृणाजन्य सामग्रीसम्बन्धी सरकारी चासोलाई सम्बोधन गर्न एक टोली पाकिस्तान पठाउन लागेको जनाएको थियो । तर आफ्ना प्रयोगकर्ताको गोपनीयता तथा अधिकारको रक्षा गर्ने अझै पनि आफ्नो इच्छा रहेको फेसबुकको भनाइ थियो ।

धार्मिक निन्दा गर्ने विषयलाई क्षमा गर्न नसकिने अपराध रहेको पाकिस्तानी प्रधानमन्त्रीले बताउने गरेका छन् । पाकिस्तानको राजधानी इस्लामावादभन्दा ४ सय ९८ किलोमिटर टाढा रहेको बहावालपुरस्थित आतंकवादविरोधी अदालतले अभियुक्त राजामाथिको मुद्दामा सुनुवाई गरेको थियो ।
अभियुक्तका वकिलका अनुसार राजाले फेसबुकमा कुनै अमूक व्यक्तिसँग इस्लाम धर्मबारे बहस गरेका थिए । राजाले धर्मबारे बहस गरेका व्यक्ति अन्ततः आतंकवादविरोधी निकायका सरकारी अधिकारी भएको खुलेको वकिलको भनाइ छ ।
सरकारी वकिलहरुका अनुसार बस स्टपमा आफ्नो फोनबाट धार्मिक निन्दायुक्त भाषण तथा अडियो सामग्रीहरु सुनाएसँगै उनलाई पक्राउ गरिएको थियो । पछि उनको फोन बरामद गरेर अनुसन्धान गरिएको थियो ।
आफूमाथिको मृत्युदण्डको फैसलाविरुद्ध राजाले लाहोर उच्च अदालत तथा अन्त्यमा पाकिस्तानको सर्वोच्च अदालतमा पनि पुनरावेदन गर्न सक्नेछन् ।
स्मरण रहोस्, केही दिनअघि सोसल मिडियामा धार्मिक निन्दायुक्त सामग्री पोस्ट गरेको अभियोगमा एक प्राध्यापकमाथि पनि मुद्दा चलेको थियो र उनलाई धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको थियो ।
एम्नेस्टी इन्टरनेसनलले मृत्युदण्ड सुनाइएका तैमूर राजालाई तत्कालै रिहा गर्न पाकिस्तान सरकारसँग आग्रह गरेको छ । सोसल मिडियामा निन्दा गरेको अभियोगमा कसैलाई मृत्युदण्ड दिनु अन्तर्र्रािष्ट्रय मानव अधिकारको उल्लंघन भएको र यसले खतरनाक नजिर बसाल्ने पनि एम्नेस्टीले जनाएको छ ।
अनलाइनमा आफ्नो वाक् स्वतन्त्रता, विचार अभिव्यक्तिको स्वतन्त्रता तथा धर्म र विश्वासबारे राखेको विचारकै आधारमा कसैलाई आतंकवादविरोधी अदालतमा हुल्न नहुने एम्नेष्टीको भनाई छ ।

 

Leave A Comment