गुगलमाथि खर्ब बढी जरिवाना

आइतबार, १८ असार २०७४, ०१ : ३९ शुक्रवार , Kathmandu
गुगलमाथि खर्ब बढी जरिवाना

सर्च इन्जिनलाई दुरुपयोग गरेको भन्दै युरोपेली युनियनले इन्टरनेट सर्च इन्जिन गुगलमाथि झण्डै सवा खर्ब रुपैयाँ बराबरको जरिवाना गरेको छ ।
आफ्नो सर्च इन्जिनको दुरुपयोग गरी आफ्नो विज्ञापन व्यवसायलाई फाइदा पु¥याएको आरोपमा गुगलमाथि इयुले १ अर्ब १० करोड डलर जरिवाना लगाएको हो ।
गार्जियनका अनुसार पेरिस तथा बर्लिनका प्रमुख नेताहरुका साथै गुगलका प्रतिद्वन्द्वी कम्पनीहरुले युरोपेली आयोगका प्रतिस्पर्धा आयुक्त माग्रेद वेस्टागरलाई गुगलविरुद्ध कडा कारवाही गर्न विगतदेखि नै उक्साइरहेका थिए ।
रिपोर्टअनुसार गुगलले आफ्नो एकाधिकारको स्थितिको दुरुपयोग गरेको छ र यसविरुद्ध उसमाथि कुल राजश्वको अधिकतम १० प्रतिशत जरिवाना गरिएको छ ।
गुगलको मूल कम्पनी अल्फाबेटमाथि अघिल्लो वर्ष ९० अर्ब डलर जरिवाना लागेको थियो । जुन उसको विज्ञापन राजश्वको ३० प्रतिशत थियो ।
इयुको निर्णयसँगै अब गुगलले भविष्यमा आफ्नो विज्ञापन व्यवसायको निर्माण कसरी गर्न चाहन्छ भन्ने विषयमा एक मस्यौदा पेस गर्नुपर्नेछ । गुगलले निर्धारित समयमा त्यसो गर्न नसके उसले दैनिक कारोबारको ५ प्रतिशत जरिवाना तिर्नुपर्नेछ ।

गुगलले आफ्ना वेबसाइटद्वारा आफ्ना प्रतिद्वन्द्वी वेबसाइटहरुमाथि प्रतिबन्ध लगाउने गरेको तथ्य पनि अनुसन्धानबाट खुलेको छ । युरोपेली नियामकहरुले यसअघि माइक्रोसफ्ट, इन्टेल, एप्पल, फेसबुक तथा अमेजनमाथि पनि जाँच गरिसकेका छन् । अमेरिकी कम्पनीहरुमाथि इयुको लगातारको अवरोधसँगै इयुले सिलिकन भ्यालीविरुद्ध युद्ध छेड्ने कोसिस गरिरहेको आरोप पनि लाग्ने गरेको छ तर इयुले भने यसको खण्डन गर्दै आएको छ ।

 

Leave A Comment