‘हाम्रो श्रमको सम्मान कहिले हुन्छ ?’

सोमबार, १९ असार २०७४, १२ : १३ अच्युत काेइराला , Kathmandu
‘हाम्रो श्रमको सम्मान कहिले हुन्छ ?’

रामचन्द्र अधिकारी फिल्म उद्योगमा देखापरेकै साढे तीन दसक कटिसकेको छ । उनी अझै कलाकारितामा सक्रिय छन् । उनको व्यस्तता कम भएको छैन र होस् भन्ने पनि चाहना छैन । गएको साता उनी ‘शुक्रबार’ कार्यालय आइपुग्दा नातिसमेत ल्याएका थिए, भने, ‘भर्खरै एसइईमा ‘ए’ श्रेणीमा पास भयो, कलेजमा भर्ती गराउन लिएर हिँडेको !’ नातिलाई हेर्दै केहीबेर टोलाइरहेका पाका कलाकार अधिकारीले थपे, ‘कुन बेला यी हुर्किए, पत्तै पाइनँ ।’ टेलिभिजनका पर्दामा दर्शकहरुलाई पेट मिचिमिची हँसाइरहेका अधिकारीसँग अच्युत कोइरालाले गरेको अन्तरङ्ग कुराकानीः

तपाईं १७ वर्षकै उमेरमा दूर सञ्चार समिति (हालको नेपाल टेलिकम)मा जागिरे हुनुभो हगि ? जागिरको अवधि त सकियो होला !
हो नि ! २०२८ सालमा म जागिर खान छिरेको थिएँ ।
तपाईं अहिले पनि जसले जे अह्रायो, त्यो काम गर्ने हुनुहुन्छ, त्यो बेला त झन्... !
म सोझैँ थिएँ हजूर । जल्ले अह्राए पनि म काम गरिदिन्थेँ । त्यसैले सबैले मन पराउनु हुन्थ्यो । मेरो सोझोपन देखेरै एक जना सुब्बा सा’पले मुम्बईमा गएर फिल्म खेल्न गए हुन्थ्यो भन्नुभयो । उहाँलाई मैले खेल्न पाए त हुन्थ्यो नि भनेँ । अनि त एउटा चिठ्ठी पनि आरके स्टुडियोमा लेखेर पठाउनु भयो । पछि त ठेगाना नमिलेर हो कि के कारणले हो, त्यो चिठ्ठी फर्किएर आयो । त्यो सुब्बासा’पले भन्नुभएको कुरा पछिसम्म दिमागमा खेलिरह्यो ।
अभिनय चाहिँ कुनबेलादेखि गर्नुभयो ?
२०३६ सालमा खुला ठाउँमा बौद्धमा नाटक भइरहेको थियो । मैले चिन्ने एक जना निर्देशक हुनुहुन्थ्यो, परिच्छिद ढुंगाना । उहाँले खेल्छौ भन्नुभयो, मैले हुन्छ भनेँ । अनि त त्यो बेलादेखिको नाटक र अभिनयले अहिलेसम्म छोडेको छैन ।
तपाईं त पहिल्यैदेखि गुटमा लाग्ने मान्छे, नीर शाहको मान्छे, कृष्ण मल्लको मान्छे...
त्यसो होइन हजूर, नाटकमा अभिनय गर्न मन लाग्ने । त्यो बेला नीर शाह, रमेश बुढाथोकी, लय संग्रौला, कृष्ण मल्लहरुको निकै सशक्त नाट्य टोली थियो । म सजिलो मान्छे थिएँ । काम त म जे पनि गर्थें । अनि उहाँहरुसँग जोडिएँ । २०३६ देखि २०३८ सालसम्म नाटकमा निकै खटियो । हरिप्रसाद रिमाल, कृष्ण मल्ल, राजेन्द्र शलभजस्ता व्यक्तित्वका नाटक खेलियो ।
फिल्ममा चाहिँ कसरी आउनुभयो ?
२०३९ सालमा विनोद बाबु (चौधरी)ले चार वटा फिल्म बनाउने भनेर एकैचोटि ७५ लाख लिएर आउनुभयो । सुरुमा बन्ने भो, ‘वासुदेव’ । मैले क्याम्पसको एकाउन्टेन्टको भूमिका पाएँ । साह्रै खुसी लाग्यो । म फिल्ममा अभिनय गर्न मुम्बई जाने सोच बनाएको मानिस, यहीँ फिल्ममा अभिनय गर्न पाइयो । एकै टेकमा मेरो अभिनय ओके भयो । मलाई त डर लागेको थियो, अभिनयका हस्ती हरिहर शर्मासँग अभिनय गर्नुपर्ने ! के होला भनेर मुटु ढुकढुक थियो तर निर्देशकले एकै पटकमा ओके भन्नुहुँदा त विश्वास नै लागेन ।
यो फिल्मले त विनोद चौधरीलाई तर्साएर फिल्म उद्योगबाटै भगायो नि ?
मुम्बईबाट सहायक क्यामेरामेनदेखि संगीतकार रञ्जीत गजमेर, फिल्म सम्पादन गर्न तुलसी घिमिरे आदि आउनु भएको थियो । खर्च बढी थियो । फिल्म खिच्न पनि निकै लामो समय लाग्यो । कहिले क्यामेरा बिग्रिने, कहिले के नमिल्ने, कहिले के हुने । साह्रै सकसपूर्ण तरिकाले फिल्म खिचिसकियो । पहिलो फिल्ममै सोचेभन्दा बढी ४०/५० लाख खर्च भयो । फिल्म रिलिज गर्न पनि समय लाग्यो । यसले उहाँहरुले सोचेजस्तो फिल्म उद्योगमा टिक्न सक्ने देख्नु भएन होला ।
तपाईं जागिर पनि खाने र फिल्म पनि खेल्ने कसरी गर्नुभयो नि ?
४० वर्षे जागिरमा मैले २७ वर्ष त नाइट काम गरिएछ । त्यो बेलाको महाप्रबन्धक सुरेश पुडासैनीले पनि धेरै सहयोग गर्नुभयो ।
त्यै भएर त्यो बेला बनेका अधिकांश फिल्ममा काम गर्न भ्याउनु भएछ !
हजूर, मैले बासुदेवपछिका फिल्ममा काम पाइहालेँ । ‘कोसेली’, ‘मायाप्रीति’, ‘चेलिबेटी’, ‘चिनो’ खेलेँ ।
‘चिनो’मा त तपाईंको चरित्र निकै हिट भयो नि ?
हजुर ‘चिनो’मा मेरो रोल सानो भए पनि दर्शकले रुचाइदिनुभयो ।
पछि त तपाईंलाई फिल्म नै बनाउने पो रहर जाग्यो त !
रहर त सबैलाई लाग्छ नि ! २०४८ सालतिर कृष्ण मल्लज्यूले फिल्म बनाऔँ भन्नुभयो । मलाई पनि जोश चल्यो । उहाँले चौताराको जग्गा राखेर ५ लाख निकाल्ने, बाँकी कलाकारलाई पछि दिने शर्तमा र मैले थोरबहुत लगानी गर्ने भन्ने सोचले फिल्मको कथा लेख्यौँ । फिल्म बनाउनैका लागि भनेर मैले वसन्त चौधरी सरसित ५० हजार मागेँ । उहाँले दिनुभयो । हामीले सोचेजस्तो गरी फिल्म नबन्ने भयो किनभने बैंकले मल्लज्यूको चौताराको जग्गा राखेर पैसा दिन मानेन । हाम्रो सपना चकनाचूर भयो । यसपछि मैले वसन्त चौधरीलाई पैसा फिर्ता गर्न खोजेँ । उहाँले ‘तिम्रो घर चुहिएको छ हैन, टाले भइहाल्यो नि मलाई किन फिर्ता दिन खोजेको’ भन्नुभयो ! मसँग पैसा छ भन्ने थाहा पाएपछि गगन विरहीले लिनुभयो र तपाईंको पनि लगानीमा म फिल्म बनाउँछु भन्नुभयो । उहाँले तातोपानीको एक जना व्यापारी भाइलाई पैसा जुटाउन लगाएर २०५१–५२ सालतिर ‘बादल’ शीर्षकमा फिल्म बनाउने निधो भयो । त्यो बेला प्ले ब्वाईको भूमिका भुवन केसीलाई दिने कुरा भयो । एक हप्ताभन्दा बढी खिचिसकेपछि भुवन केसीले मलाई फिल्म खेल्न मन लागेन भन्नुभयो । सबैलाई तनाव भयो । पछि कृष्ण मल्लले त्यो भूमिका गर्नुभयो । फिल्म समयमा पूरा नहुँदा र लगानी बढ्दा राम्रो फिल्म पनि चलेन, चले पनि फाइदा हुन सकेन । सबैभन्दा ठूलो चित्त दुखाई चाहिँ न त्यो फिल्ममा निर्माताका रुपमा मेरो नाउँ आयो, न पैसा फिर्ता पाएँ !
भनेपछि त तपाईं फिल्म उद्योगको भएर पनि ‘मूर्गा’ हुनुभएछ !
अँ, मुर्गा बनाउने क्रम त्यो बेला सुरु भइसकेको थियो । त्यसपछि कैयौँ नयाँ मानिसहरु आउने, फिल्म बनाउने र डुबाउने क्रम सुरु भयो । खासमा भन्ने हो भने निर्माता त अन्नदाता हो । उसलाई फाइदा गराउनुपर्ने बेलामा तिनीहरुसँग भएको पैसा नै स्वाहा पार्ने क्रम भयो । यसले फिल्म उद्योगलाई ठूलो घाटा भयो ।
अहिले फिल्म उद्योगको अवस्था अलि फरक छ कि त्यस्तै देख्नुहुन्छ ?
नेपालमा ‘लूट’ फिल्म रिलिज भएपछि फिल्म मेकिङमा केही सुध्रिएको भान भएको छ । ‘पशुपतिप्रसाद’जस्तो सानो बजेट, कम लगानी, छोटो समयमै फिल्म बनाउने क्रम भएको छ । फिल्म पनि स्तरीय बनेका छन् । अवस्था अलि सुध्रिएको छ तर ठगठाग गर्नेहरु पनि उत्तिकै छन् ।
फिल्म, टेलिफिल्ममा लागेपछि सबैभन्दा ठूलो सन्तुष्टि के हुँदोरहेछ त ?
मान्छेले चिन्छन्, माया गर्छन् । सार्वजनिक गाडी चढेका बेला चिनेर कसैले ठाउँ छाडिदिन्छन् । एकचोटि मुक्तिनाथ गएको थिएँ । होटल चलाउनेले चिनेछन् र खानाको पैसा नै लिन मानेनन् । यस्तै साना कुराले त हो हामीलाई सन्तुष्टि दिने ।
अहिले केमा व्यस्त हुनुहुन्छ ?
‘हर्के हल्दार’, ‘मेरी बास्सै’जस्ता शृंखला र ‘पुनर्निर्माण’ भन्ने सन्देशमूलक भिडियोको काम हिजै सकेँ ।
सबैथोकको भाउ बढ्यो तर कमेडीका कलाकारको बढेन भन्छन् नि ?
त्यो त हो, पहिले एक दिन काम गरेबापत दुई हजार पाउँथ्यौँ, अहिले एक हजारमा चित्त बुझाउनु परेको छ । निर्देशक–निर्माताको दोष पनि होइन किनभने टेलिभिजनमा जसले देखाउने हो, बीचको विज्ञापन ल्याउनेले फाइदाको पैसा दिँदैन मात्र होइन, दिनुपर्ने पैसा पनि दिएको छैन । त्यसले हामी कलाकारलाई अप्ठेरो पारेको छ । हाम्रो श्रमको सम्मान कहिले हुन्छ ?
तपाईंले त हिन्दी शृंखलामा पनि काम गर्नुभयो, कस्तो लाग्यो ?
अँ, ‘अगले जनम में बेटी ही किजो’ भन्ने शृंखलामा काम गरेँ । पूजारी बनेको थिएँ । उनीहरुको काम गर्ने सिस्टम धेरै राम्रो । नेपालमा खिचे, यहीँ काम गरियो । पछि नेपाल बन्द हुन थालेपछि डराएर मुम्बई गए । मेरो काम नसकिएकाले म पनि त्यहाँ १० दिन जति बसेर काम गरेँ । त्यहाँ समयलाई महŒव दिने कुरा मलाई ज्यादै चित्त बुझ्यो ।
‘लभ इन नेपाल’मा पनि तपाईंलाई देख्न पाइएको थियो नि !
गायक सोनु निगमले हिरो हुने रहर गरे तर दर्शकले रुचाइदिएनन् । यो फिल्म हिट भएको भए झरना वज्राचार्यलाई ठूलो फाइदा हुन्थ्यो तर फ्लप भएकाले कसैलाई फाइदा गरेन ।
मुम्बईमा समयलाई महत्व दिन्छन्, यहाँ चाहिँ हिरोहरू ढिला गरी सेटमा आइपुग्छन् हगि ?
त्यसको त के कुरा गर्नु र ! ढिला आउने, सेटमा एउटाको कुरा अर्कोलाई लगाएर झगडा मच्चाउने, राजनीति गर्ने अनेक देखियो ।
यत्तिका समय बिताइसकेपछि केही पछुतो छ त ?
अभिनयको रहरले लागेँ र यत्रो लामो समयसम्म मैले काम गर्न पाएँ । यसमा म सन्तुष्ट छु तर बेलाबेलामा घरपरिवारलाई समय दिइएन, नातिनातिना र छोराछोरी कुन बेला हुर्के पत्तै भएन । एक पटक सुटिङताका आमा सिकिस्त बिरामी हुनुभएको थियो । म पोखरामा थिएँ । म घर आइपुग्दा त सञ्चो भइसक्नु भएछ ! यस्ता कैयौँ साना कुराले अहिले दुःख दिन्छन् ।

 

Leave A Comment