‘२० वर्षमा ६ ट्याक्सी चलाएँ’

बुधबार, १४ असार २०७४, ११ : ४७ शुक्रवार , Kathmandu
‘२० वर्षमा ६ ट्याक्सी चलाएँ’

भोज गुरुङ
ग १ ज ५६०९
के छ हालखबर ?
के हुनु नि, यी चोक कुर्ने र कताबाट मान्छे आउँछ भनेर बस्ने । कतिबेला मान्छे आउला र लैजाउँला, दुुई–चार सुको होला, कतिबेला पालो आउला भन्ने हो । यस्तै छ ।
कति भयो ट्याक्सी चलाउन थालेको ?
२०५४ सालदेखि यही पेसामा छु ।
कस्ताकस्ता ट्याक्सी चलाइयो त ?
हामीले चलाउँदा लाम्चो खालको टोयोटा, त्यसपछि मारुती, मिटरवाला हुँदै अहिले अल्टो चलाउँछु ।
भनेपछि ट्याक्सी चलाएर पेन्सन पकाउनुभयो ?
ट्याक्सी चलाएर पेन्सन पाक्यो भने पनि हुन्छ तर कहिलेसम्म पाक्ने थाह छैन ।
पहिले ट्याक्सी चढ्ने कत्तिको मान्छे पाइन्थे ?
त्यतिबेला ठूलो ढ्वाङ बस चल्थ्यो । माइक्रो थिएनन् । ट्याक्सी ‘क्यू थापेर’ चलाइन्थ्यो । महेन्द्रपुल, काहुँखोलातिर चलाइन्थ्यो । पोखरामा दुई तीन सय जति थिए । अहिलेजस्तो प्रतिस्पर्धा हुन्थेन ।
भाडा कति हुन्थ्यो ट्याक्सीको ?
महेन्द्रपुलबाट अमरसिंह ८ रुपैयाँ, हस्पिटलचोक, पृथ्वीचोक ६ रुपैयाँ थियो । प्रतिव्यक्ति ६ रुपैया उठाइन्थ्यो । अहिले त २००–२५० रुपैयाँ लिइन्छ ।  
त्यतिबेला तेल कति पथ्र्यो ?  
३७ रुपैयाँ लिटर ।
पहिले र अहिले ट्याक्सी चलाउनु फरक के रै’छ त ?
त्यतिबेला खासै यात्रु कुर्नु पर्थेन । जहाँ जतिबेला बसे पनि पाइन्थ्यो । अहिले दिनभर कुर्दा पनि पाइँदैन । कहिले त घर रित्तै फर्कनुपर्छ । पहिले धेरै कमाइ थियो । अहिले खासै कमाइ छैन । सस्तो खान पाइन्थ्यो । सस्तोमा हिँड्न पाइन्थ्यो ।
कसरी आइयो यो लाइनमा ?
दुःखी परिवारको छोरो, संघर्ष गर्न मन लाग्ने । केही गर्ने अवसरको खोजी गर्दागर्दै यतातिर आइयो ।
ट्याक्सी आफ्नै हो कि साहुको ?
२० वर्षमा ६ वटा ट्याक्सी चलाएँ । झन्डै १० वर्ष चलाएपछि आफैँ ट्याक्सी किनेँ । यो लाइनमै समय बिताउने भएपछि आफैँ ट्याक्सी किनेको हो ।  
झ्याम्म पैसा कमाएर किन्नुभो ?
कहाँ त्यस्तो हुनु ! अलिअलि जम्मा गरेँ । बाँकी किस्तामा तिर्ने गरी ऋण गरेँ । अहिले किस्ता ‘किलियर’ गरेँ र बल्ल आफ्नो नाममा गाडी बनाउन सकियो ।
दैनिक कमाइ कत्तिको हुन्छ ?
सरदरमा दुई हजार÷पच्चिस सय रुपैयाँ हुन्छ ।
कुन रुट चलाउने ?
गण्डकी हस्पिटलचोकमा बढी बस्छु । अन्य ठाउँमा गएर पनि ‘क्यू’ लगाउँछु ।
रिजर्भ जान्छ होला नि धेरै ?
म त धेरै रिजर्भ नै जान्छु । त्यसैले म धेरैजसो पोखराबाहिर हुन्छु । लामो समय भएर होला नियमित ग्राहक पनि छन् ।
राजनीतिमा कत्तिको रुचि छ ?
राजनीति त के हुने र खै ? पार्टीका लागि भनेर हिँडिदैन । अहिलेलाई भोट हालियो । मैले भोट हालेको मान्छेले जित्छ जस्तो छ ।
यात्रुसँग कत्तिको बार्गेनिङ हुन्छ ?
कोही राम्रो पर्छ, कोही नराम्रो पर्छ । किचकिच गर्नेहरु पनि हुन्छन् । बार्गेनिङ त भइहाल्छ नि !
मिटर लगाए त बार्गेनिङको टेन्सन साफ हुन्न र ?
सबै कुराको भाउ बढ्यो, मिटरको भाउ बढेन । मिटर पनि बढाएन । समितिले तोकेरै चलाउने भनेर त्यसरी चलाएको छ । हरेक सामानको सामान बढे पनि ट्याक्सीको भाडा समायोजन भएन । त्यही भएर हामिले मिटरमा ट्याक्सी लगाउन सकेनौं । यदि सरकारले न्यूनतम चार्ज ५० रुपैंया राखेर समायोजन गरे हामी लगाउँछौं ।
ट्याक्सी चलाएर सन्तुष्ट हुनुहुन्छ ?
पाँच जनाको परिवार पालेको छु । खुसी छु । जहान परिवारसँग बस्न पाइएको छ । दुई छोरा एक छोरी पढाउन सकेको छु । विदेश भए यस्तो कहाँ पाउनु !
परिवारलाई कत्तिको घुमाउनुहुन्छ ?
कहिलेकाहीँ मात्रै हो, नत्र फुर्सद हुँदैन । पहिला शनिबार चलाउँदिन थिएँ । फुर्सद हुन्थ्यो । अहिले शनिबार पनि चल्ने भएकाले परिवारलाई घुमाउने फुर्सद छैन । पैसो कमाउनुप¥यो । परिवारलाई घुमाए आउँदैन तर घुमाउन नपाउँदा दुःख लाग्छ ।
गीत कत्तिको सुनिन्छ ?
धेरैजसो लोकगीत र गुरुङ गीत सुन्छु ।
प्रस्तुति : मनोज घर्तीमगर

Leave A Comment