भाषा सिकिन्छ कि आर्जन गरिन्छ ?

सोमबार, १९ असार २०७४, १२ : ०१ शुक्रवार , Kathmandu
भाषा सिकिन्छ कि आर्जन गरिन्छ ?

राम लोहनी

अल्बर्ट आइन्स्टाइनको तीन वर्षसम्म बोली फुटेको थिएन । स्नायु वैज्ञानिक स्टिभन पिङ्करले एक ठाउँमा भनेका छन्, ‘ढिलो बोली फुट्ने बच्चाहरू कालान्तरमा गएर इन्जिनियर, गणितज्ञ र वैज्ञानिक बनेका उदाहरण छन् ।’ प्रसिद्ध भौतिकशास्त्री रिचार्ड फेम्यान र एडवर्ड टेलरको पनि बोली ढिलो फुटेको थियो । आइन्स्टाइनले उनको ढिलो बोली फुटेको बारेमा कसैले राखेको जिज्ञासाको जवाफमा भनेका थिए, ‘मेरो बोली ढिलो फुट्नुको कारण कतिपय बौद्धिक क्षमता पनि ढिलो नै प्रस्फुटन भयो । उमेर अनुसारको चिन्तन पनि बेग्लै ढङ्गबाट विकास भयो । त्यसैले अरुको सोचाइभन्दा मेरो सोचाइ फरक र सरल प्रकृतिको भयो । त्यसकै परिणामस्वरूप सापेक्षतावादजस्तो ‘सरल’ सिद्धान्त मेरो दिमागले सोच्न सकेको हो ।’
सापेक्षतावादको सिद्धान्तले बताउने कुरा सरल भए पनि यसको गहिराइलाई बुझ्न जटिल गणितीय अभ्यासबाट गुज्रिनु पर्ने यथार्थ बेग्लै छ ।
पिङ्करको भनाइ जे भए पनि ढिलो बोली फुट्ने बच्चाहरू सबै प्रतिभाशाली भने हुँदैनन् । सबैमा गणितीय खुबी असाधारण रूपले विकास भएको पनि हुँदैन । सामान्यतया तीन वर्षको उमेरमा धेरै बच्चाहरू दोहोरो कुरा गर्ने भैसक्छन् । ढिलो बोली फुट्नुका धेरै कारण हुन सक्छन् । जन्मजात कान नसुन्ने बच्चाहरूको बोली फुट्दैन वा सुस्त मनस्थितिकै कारण पनि त्यस्तो हुन सक्छ । प्रत्यक्ष शारीरिक विकार नहुँदानहुँदै पनि केही बच्चाहरूमा बोली फुट्ने काम ढिलो हुन सक्छ । आइन्स्टाइन, फेम्यान त्यसका उदाहरण मात्र हुन् ।
बोली फुट्नका लागि बच्चामा न्यूनतम जैविक योग्यता पूरा भएको हुनुपर्छ । त्यो हो, स्वस्थ मस्तिष्क । स्वस्थ मस्तिष्कको कुरा गर्दा एउटा कुरा के ख्याल राख्नुपर्छ भने मस्तिष्कजन्य कतिपय समस्या रहँदारहँदै पनि भाषिक क्षमता प्राप्त हुन सक्छ । भाषिक क्षमता र अन्य बौद्धिक क्षमताको विकासको आधार फरक–फरक भएका कारण त्यसो भएको हो । भाषा र अन्य बौद्धिक क्षमता बीचको सम्बन्ध यो लेखको चर्चाको विषय होइन । सामान्यतः स्वस्थ मस्तिष्क भाषा आर्जनको पहिलो सर्त हो ।
मस्तिष्क स्वस्थ भए पनि उसको वरिपरि भाषिक वातावरण भएन भने बच्चाले भाषा सिक्न पाउँदैन । त्यसकारण भाषा सिक्न भाषिक वातावरण हुनु आवश्यक छ । यद्यपि बच्चालाई बोल्न भनेर केही सिकाइएकै हुँदैन, अरूहरूले बोलेको सुनेकै भरमा उसले भाषिक क्षमता आर्जन गरिसकेको हुन्छ । अन्य व्यक्तिले प्रयोग गरेको भाषाले बच्चाको मस्तिष्कमा भएको भाषासँग सम्बन्धित स्नायुलाई सक्रिय गराउँछ । सुन्ने क्षमता छैन भने उसको दिमागमा त्यस प्रकारको भाषिक उद्दिपन हुन पाउँदैन । टेलिभिजनमा संवाद सुनेर मात्र पनि बच्चाहरूमा भाषाको विकास हुँदैन । बच्चाले बोलेर अन्तरक्रिया गर्न पायो भने मात्र भाषिक क्षमता विकास हुन सक्छ । मान्छेको सम्पर्कबाट वञ्चित गरिएका बच्चाहरूमा स्वस्थ मस्तिष्कको बाबजुद भाषा विकास भएको हुँदैन । उद्धारपछि पनि त्यस्ता बच्चाहरू प्रायः कसैले पनि स्वाभाविक रूपमा भाषिक क्षमता विकास गर्न नसकेका उदाहरणहरू छन् ।
सन् १८०० को सुरुमा फ्रान्सको एउटा जङ्गलमा फेला पारिएको केटालाई भाषा सिकाउन गरिएको प्रयास सफल हुन सकेको थिएन । भिक्टर नाम दिइएको त्यो केटो जङ्गलबाट उद्धार गरिँदा अन्दाजी १२ वर्षको थियो । सन् १८५० तिरै भारतमा अन्दाजी १८ वर्षकी एउटी केटीलाई जङ्गलबाट उद्धार गरियो । कमला नाम दिइएकी ती युवतीले पनि राम्रोसँग भाषा सिक्न सकिनन् । अमेरिकाको ओहायोमा सन् १९३० तिर छ वर्षकी एउटी बच्चीलाई फेला पारियो । कान पनि नसुन्ने, बोल्न पनि नसक्ने आमासँग बसेकी त्यो बच्चीमा भाषाको विकास पटक्कै भएको थिएन तर दुई वर्षमै उसले उसको उमेर अनुसारको भाषिक क्षमता आर्जन गरी । बाबुआमाले २ वर्षको उमेरदेखि अँध्यारो कोठामा थुनेर राखिएकी जेनी नाम गरेकी १२ वर्षे केटीको प्रसङ्ग पनि धेरै पुस्तकमा पाइन्छ । उद्धारपछि उसलाई भाषा सिकाउन गरिएको प्रयास खासै सफल हुन सकेन ।
मानव संगतबाट वञ्चित सबै बच्चामा निश्चित प्रकारको मानसिक आघात त परेकै हुन्छ । उद्धारपछि उपलब्ध गराइएको वातावरणले पनि उनीहरूमा भाषाको विकास हुन नसक्नुको पछाडि अरू नै कारण रहेको वैज्ञानिकहरूको निष्कर्ष छ । एरिक लिनिबर्ग नामका स्नायुविज्ञले मानिसमा भाषा आर्जन गर्ने अवधिका बारे एउटा निष्कर्ष निकालेका थिए । लिनिबर्गको उक्त अवधारणालाई ‘संवेदनशील अवधिको परिकल्पना’ भनिन्छ । उनका अनुसार बाह्र–तेह्र वर्षसम्मको उमेर भाषा आर्जनको हिसाबले सम्वेदनशील अवधि हो । भाषासम्बन्धी समस्या भएकाहरूको अध्ययन गरेर लिनिबर्ग यो निष्कर्षमा पुगेका हुन् । सम्वेदनशील अवधि कटेका केटाकेटीमा भाषा आर्जनको क्षमता शून्य प्रायः हुन्छ । माथि उल्लेख गरिएका उदाहरणले यसलाई पुष्टि पनि गर्छन् । त्यो उमेरसम्ममा मस्तिष्क विकासको महत्वपूर्ण चरण पूरा भइसक्ने हुँदा भाषा आर्जन हुन नसक्ने लिनिबर्गको तर्क हो । त्यसपछि प्रारम्भ हुने भाषा आर्जन केही शब्द र सीमित वाक्यभन्दा अगाडि बढ्दैन ।
लिनिबर्गले गरेको अनुमान पहिलो भाषाको सम्बन्धमा हो । दोस्रो वा पछि सिकिने भाषाको हकमा यो अनुमान लागू हुँदैन । त्यसो त, यो परिकल्पना मात्र हो र सिद्धान्तकै रूपमा स्थापित भैसकेको चाहिँ छैन । कतिपय स्नायुविद्हरू भाषा आर्जन गर्ने उमेर लिनिबर्गले भनेभन्दा पहिले नै समाप्त भैसक्ने तर्क गर्छन् । उमेरको बारेमा एकमत नभए पनि परिपक्व भैसकेको मस्तिष्कले भाषा आर्जन गर्न नसक्ने कुरा यथार्थ हो । एउटा भाषा आर्जन गरिसकेपछि दोस्रो, तेस्रो भाषा आर्जन गर्नको लागि पहिलो भाषाले वातावरण तयार गरिसकेको हुन्छ तर पनि किशोरावस्था पार गरिसकेका मानिसले आर्जन गरेको भाषामा पहिलो भाषामा जत्तिको दख्खल हुने सम्भावना एकदमै न्यून हुन्छ । भाषा आर्जनको यो ठूलो रहस्य हो ।
भाषा आर्जनको कुरा गरिरहँदा एउटा प्रश्न के उठ्छ भने पहिलो भाषा ‘सिकिने’ हो कि ‘आर्जन’ गरिने हो । सामान्यतया वरिपरिको वातावरणमा प्रयोग हुने भाषा बच्चाले आफैँ जान्दछ, कसैले सिकाएको हुँदैन । ठूलाहरूले केही वाक्य वा उच्चारण सिकाउने प्रयास गरे पनि बच्चाले त्यो भाषा आफ्नै ढङ्गबाट सिकेको हुन्छ । यस अर्थमा यी भाषा सिकाइँदैन, बच्चाले आफैँ जान्दछ । यस अर्थमा पहिलो भाषा बच्चाको आर्जन हो । त्यसैले पहिलो (र, बहुभाषिक समाजमा दोस्रो वा कतै कतै तेस्रो पनि) भाषा प्राप्त गर्ने प्रक्रियालाई ‘सिकाइ’ (लर्निङ) नभनेर ‘आर्जन’ (अक्विजिसन) भन्ने गरिन्छ । वास्तविकता के हो भने मानिसको बच्चामा जन्मजात भाषा ग्रहण गर्न सक्ने क्षमता हुन्छ । त्यही क्षमताका कारण उनीहरू सजिलैसँग भाषा ग्रहण गर्छन् ।
जन्मको समयमा बच्चाको मस्तिष्क पूर्ण विकसित भैसकेको हुँदैन । मस्तिष्कको वृद्धि हुने क्रम जन्मपछि पनि जारी रहन्छ । कोषहरूको वृद्धिसँगै मानिस वयस्क हुँदै जान्छ । विकास भइसकेको मस्तिष्कका कोषहरूको क्षति भएको खण्डमा तिनको पुनर्निर्माण हुँदैन, एक पटक नष्ट हुनु भनेको सधैँको लागि नष्ट हुनु हो भन्ने अवधारणा थियो । जसरी शरीरका अन्य भागमा चोटपटकको कारण नष्ट भएका कोषहरू पुनर्निर्माण भएका हुन्छन्, टुटेको हाड जोडिन्छ, घाउहरू पुरिन्छन्, त्यसै गरी मस्तिष्कका घाउहरू भरिँदैनन् भन्ने विश्वास थियो तर पछिल्ला अनुसन्धानले यसलाई गलत साबित गरिदिएका छन् । अर्थात्, मस्तिष्कका कोषहरू बन्ने क्रम जारी रहन्छ भन्ने तथ्य पत्ता लागेको छ तर पनि मस्तिष्कका कुन–कुन भागका र कस्ता–कस्ता कोषहरू र कुन अवस्थामा पुनर्निर्माण हुन्छन् भन्ने कुराको यथार्थ चित्र आइसकेको छैन ।
हाम्रा मस्तिष्कका कोष विभिन्न प्रयोजनका लागि विशिष्टीकृत भएका हुन्छन् । मस्तिष्कको एक भागले गर्ने काम अरू भागले गर्दैन । मस्तिष्कको नष्ट भएको अंश पुनर्निमाण हुनु भनेको त्यो अंशले गर्ने काम पनि पुनर्ताजगी हुनु हो । शरीरको अन्य भागको पुनर्निर्माण गर्ने कामको नियन्त्रण पनि मस्तिष्कले नै गर्ने हुँदा स्वयम् मस्तिष्कका कोषहरूको पुनर्निर्माण गर्न त्यो कामको निर्देशन दिने स्नायु कोष जीवित रहेको हुनुपर्छ । शरीरकै अन्य भागको ठूलो अंश क्षति भयो भने त पुनर्निर्माण हुन सक्दैन भने मस्तिष्ककै पुनर्निमाण झनै कठीन कुरा हो ।
भाषा आर्जन जन्मपछि हुने हुँदा वयस्क व्यक्तिको भाषा आर्जनसम्बन्धी कोषहरू नष्ट भएको खण्डमा त्यसको पुनर्निमाण हुने सम्भावना हुँदैन किनभने ती कोषको नाससँगै तिनमा सञ्चित सूचना पनि नष्ट हुन्छन् । कोषहरूको विकासको क्रममा सङ्कलित सूचना पुनः त्यही प्रक्रियाबाट प्राप्त हुन सक्दैनन् तर सानो उमेरमै क्षति भएका स्नायुहरूको विकल्प मस्तिष्कले तयार पार्छ । जन्मदाको समय मस्तिष्कमा कुनै भाषा नभए पनि भाषा आर्जन गर्न सक्ने क्षमता भने रहेको हुन्छ । मस्तिष्कमा त्यस्तो क्षमता रहेको ठानिएका कोषहरू नष्ट भएको अवस्थामा पनि भाषा आर्जन भएका उदाहरणहरू छन् । त्यसको मतलब ती कोषमा अभिलिखित निर्देशन मस्तिष्कको अन्यत्र पनि ‘ब्याकअप’का रूपमा रहेका हुन्छन् । ब्याकअपमा रहेको सफ्टवेयरलाई पुनः इन्स्टल गरेजस्तै त्यो क्षमताको पुनर्निर्माण हुन सक्छ र मस्तिष्कले भाषा आर्जन गर्ने काम निर्वाह गर्छ । यद्यपि बाँकी मस्तिष्कले आर्जन गरेको भाषिक दक्षतामाथि भाषाविद्हरू एकमत छैनन् तर विकास भैसकेको अवस्थाका कोष नष्ट भए भने त्यसमा सञ्चित भाषिक ज्ञान पुनर्निर्माण हुँदैनन् । भाषिक ज्ञानको ‘ब्याकअप’ हुँदैन ।
बच्चाको मस्तिष्कलाई प्लास्टिकसँग दाँज्न सकिन्छ । मस्तिष्कको विकास, विस्तार हुनु भनेको प्लास्टिक तन्केजस्तै हो । जसरी तन्किएको प्लास्टिक पहिलेको अवस्थामा फर्किन सक्दैन, मस्तिष्कको विकास पनि त्यस्तै हो । मस्तिष्क वृद्धि हुने क्रममै भाषिक ज्ञानका सूचकहरू कोषहरूमा अभिलिखित हुने हुन् । मस्तिष्क विकास र भाषा आर्जन सँगसँगै अगाडि बढ्छन् । पछिल्लो समयमा आर्जन हुने अन्य भाषाहरू पहिलो भाषा आर्जन गर्ने क्रममा निर्माण भएका भाषिक पूर्वाधारमै टेकेर हुने हुन् । त्यसकारण यी पछिल्ला भाषाको उच्चारण लगायत अन्य व्याकरणीक पक्षहरूमा पहिलो भाषाको हस्तक्षेप भैरहेको हुन्छ ।

Leave A Comment