‘महिला फ्यान बिनाको हिरो के हिरो ?’

मङ्गलबार, २० असार २०७४, १२ : १२ अनिल यादव , Kathmandu
‘महिला फ्यान बिनाको हिरो के हिरो ?’

भुवन केसीलाई आठ अभियोग

 

नेपाली फिल्म दर्शकका लागि भुवन केसी निकै परिचित नाम हो । उनी कला क्षेत्रमा लागेको ३५ वर्ष भइसक्यो । सदाबहार अभिनेताका रुपमा चिनिएका उनी बेलाबेला विविध कारणले चर्चा र विवादमा आउने गर्छन् । उनीबारे नेपाली फिल्म क्षेत्रमा सुनिने कुराका आधारमा अनिल यादवले उनलाई आठ अभियोग लगाएका छन्, जसको सफाइ उनले यसरी दिए :

१ तपाईंलाई ‘महानायक’ नभनिएकोमा ठूलो रिस छ । त्यसैले कहिलेकाहिँ यो रिस फेर्न तपाईं राजेश हमालप्रति व्यंग्य गर्नुहुन्छ ।
धेरै अवार्ड समारोहमा मलाई सुपरस्टार भनेर सम्बोधन गरिन्छ । सुपरस्टार भनेर अवार्ड दिनुभएको छ । खासमा सुपरस्टार भनेकै महानायक हो । कतिपयलाई यी दुइटा शब्द फरक–फरक हो कि जस्तो लागेको छ । खासमा भाषा मात्र फरक हो, कुरा एउटै हो । अर्को कुरा मैले कहिल्यै पनि कुनै पनि स्टारका बारेमा नकारात्मक टिप्पणी गर्ने गरेको छैन । कुनै कलाकारलाई महानायक अथवा सुपरस्टार भनिन्छ भने उसले त्यसलाई जिम्मेवारी र सम्मानको रुपमा वहन गर्नसक्नु पर्छ । सुपरस्टार भएपछि सुपरहिट फिल्म दिनु नितान्त आवश्यक हुन्छ । सुपरहिट फिल्मबिना कोही पनि महानायक हुन सक्दैन । मलाई कसैसँग ठूलो रिस छ भन्नुचाहिँ भ्रम मात्र हो किनभने म धेरैको नजरमा महानायक नै हुँ ।


२ तपाईं महिलाप्रति हदैसम्म आशक्त हुनुहुन्छ । उमेर ढल्किँदै गए पनि तपाईंको त्यो आशक्ति घटेको छैन ।
म कुनै डाक्टर होइन, म कुनै इन्जिनियर होइन, न म कुनै आर्मीको जनरल होइन । मेरो जागिर, मेरो काम भनेकै हिरो हुनु हो । फिल्मको ग्ल्यामरस हिरो ! त्यसमाथि म त बढी रोमान्टिक र सेन्टिमेन्टल फिल्म खेल्ने मान्छे । मलाई त के लाग्छ भने यदि कोही हिरोको महिला फ्यान धेरै हुँदैनन् भने त्यो हिरो नै हुन सक्दैन । एउटा पपुलर हिरोका लागि महिला फ्यान एकदमै आवश्यक हुन्छ । त्यसको अर्थ हाम्रो फ्यानहरु वृद्धवृद्धा, बालबालिका हुँदैनन् भन्नेचाहिँ होइन तर हिरोका लागि महिला फ्यान, हिरोइनका लागि पुरुष फ्यान भएन भने त्यो हिरो–हिरोइन के हिरो–हिरोइन ? मलाई जहाँ गए पनि महिला फ्यानहरुले बढी घेर्नुहुन्छ । त्यसैले स्वभाविक रुपमा महिलासँग नजिक देखिन्छु । यसरी देख्नेहरुले विभिन्न हिसाबले टिकाटिप्पणी गर्नु भएको मात्र हो ।  

३ मदिरा भनेपछि तपाईं हुरुक्कै हुनुहुन्छ ।
यो चाहिँ तपाईंलाई कसले सुनायो कुन्नी  ! म मदिरा खाँदै नखाने त होइन  तर म मदिरा भनेर कहिल्यै हुरुक्क हुन्न । मसँग संगत नगरेका मान्छेहरुले मलाई यस्तो आरोप लगाएर उडाएका हुन सक्छन् । रक्सी मलाई खानैपर्छ भन्ने अनिवार्य होइन । कुनै पाटी, समारोहमा जाँदा साथीभाइले ‘ल रमाइलो गरौं न त, सेलिब्रेट गरौं’ भन्दाखेरी खाने मात्र हो । खाँदै नखाने होइन तर थोरै मात्रामा । रक्सी खाएर कहिले लागेको मलाई थाहा छैन किनभने थोरै खाएपछि लाग्ने कुरै भएन । बरु मलाई धूमपान बढी खानुहुन्छ भन्ने अभियोग लगाएको भए सुहाउँथ्यो । म धुमप्रान असाध्यै धेरै गर्छु । चाहेर पनि छोड्न सकिरहेको छैन । कोसिस गरिरा’को छु छोड्ने । यो मदिराको आरोप चाहिँ सरासर झुट र कपोकल्पित र बदनियतपूर्ण आरोप हो ।

 ४ तपाईं अवसरवादी हुनुहुन्छ । आफूलाई फाइदा हुने भयो भने तपाईं जे पनि गर्न तयार हुनुहुन्छ । राजनीतिमा तपाईंको प्रवेश त्यही अवसरवादिताको अभिव्यक्ति हो ।
राजनीतिमा मलाई वरिष्ठ नेताले नै निमन्त्रणा गर्नुभएको हो । एमालेका वरिष्ठ नेताहरु केपी ओली, माधव नेपाल, वामदेव गौतमले तपाईंहरु जस्तो स्टार कलाकार राजनीतिमा आउनुप¥यो भनेर अफर गर्नुभएको थियो । म कुनै मन्त्री, सभासद बन्ने लोभले राजनीतिमा छिरेको पनि होइन । कालाकाला चिल्लाचिल्ला गाडी चढ्ने लोभले पनि होइन । हुनै नसक्ने खोक्रो भाषण दिन पनि होइन । खासमा हामीले सानैदेखि राजनीतिलाई देख्दै, बुझ्दै आएको छु ।  देशमा धेरै व्यवस्थाहरु परिवर्तन भए । जो नेता आए पनि देशलाई यो गर्छु, यस्तो बनाउँछु भनेर आश्वासन मात्र दिए । अब चाहिँ केही होला कि भन्दाभन्दै, आश गर्दागर्दै, भाषण सुन्दासुन्दै म बूढो हुन लागिसकेँ । यो भाषण गर्ने मान्छेले भाषण मात्र गर्दारहेछन्, देश चाहिँ खासै बनाउँदा रहेनछन् भन्ने कुरा मैले अहिले आएर महसुस गरिसकेँ । कला क्षेत्रमा कला बुझेको मान्छे आउनुपर्छ भन्ने हेतुले म राजनीतिमा लागेको थिएँ । मलाई एमालेले काठमाडौंको एक नम्बर क्षेत्रको टिकट दिएको पनि हो तर मैले भोलिपल्ट टिकट फिर्ता गरेको हुँ । कतिपयले टिकट नपाएको हल्ला गरे । त्यो गलत थियो । पछि म समानुपातिक उम्मेदवारको हिसाबले पूर्व मेचीदेखि महाकालीसम्म प्रचारप्रसारमा लागेँ । यदि म अवसरवादी भएको भए त त्यतिबेला सबैभन्दा ठूलो पार्टी माओवादी थियो । सबै कलाकार त्यतैतिर लागेका थिए तर म किन गइनँ त ? एमाले त त्यतिबेला थर्ड पार्टी थियो । म पुगेपछि सेकेन्ड पार्टी भएको हो । मेरो योगदानले पनि मद्दत गरेको छ । मेरो फ्यानका पनि भोट आएका होलान् । खासमा अवसरवादी म होइन, बरु को होला भनेर चिन्ने बेला आएको छ । मैले पार्टीमा मलाई यो दे, त्यो दे भनेर कहिल्यै मागेको छैन ? अनि कसरी म अवसरवादी ? यत्रो योगदान दिने मान्छेलाई यो अभियोग त मन दुखाउने अभियोग भयो नि । होइन र ?

५ नेपाली फिल्ममा तपाईंको छोराको युग आइसक्यो तर तपाईं अझै यो कुरा स्वीकार्न चाहनुहुन्न । तपाईं नयाँ पुस्ताको क्षमतालाई असाध्यै कम आँक्नुहुन्छ ।
यो सरासर झुटो आरोप हो  । मेरालागि राजेश हमाल पनि नयाँ पुस्ता हुन् । निखिल, आर्यन पनि नयाँ पुस्ता हुन् । जतिबेला मैले अभिनय गर्न थालेँ त्यतिबेला हामी केही साथीहरु नेपाली सिनेमाको गोरेटोमा लालटिन बाल्दै अघि बढेका थियौं । त्यसको ८–१० वर्षपछि राजेशजी आउनुभयो । उहाँ आएर पनि खुसी छु । त्यसपछि निखिल, आर्यन, विराजजी आउनुभयो । अहिले अनमोल आइपुग्यो । म त खासमा नेपाली फिल्म क्षेत्रको अभिभावक होे । तेन्जिङ शेर्पाले पहिलोपल्ट सगरमाथामा झण्डा गाडेपछि धेरै मान्छेहरुले झण्डा गाडे तर तेन्जिङ शेर्पाले अरुले पनि झण्डा गाडे भनेर कहिल्यै रिस व्यक्त गर्नुभएन । उहाँले जसरी धेरै मान्छेले सगरमाथा चढोस् भन्ने सोच्नुभयो, मैले पनि नयाँ भाइहरु आउँदा गर्व गर्छु । हिजो हामी गारेटो बाटोमा हिँडेका थियौं, आज नयाँ पुस्ता सिक्स लेनको बाटोमा हिँडिरहेको छ । यो खुसीको कुरा हो ।

 ६ तपाईंको अचाक्ली जुवाप्रेम कहिल्यै छुट्न सकेन । यही कारणले तपाईंलाई ‘जुवाडे’ भन्नेहरु पनि छन् ।
त्यो चाहिँ कसरी यस्तो आरोप लगाए भन्ने मलाई थाहा छैन । जुवा पनि म खासै खेल्ने मान्छे होइन । जुवासँग मलाई नफरत छ । दसैंतिहारमा मनोरञ्जन गर्नका लागि खेलियो होला । त्यो हाम्रो कल्चर पनि हो तर चाडपर्वमा रमाइलो गर्नेलाई जुवाडे भन्न मिल्दैन । बाह्रमासे बाह्रैकाल जुवा खेल्ने पो जुवाडे हो त !

७ अब अभिनय गरेर टिक्न सकिँदैन भन्ने लागेपछि तपाईं निर्देशनमा आउनुभएको हो ।  
म कलाकार भएकै ३५ वर्ष भइसक्यो । यत्रो वर्षभित्र मैले कलाकारितामा धेरै उतारचढाव भोगेँ तर मैले कहिल्यै विदेश पलायन हुने सोचिनँ, कहिल्यै अर्को फिल्डमा गइनँ । चाहे निर्देशन, चाहे निर्माण, चाहे अभिनय जसरी भए पनि निरन्तर एउटै क्षेत्रमा लाग्नु ठूलो कुरा हो जस्तो लाग्छ । यो भन्दा ठूलो योगदान के हुनसक्छ र ? अहिले आएर मेरो छोरालाईसम्म यही क्षेत्रमा लगाएको छु । जबकि वरिष्ठ नेता भनाउँदाका छोराछोरी देशमा भविष्य नदेखेर विदेश पढ्न गइरहेका छन् । मैले त अनमोललाई ‘मैले नगरेको कुरा तिमीले गर्नुपर्छ’ भनेर यो क्षेत्रमा लगाएँ । यस्तो मान्छेलाई तपाईं के भनेर संज्ञा दिनुहुन्छ ? जसरी अभिनयमा टिक्न नसकेर निर्देशनमा आएको भन्ने कुरा छ, त्यो गलत हो । अहिले अनमोलले स्टारडम बनाएको अवस्था छ । उसका कारण फिल्मको व्यापार उक्सिरहेको छ । त्यसैले म आफ्नो अभिनयलाई केही समय रोकेर उसका लागि समय दिइरहेको छु तर म अब चाँडै अभिनयमा फर्कदैछु । म जब आउँछु त्यतिबेला अहिलेका अग्रज कलाकारहरु जसरी एउटै सिन अर्थात् सानो गेस्ट रोलमा आएर दर्शकलाई बोर गर्ने काम गर्दिनँ । म ड्यासिङ फिल्म नै खेल्छु ।


८ पैसाको मामिलामा तपाईं ‘किफायती’ हुनुहुन्छ । तपाईंसँग काम गरेकाहरू पारिश्रमिक नपाएको गुनासो गर्छन् ।

एकजना मान्छे प्रमाणसहित लिएर आउनुहोस्, मैले एक लाख तिर्नुछ भनेर कोही प्रमाणसहित आउँछ भने म पाँच गुणा बढी दिने भएँ तर यहाँ गफ गर्ने, पछाडि कुरा काट्नेका कमी छैन । जहाँसम्म किफायतीको कुरा छ, किफायती त जो पनि हुन्छ नि ! हावामा पैसा उडाउनलाई म स्मगलर होइन, चिठ्ठा पनि परेको छैन क्यारे । दुःख गरेर कमाउँछु, त्यहीअनुसार खर्च गर्छु ।

Leave A Comment