बल्न नसकेको ‘ट्युबलाइट’

आइतबार, १८ असार २०७४, ०१ : ४३ अच्युत काेइराला , Kathmandu
बल्न नसकेको ‘ट्युबलाइट’

फिल्म बनाउन सजिलो छ तर राम्रो फिल्म बनाउन निकै गाह्रो । यस कुराको उदाहरण ‘ट्युबलाइट’ले सिद्ध गरिदिएको छ । ‘एक था टाइगर’जस्तो मनोरञ्जक र ‘बजरंगी भाइजान’जस्तो टियर जर्कर (आँशुको बाढी ल्याउने) फिल्मका निर्देशकले निर्माण तथा निर्देशन गरेको ‘ट्युबलाइट’ले भने दर्शकले सोचेजस्तो दर्शक आकर्षित गर्न सकेन ।
कतिसम्म भने हिन्दी फिल्मका समीक्षकहरुले फिल्मको यति धज्जी उडाए कि फिल्म रेटिङ दुईभन्दा कम दिएका थिए । सलमान खानले चित्त बुझाउँदै भनेका थिए, ‘धन्न माइनस रेटिङ दिएनन्, त्यसैमा खुसी छु ।’ हुन त बढी रेटिङ आयो भनेर उनले खुसी व्यक्त गरेका भने होइनन्, फिल्मसमीक्षकलाई व्यंग्य कसेका हुन् । उनको सङ्घर्षका दिनहरूमा पनि समीक्षकहरुले उनलाई अभिनय गर्न नजान्ने भनेर अनेक फतुर लगाउने समीक्षक नझेलेका होइनन् । त्यो बेला उनलाई बढी नै चित्त दुख्थ्यो तर हिजोआज यस्ता आलोचनालाई सहजै पचाउने गरेका छन् ।
‘ट्युबलाइट’ हलिउडमा सन् २०१५ मै रिलिज भएको ‘लिटिल ब्वाई’ नामक फिल्मको रिमेक हो । त्यस फिल्ममा एउटा मानसिक रुपमा अपांगता भएको सानो बच्चो र उसको बुवा बीचको प्रेम दर्शाइएको छ । राम्रा फिल्म भनेपछि मरिहत्ते गर्ने निर्देशक कबिर खानले त्यही फिल्मको कथालाई आधार बनाएर ‘बच्चो’लाई लक्ष्मणसिंह बिष्ट (सलमान खान) बनाइदिए अनि बच्चोको बुवालाई भरतसिंह बिष्ट । भरतसिंह बिष्ट भने लक्ष्मणको भाइ अर्थात वास्तविक जीवनमा सलमान खानका कान्छा भाइ सोहेल खान बनेका छन् ।
कुनै पनि कुरा चाँडै टिप्न नसक्ने, सिधा कुरा मात्र बुझ्ने ‘ट्युबलाइट’ चरित्रका रुपमा सलमान खानलाई नसुहाएको होइन, उनले आफ्नो चरित्र पनि इमान्दारीपूर्वक गरेका छन् भने त्यसको तयारी पनि भरपूर गरेका थिए तर फिल्मभरि उनको सोझोपन, दाजुभाइ बीचको भावनात्मक सम्बन्धजस्ता कुराले कतै पनि छुँदैन । अन्तर्वार्ता दिँदा सलमान खानले फिल्मको सुटिङताका भावुक भएर कैयौँ पटक रोएको बताएका थिए तर फिल्म हेरुञ्जेल कतै पनि दर्शकलाई ‘घुक्क’ पार्दैन ।
बरु हलिउड फिल्म ‘लिटिल ब्वाई’ले धेरै हदसम्म दर्शकलाई भावुक बनाइछाड्छ । सानो बालकको उसको बुवाप्रतिको लगाव फिल्मले आकर्षक तरिकाले प्रस्तुत गरेको छ । अमेरिकाको पर्लहार्बरमा जापानी सेनाले बिना कुनै सूचना ११० मिनेटसम्म लगातार आक्रमण गरेर २३ सय ३५ सर्वसाधारण तथा सेनाको हत्या गरे भने ११ सय ४३ जना घाइते बनाएको थियो । यस किसिमको पृष्ठभूमिमा कुनै जापानी पिछडिएको अमेरिकी गाउँमा पुग्यो भने जापानीमाथि कस्तो दुव्र्यवहार हुन्छ भन्ने प्रस्ट देखाइएको छ । फिल्मको सबैभन्दा ठूलो ‘मुटु’ यही भावना हो ।
‘ट्युबलाइट’मा यही कुरा चिनियाँ मूलकी एक भारतीय नारी छोरोसहित सन् १९६२ को युद्धताका आइपुग्दा ‘चिनियाँ’ भएकै कारणले कति सताइन्छ भनी देखाउन खोजिएको छ तर यो कथा नै फिल्मको मुटु थियो । त्यो मुटु छातिको बीचमा हुनुपर्ने, टाउकातिर भइदिएकाले फिल्म सोचेजस्तो संवेदनशील बन्न सकेन । कथानकका हिसाबले यो एउटा सम्भावना भएको फिल्म थियो तर निर्देशक खान कथाप्रस्तुतिमा चुक्न पुग्दा एउटा राम्रो फिल्म बनिनबाट रोकियो ।
पहिलो त, दर्शकहरूले सलमान खानबाट मनोरञ्जनको अपेक्षा गरेका थिए । त्यो कतैबाट पनि पूरा भएन । दोस्रो, उनले फिल्ममा रोमान्स गर्दैनन् । तेस्रो, उनको बहादुरी कतै देख्न पाइँदैन । चौथो, राष्ट्रप्रेमका नाममा अब महात्मा गान्धीका भनाइ बिक्दैनन्, ती भनाइलाई तरिका नपु¥याई र राम्रोसँग प्रस्तुति नगरी धर छैन भन्ने सन्देश यस फिल्म हेर्दा स्पष्ट हुन्छ ।
हरेक पटकको दंगा, युद्ध र थिचोमिचोमा सबैभन्दा पीडित महिला हुन्छन् । उनीहरु बलात्कृत हुन्छन्, सताइन्छन् र पीडिता हुन्छन् । यस्तो संकटको घडीमा इतर जात, धर्म र राष्ट्रियताका मानिसहरू उनीहरुको इमान्दारिताका बाबजुद या त जासुस ठहरिन्छन् या दुस्मन ।
दोस्रो विश्वयुद्धमा अमेरिका र जापान सत्रु देश भएकाले त्यो बेला कैयौँ जापानी मूलका अमेरिकीहरु सताइए, बलात्कृत भए । त्यस्तै अवस्था हिन्दु–मुस्लिम दंगा या मुस्लिम–बौद्ध दंगाका बेला घट्न पुग्छन् । त्यो बेला देशप्रतिको लगाव र इमान्दारिता गौण बन्न पुग्छन् । तिनै कुरा छुँदै ‘ट्युबलाइट’ले संवेदनशील मर्ममा प्रहार गर्न खोजेको थियो तर अन्ततः ‘ट्युबलाइट’ नै बलेन ।
त्यसो त फिल्मले यो टिप्पणी तयार पारुञ्जेल ९० करोडको हाराहारीमा व्यापार गरिसकेको छ । हरेक इदमा उनको फिल्म रिलिज हुँदा कम्तीमा पनि सय करोड केही दिनमै नाघ्ने समाचार पाइरहेका दर्शकले भने यसपाला त्यस्तो समाचार सुन्न पाएनन् ।
यो फिल्म राम्रो नहुनुपर्ने कुनै कारण थिएन । फिल्ममा सलमान खान थिए, कबिर खानजस्ता बलिउडका सफल निर्देशक थिए । उनले ‘न्युयोर्क’, ‘काबुल एक्स्प्रेस’जस्ता सुरुवाती समयमै राम्रा फिल्म दिएका थिए । ‘ट्युबलाइट’अघि उनले निर्देशन गरेको ‘फ्यान्टम’ले नराम्रो व्यापार गरेपछि यो फिल्म उनका लागि ‘डु अर डाई’को अवस्था थियो । त्यसैले फिल्म निर्माणमा सय करोड खर्च गरिएको थियो । त्यसो त सलमान खान र कबिर खान प्रोडक्सनले यस फिल्मबाट घाटा बेहोर्नु पर्ने छैन । जसोतसो फिल्मले लगानी उठाउने छाँट देखाइसकेको छ भने विविध किसिमका अधिकारबाट आउने रकम उनीहरुको गोजीमा जाने पक्का छ तर गज्जबको सम्भावना हुँदाहुँदै पनि निगर्तिलो फिल्म बन्न पुगेको कुरामा भने शंका छैन ।
 

Leave A Comment