चलचित्रमा आफ्नै कथाव्यथा

सोमबार, १२ असार २०७४, ०१ : ३५ गोपाल दाहाल , Kathmandu
चलचित्रमा आफ्नै कथाव्यथा

नेपाली चलचित्र क्षेत्रमा पूर्वका धेरै कलाकार, निर्माता र निर्देशक राजधानीमा केन्द्रित भएर मूलधारका चलचित्रमा व्यस्त छन् तर पूर्वमै बसेर चलचित्रकर्म गरिरहेकाहरु भने स्थानीय कथाव्यथा, जीवनशैली र स्थानीय कलाकार समेटेर धमाधम चलचित्र निर्माण गरिरहेका छन् ।
मूलधारबाहिरका निर्माताहरुको दाबी छ, ‘हामीले हाम्रै कथालाई बढी महत्व दिएका छौँ ।’ हुन पनि पछिल्ला समय रिलिज भएका फिल्मले जनजाति समुदायका संस्कार, संस्कृतिलाई महत्व दिएर फिल्म बनाउन थालिएको छ ।
असार २ बाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘तारेभीर’मा जनजाति छोरीहरुको सक्रियता देखाइएको छ । यस फिल्ममा जनजातिका छोरीचेली अन्य जातिका भन्दा बढी स्वतन्त्र हुन्छन् । घरव्यवहारमा एक किसिमको मातृसत्तात्मक चरित्र हुन्छ । घरबाहिर पनि उनीहरुको सक्रियता पुरुषभन्दा कम हुँदैन भन्ने प्रस्ट्याउन खोजिएको छ ।
प्रेम सुब्बा निर्देशित ‘तारेभीर’मा विष्णु चेम्जोङ र रेखा फागोलाई भिलेनहरुसँग लड्ने–भिड्ने मुख्य भूमिकामा प्रस्तुत गरिएको छ । धेरैजसो चलचित्रमा एक्सन भूमिकामा अधिकांश पुरुष पात्र हुन्छन् । महिला पात्रको भूमिका ‘रोनाधोना’मै बढी हुन्छ । ‘तारेभीर’मा दिदी–बहिनीको भूमिकामा देखिएका विष्णु र रेखा अन्याय, अत्याचार नसहने र खराब तत्वहरुसँग डटेर लड्ने पात्रका रुपमा छन् । उनीहरुलाई यही ‘बोल्ड’ र ‘फरवार्ड’ रुपमा देखाउन दुई वर्षभन्दा बढी समय लागेको निर्माता डिके देवानको भनाइ छ । चलचित्रमा एक्सनकै लागि रेखाले दुई वर्ष मार्सल आर्ट सिकिन् भने गायिका र मिस नेपालीकी मिस ट्यालेन्ट जितेकी विष्णुलाई पनि चलचित्रमा प्रहरी अधिकृत बन्न धेरै कसरत गर्नु प¥यो । विष्णु भन्छिन् ‘लिम्बु समुदायमा छोरीमान्छे स्वतन्त्र र सक्रिय हुने भएकाले पनि रोल गर्न गाह्रो भएन तर बन्दुक चलाउन र फाइटका लागि अभ्यास धेरै गर्नु प¥यो तर हाम्रो काम दर्शकले मन पराए ।’
लाहुरे समुदायमा विदेशबाट फर्र्किदा साथीभाइको पार्सल ल्याइदिने चलन छ । त्यसै विषयलाई निर्माता किशोर सम्बाहाङ्फेले चलचित्रमा उतारे । उनको चलचित्र ‘पार्सल’ गत वर्ष प्रदर्शन भयो । चलचित्रले सोचे जस्तो व्यापार गरेन तर उनी अर्को चलचित्र निर्माण गर्ने सुरमा छन् । भन्छन्, ‘हामीले बनाउने चलचित्र बलिउडको नक्कल होइन, आफ्नै गाउँठाउँका कथा हुन् । धेरै नाफा नभए पनि दर्शकमा आफ्ना कथा हेर्ने चलन बढेकोमा खुसी लाग्छ ।’
त्यसो त ‘तारेभीर’का निर्देशक प्रेम सुब्बाले केही वर्षअघि चलचित्र ‘निशानी’ निर्माण गरेका थिए । भूपू भारतीय गोर्खा सैनिकका छोरा उनले चलचित्रमा भारतका लागि गोर्खाली सैनिकले लडेको कथा प्रस्तुत गरे । आफैं सैनिक क्याम्पमा हुर्किएका उनले आफैंले देखेभोगेका सैनिक जीवनका कथा चलचित्रमा उनेका थिए । चलचित्र र रंगकर्ममा तीन दशक बिताएका उनी चलचित्रमार्फत आफ्नो समाज र समुदायका कथाव्यथा प्रस्तुत गर्दैआएका छन् । प्रदर्शन हुन बाँकी चलचित्र ‘भूपू लाहुरे’मा मुख्य भूमिका निभाएको उनी सुनाउँछन् । ‘मैले अभिनय गरेका, निर्माण गरेका र निर्देशन गरेका चलचित्रहरु प्रायः आफैंले अनुभव गरेका मौलिक कथामा आधारित छन् । व्यवसायिक रुपमा असफल भए पनि तिनमा समाजको चित्र छ,’ उनको दाबी छ ।
इटहरीका भीम लामा पनि पूर्वमा बसेर फिल्म बनाउनेमध्येमा पर्छन् । इटहरीमा बसेर चलचित्रकर्म गरिरहेका लामा नयाँ चलचित्र ‘राम राज्य’ निर्माणको तयारीमा छन् । पूर्वमा बनेका ‘डार्लिङ’, ‘सरप्राइज’ लगायतका चलचित्र निर्देशन गरेका लामाले ‘रामराज्य’मा भने इटहरीकै कथावस्तुमा बनाउन लागेका हुन् । भन्छन्, ‘आफ्नै गाउँठाउँको कथा र स्थानीय विषयमा बनाउँदा दर्शकहरुले मन पराउँदा रहेछन् । मौलिकता पनि आउँदो रहेछ ।’
नवीन सुब्बाले लिम्बू सामाजको चलचित्र ‘नुमाफुङ’ बनाएपछि खुबै चर्चा भयो । त्यसपछि अलगधारका चलचित्र बन्न थाले । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा नवीनकै शैली पछ्याउँदै मौलिक कथावस्तुमा बनेका चलचित्र दर्शकले मन पराउन थालेपछि आफ्नै समुदायका कथाव्यथा समेटेर चलचित्र निर्माण गर्ने क्रम बढ्दो छ । यस्ता चलचित्र बनाउनभन्दा प्रदर्शन गर्न कठीन हुने पूर्वका चलचित्रकर्मीको अनुभव छ । मल्टिप्लेक्सहरुले चलेका कलाकार खोज्ने, चलचित्रका वितरकहरुले पनि काठमाडौं बाहिरका चलचित्रकर्मीलाई बेवास्ता गर्नेजस्ता समस्या रहेको उनीहरुको भनाइ छ । त्यससँगै पूर्वमै बसेर चलचित्रकर्म गर्न प्राविधिक रुपमा समस्या छ । दक्ष प्राविधिक र सिर्जनशील चलचित्रकर्मीको कमी हुँदा धेरैजसो चलचित्रले दर्शकलाई तान्न सकेका छैनन् तर पहिलाको तुलनामा गुणस्तर वृद्धि भएको बताउँछन् निर्माता तथा कलाकार किशोर सम्बाहाङ्फे । भन्छन्, ‘आर्थिक रुपमा घाटा भए पनि हाम्रा कथाव्यथा भएका चलचित्रको कुनै समय समाजले मूल्याङ्कन गर्ला भन्ने आशा छ ।’

Leave A Comment