कालीप्रसादका प्रिय १० सुर

आइतबार, १८ असार २०७४, ०१ : ३१ शुक्रवार , Kathmandu
कालीप्रसादका प्रिय १० सुर

पछिल्लो समय निकै रुचाइएका संगीतकार तथा गायक हुन्–कालीप्रसाद बास्कोटा । उनले आफूलाई प्रिय लाग्ने अरुका पाँच र आफ्ना पाँच गीतबारे शुक्रबारलाई बताएका छन्ः
अरुका ५
१ गल्ती हजार हुन्छन्

कुनैकुनै गीत यस्ता हुन्छन्, जुन गीत मन पर्नुको कुनै कारण हुँदैन । ‘गल्ती हजार हुन्छन्, यहाँ होश हराको बेला, एक्लै नआऊ तिमी म मात्तिएको बेला’ यो गीतको शब्द–शब्दमा एक प्रकारको आनन्द पाउँछु म । नारायणगोपालले गाएको यो गीतले मलाई निकै छुन्छ । विशेषगरी यो गीतको शैलीले मलाई लोभ्याउँछ । एकदमै अप्ठ्यारो खालको गीतलाई सरल तरिकाले गाइएको छ ।
२ मर्न बरु गाह्रो हुन्न
फत्तेमानले गाउनुभएको यो गीत मलाई सदाबहार मनपर्ने गीत हो । यो गीतमा प्रयोग भएका शब्दहरु एकदमै सशक्त खालका छन् । संगीतको संयोजन पनि एकदमै बयानै गर्न नसकिने किसिमको छ । एउटा गीतमा हुनुपर्ने सबै गुणहरु यसमा छन् । गीतको शब्द, संगीत र स्वर सबै पक्षले एकअर्कालाई न्याय गरेको गीत हो ।
३ मलाई एकछिन देऊ, तिम्रो एकैछिन
न्ह्यु बज्राचार्यले गाउनुभएको यो गीत मेरो प्रिय गीतहरुमा नै पर्छ । धेरै जनाले यो गीत नसुनेको पनि हुन सक्छ तर यस गीतको शब्द र शैली नयाँ खालको छ । त्यस्तै यसको रचना पनि भिन्न छ । त्यसैले पनि यो गीत मनपर्छ ।
४ फूलको आँखामा फूलै संसार
आनी छोइङ डोल्माको यो गीत मलाई मात्रै हैन, सबैलाई मनपर्छ । सरल शब्दमा पनि गहन कुराहरु प्रस्तुत गर्न सकिन्छ भन्ने कुरा यस गीतले प्रमाणित गरेको छ । यो गीत बिना विम्व सुन्दा पनि आनन्द लाग्छ । विम्व बुझेर सुन्दा त अर्कै दुनियाँमा पुगिन्छ । गीतको शब्दसँगै गायकी पनि उत्तिकै राम्रो छ ।
५ तिमीलाई भुल्दा म एक्लो परेछु
नारायण गोपालले गाएको यो गीत मलाई असाध्यै मनपर्छ । कञ्चन पुडासैनीको शब्द र दिव्य खालिङको संगीतमा एक प्रकारको जादु नै भेटिन्छ । गीत कविता शैलीमा छ । ट्युनिङ पनि अचम्म खालकै छ । यस्ता गीतहरु प्रायः कमै मात्र बन्छन् ।
आफ्ना ५  
१ फिरफिरे

बुद्धिसागरको शब्दले भरिएको यो गीत मलाई असाध्यै मनपर्छ । यसमा मेरो आफ्नै कम्पोजिसन छ । कुनै गीत ट्युनिङमा ल्याएर गाउन एकदमै पे्रसर हुन्छ । यो गीत गाउँदा त्यस्तो दबाब भएन । एकदमै सहज र आनन्द आयो । यसका शब्दहरुले नै मलाई सरररर बगायो । शब्द सुन्नेबित्तिकै गीत गुनगुनाउन थालिसकेको थिएँ ।
२ नीर जहिले रिसाउने
यो आफ्नो गीत आफैँलाई सुन्दा आनन्द लाग्ने गीतमा पर्छ । यसको रचना गर्न पनि लामै समय लागेको थियो । पोखरेली लवज र शैली ठ्याक्कै ल्याउने कोसिस गरेको थिएँ । बजारमा आएपछि एकदमै रुचाइयो । आफ्नो प्रशंसा आफैँले त के गर्नु ! तैपनि, कहिलेकाहीँ अहो ! यो गीत मैले नै गाएको हँु है भनेर छक्क पर्छु । मख्ख पर्छु ।
३ लैजा, मेरो मन आज लैजा
आफ्ना गीत मध्येमा यो गीत पनि मलाई असाध्यै मनपर्छ । यसमा मेरो आफ्नै शब्द र संगीत छ । यो गीतको पहिलो अन्तरा यत्तिकै लेखेको थिएँ । दोस्रो अन्तरा लेखेर गीत पूरा गर्न लगभग एक महिना लाग्यो । हेमन्त राणाको स्वरले गीतमा सुनमा सुगन्ध थपिदियो । बजारमा आयो । प्रतिक्रियाहरु पनि राम्रै बटुल्यो ।
४ हाम्रो भेट हाम्रो माया
सनुप पौडलेले गाएको यो गीतमा दिनेश अधिकारीको शब्द छ । मैले भने यो गीतमा संगीत भर्ने मौका पाएको छु । आफूले काम गर्न पाउँदा एकदमै खुसी लागेको गीत मध्येमा पर्छ यो गीत । माया, प्रेम, मिलन, बिछोडसँग सम्बन्धित धेरै भावहरु गीतमा समेटिएको छ ।
५ सुन साइँली
केही समयअगाडि मात्रै बजारमा आएको यो गीत पनि मलाई मनपर्छ । एकदमै चर्चा कमाएको गीत पनि हो । यस गीतमा समसामयिक विषयको संयोजन छ । हिमाल साउद र मैले मिलेर लेखेका थियौँ । यसमा संगीत भर्ने काम म आफैँले गरेको छु । हेमन्त राणाको स्वर त छँदै नै छ । आफूले काम गरेका गीतहरुमा आफूलाई एकदमै विशेष लागेको गीतमा यो गीत पर्छ  ।                                          
प्रस्तुतिः सृजना खड्का

Leave A Comment