‘असफलताबाट दुःखी हुनुहुँदैन’

सोमबार, १९ असार २०७४, ०४ : ०३ दिलीप पौडेल , Kathmandu
‘असफलताबाट दुःखी हुनुहुँदैन’

भारतको मुम्बई विश्वविद्यालयबाट व्यवस्थापनमा स्नाकोत्तर गरेका युवा प्रसुन जलन लन्डनको इन्भेस्टमेन्ट बैंकको जागिर छाडेर ज्वेलरी व्यवसायमा छन् । ऊर्जा भेन्चर्स प्रालिका निर्देशक जलनले काठमाडौँको दरबारमार्गमा गीताञ्जली ज्वेलर्स सञ्चालन गर्दै आएका छन् । निर्देशक जलनसँग नेपालमा गहना व्यापारको अवस्था, बजार, अवसर र चुनौतीको बारेमा शुक्रबारका लागि दिलीप पौडेलले गरेको कुराकानीः
कसरी यो व्यवसायमा आउनु भयो ?
विदेशबाट अध्ययन गरेपछि विदेशको एक बैंकमा जागिर खाएँ । हामी मारवाडीहरुको व्यापार पुस्तैनी पेसा हो । विदेशबाट आउँदा नेपालमा गहनाको ठूलो बजार रहेकाले बुबाहरू अन्य व्यवसाय गरिरहेको भए पनि गहना पसलमा मैले पहिलो पटक हात हालेँ । नेपालको अर्थतन्त्रमा सुधारसँगै उपभोक्ताले विलासिताका सामान गाडी, गरगहना प्रयोग गर्ने बढेका छन् । त्यसैले ज्वेलरीको राम्रो सम्भावना देखेर यस क्षेत्रमा लगानी गरेको हुँ ।
ज्वेलरी व्यवसाय कस्तो छ ?
गीताञ्जलीमा दुई किसिमका ज्वेलरी पाइन्छ । हिरा (डायमण्ड) र सुन (गोल्ड)का गहना । हामीले २२ क्यारेटको सुनका गहना बनाउँछौँ । बजारमा जानुभयो भने उस्तै प्रकारका डिजाइन हुन्छन् तर हाम्रो पसलमा फरक छ ।  एक चोटी बनाएपछि दोहोर्याएर उस्तै डिजाइनका गहना बनाउँदैनौं । बजारमा लाखौं डिजाइन छन् । अनुसन्धान गरेर उपभोक्ताको रुचिअनुसार सन्तुष्टि दिने आफ्नै कालिगढले बनाएर बिक्री गरिरहेका छौं । हिराका गहना धेरै महँगो भएकाले कम आम्दानी भएकाले लगाउन सक्दैनन् भन्ने बुझाइ छ तर हामीले न्यूनतम १० हजार रुपैयाँदेखि हिराका गहना बिक्री गर्छौं ।
कुन वर्गलाई लक्षित गर्नु भएको छ ?
हामी कहाँ दुई किसिमका ग्राहक छन् । एउटा रहर मात्र पूरा गर्ने । अर्को गुणस्तरीय सामान लिने । हामी कहाँ आउनेले सस्तो मूल्यमा गुणस्तरीय सामान लैजान सक्छ । विभिन्न पेसामा काम गर्नेले लगाउने भए पनि युवतीको आकर्षण हिराका गहनामा छ ।
गहना किन्दा के कुरामा ध्यान दिनुपर्छ ?
आम प्रयोगकर्ताले मूल्यलाई प्राथमिकतामा राख्छन् । त्यसो नगरी गुणस्तर र डिजाइनमा ध्यान दिनुपर्छ । कुन गुणस्तर र क्यारेट प्रयोग गरिएको छ त्यसमा मूल्य भर पर्छ । सुनको जस्तो हिराको मूल्य सरकारले तोकेको हुँदैन । उपभोक्तासँग गुणस्तर मापन गर्ने यन्त्र नभएकाले विश्वासिलो ज्वेलरीमा मात्र किन्नु पर्छ । हामीले वारेन्टी गर्छौं । गहना सम्पत्ति भएकाले सकेसम्म जोड्नु नै राम्रो हुन्छ ।
उपभोक्तालाई नयाँ स्किम केही छ कि ?
हामीले अन्तर्राष्ट्रिय बजारमा चलेका फेसनका गहना उपलब्ध गराउँछौं । बेस्ट सेलिङ डिजाइन दिएका छौं । थोरै पैसा छ भनेर खुम्चिएर बस्नु पर्दैन ।  ग्लोबल आइएमई बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, नबिल बैंकका क्रेडिट कार्ड होल्डरलाई जिरो प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा गहना दिने व्यवस्था मिलाएका छौं । १८ महिनासम्म किस्ताबन्दीमा रकम तिर्न सक्छन् । अहिले गहना लगाउने र बिस्तारै तिर्दै जाँदा हुन्छ ।
बजारमा प्रतिस्पर्धा कस्तो छ ?
निकै प्रतिस्पर्धा छ । गुणस्तरमा प्रतिस्पर्धा हुनु पर्नेमा ग्राहकले पनि पैसामा ध्यान दिएका छन् । अहिले सुनका गहना परम्परागत भए । गोल्ड ज्वेलरी हिन्दी टिभी सिरियल हेरेर किन्न आउने गरेका छन् । युवाले सुनमा एन्टी पोलिस गर्यो भने रुचाउँछन् ।
यो व्यवसायका समस्या केके देख्नुहुन्छ ?
गहना बनाउन कामदार अभाव छ । कालिगढलाई तालिमको व्यवस्था गरे स्वदेशमै ठूलो रोजगारीको सम्भावना छ । उपभोक्ता गुणस्तरभन्दा मूल्यमा ध्यान दिँदा अस्वस्थ्य प्रतिस्पर्धा बढेको छ । नेपालमा हलमार्किङ सेन्टर छैन । गुणस्तर निर्धारण गर्न हल मार्किङ सेन्टर आवश्यक छ । ज्वेलरी व्यवसायलाई व्यवस्थित गर्न नीतिगत अस्पष्टता छन् ।
विदेश निर्यातको सम्भावना के छ ?
अध्ययन, रोजगारीको लागि विदेश जाने नेपालीले गहना खरिद गरेर लैजान्छन् तर औपचारिक च्यानलबाट गहना निर्यात गर्न सरकारले बाटो खोलेको छैन । निर्यात खोल्नुपर्छ । नेपाली ज्वेलरीको अन्तर्राष्ट्रिय बजारमा अवसर छ ।
कस्ता चुनौती छन् ?
ग्राहकलाई सुसूचित गर्नुपर्ने छ । मूल्य घट्यो भने किन्ने र बढ्यो भनेर बिक्री गर्ने प्रचलन छ । ज्वेलरी बेचेर सेयर किन्ने गर्छन् । ज्वेलरी किनबेच गरिरहने व्यापार होइन । यो सम्पत्ति हो, दुःखमा काम लाग्छ ।
व्यवसाय गर्न चाहनेलाई के सुझाव छ ?
व्यवसायमा कहिलै पनि असफल (फेलियर) भएँ भनेर दुःखी हुनुहुँदैन । जोखिम र घाटा दुवै हुनसक्छ तर त्यसबाट अनुभव लिएर बिस्तारै फाइदा हुन्छ । बिजनेस सर्ट–टर्म गेम होइन । हतारिएर गर्नु हुँदैन । धीरताका साथ निरन्तर मिहिनेत गरेपछि प्रतिफल मिठो आउँछ ।

 

Leave A Comment