मालिंगा र मन्त्रीको ‘बाँदर’ किस्सा

आइतबार, १८ असार २०७४, ०१ : ४८ शुक्रवार , Kathmandu
मालिंगा र मन्त्रीको ‘बाँदर’ किस्सा

श्रीलंकाका तीव्र गतिका बलर लासिथ मालिंगाले खेलकुदमन्त्रीलाई ‘बाँदर’ सँग तुलना गरेको खबरले यो साता खेलकुद जगत् तात्यो । श्रीलंकाका खेलकुदमन्त्री दयासिरी जयाशेखराले क्रिकेटरहरू धेरै भद्दा भएको बताएपछि त्यसको प्रतिक्रियास्वरूप मालिंगाले उनलाई बाँदरसँग तुलना गरेका थिए ।

त्यसपछि मन्त्री जयाशेखराले मलिंगाले आफ्नो आलोचना गरेको भन्दै उनीमाथि अनुसन्धान सुरु गरिएको बताए । श्रीलंका च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा प्रवेश गर्न असफल भएपछि उनले खेलाडीहरूको क्षमतामाथि प्रश्न गरेका थिए ।
‘श्रीलंका क्रिकेट बोर्डसँगको सम्झौता र मर्यादाविपरीत बयान दिँदै हिँडेकाले मालिंगा अनुसन्धानको घेरामा आएका हुन्,’ जयाशेखराले भने, ‘मैले खेलाडीहरूको फिट्नेसका बारेमा प्रश्न उठाए पनि मालिंगाको नाम लिँदै व्यक्तिगत रूपमा उनको आलोचना गरेको थिइनँ तर उनले सार्वजनिक रूपमा मेरो आलोचना गर्र्दै हिँडे ।’
मालिंगाले टेलिभिजन नेटवर्कसँग कुरा गर्दै खेलकुदमन्त्रीलाई क्रिकेटको बारेमा केही ज्ञान नभएको बताएका थिए ।
‘जो कुर्सीको लोभमा छन्, त्यस्ता व्यक्तिले आलोचना गर्दा मलाई खासै फरक पर्दैन,’ मालिंगाले भने, ‘एउटा बाँदरलाई सुँगाको गुँडभित्र के हुन्छ के थाहा ? यो बाँदरले सुँगाको गँुडमा जानु र त्यसको बयान गर्नु जस्तै हो ।’
जयाखेखराले केही श्रीलंकन खेलाडीहरूको भँुडी ठूलो भएको र उनीहरूलाई मैदानमा धेरै दौडनका साथै क्याच गर्न प्रायः समस्या रहने गरेको बताएका थिए ।
समूह चरणको अन्तिम खेलमा श्रीलंकाका खेलाडीले दुई पटक पाकिस्तानका कप्तान सरफराज अहमदको क्याच छोडेका थिए । दुवै क्याच मालिंगाको बलिङमा छुटेको थियो । उक्त खेलमा उनले ५२ रन खर्चंदै मात्र १ विकेट लिएका थिए ।
जयाशेखराले इङ्ल्यान्डबाट फर्किएका राष्ट्रिय टोलीका खेलाडीको फिट्नेस परीक्षण गर्न निर्देशन दिएको बताए ।
‘एक क्रिकेटरको शरीरमा १६ प्रतिशत फ्याट हुनु पर्ने हो तर हाम्रा अधिकांश खेलाडीको शरीरमा २५ प्रतिशत फ्याट रहेको पाइयो,’ उनले भने, ‘म यो नतिजाको अध्ययन होस् भन्ने चाहन्छु । भविष्यमा शरीरमा १६ प्रतिशतभन्दा बढी फ्याट भएका खेलाडीलाई राष्ट्रिय टोलीमा समावेश गरिने छैन ।’
चोटका कारण १८ महिना मैदानबाहिर रहे पनि ३३ वर्षे मालिंगालाई आश्चर्यजनक रूपमा च्याम्पियन्स ट्रफीका लागि घोषित टोलीमा समावेश गरिएको थियो ।
‘उनीहरूले इन्डियन प्रिमियर लिग (आइपिएल) मा ४ ओभर बलिङ गर्नका लागि मात्र आफूलाई फिट राख्न चाहन्छन्,’ जयाशेखराले मालिंगातर्फ संकेत गर्दै भने, ‘उनीहरू राष्ट्रका लागि भन्दा पनि आइपिएल खेल्न रुचाउँछन् किनभने उनीहरूले यसबाट धेरै कमाइ गर्छन् ।’

यसैगरी मालिंगाले सम्झैताविपरीत सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएकाले उनीमाथि अनुशासनको कारबाही हुन सक्ने श्रीलंकन क्रिकेट बोर्डले मंगलबार जनाएको छ । मालिंगाले श्रीलंकन क्रिकेट बोर्डसँगको सम्झैताविपरीत दुई पटक सञ्चारमाध्यममा प्रतिक्रिया दिएकाले तीन जनाको समितिले उनीमाथि छानबिन गर्ने बोर्डको विज्ञप्तिमा उल्लेख छ ।

 

Leave A Comment