‘जागिर खान मात्र नपढ्नू’

आइतबार, ११ असार २०७४, १२ : २९ शुक्रवार , Kathmandu
‘जागिर खान मात्र नपढ्नू’

केदारभक्त माथेमा
पूर्व उपकुलपति
त्रिभुवन विश्वविद्यालय

एसइईको नतिजापछि धेरै विद्यार्थी के पढ्ने र कसो गर्ने भन्ने अन्योलमा छन् । यस अन्योलको जवाफ अभिभावक र शिक्षकसँग हैन, विद्यार्थी आफैँसँग हुन्छ । आफू कुन क्षेत्र वा विषयमा बलियो छु अथवा कमजोर छु भन्ने कुरा विद्यार्थी आफैँलाई थाहा हुन्छ । हरेक विद्यार्थीले आगामी दिनमा अगाडि बढ्न मुख्यतया तीनओटा कुरामा ध्यान पुर्याउनुपर्छ । पहिलो कुरा, आफ्नो भित्री इच्छामा भर पर्छ । दोस्रो कुरा, आफूले इच्छा गरेको विषयमा आफू कत्तिको मजबुत छु भन्ने कुरा पनि आउँछ । त्यसका लागि आफ्नाबारे आफैँले मूल्याङ्कन गर्नुपर्छ । तेस्रो,  आफूले रोजेको विषयमा कस्तो भविष्य छ भन्ने कुरामा पनि उत्तिकै चासो राख्नुपर्छ ।
यो समयमा सही निर्णय गर्न नसक्दा भविष्यमा पछुताउनु परेका धेरै उदाहरण छन् । विद्यार्थीले आज गरेको निर्णयले नै भविष्य निर्धारण गर्छ । यसकारण पनि विशेषगरी विषयको छनोट गर्दा मुख्य ध्यान पु¥याउनुपर्छ किनभने आज आफूले छनोट गरेको विषयले नै भविष्यमा आफू के बन्ने हो भन्ने कुराको निक्र्यौल गर्छ ।
धेरैले विद्यार्थीले जागिर खाने उद्देश्यले पढ्छन् । पढाइ भनेको जागिर खानको लागि मात्रै हैन । आफू सचेत र सक्षम हुनको लागि पनि हो । जागिर खाएर धेरै पैसा कमाउने लोभमा आफूलाई इच्छा नभएको विषय पढ्दा पछि आफैँलाई समस्या हुन्छ । त्यस्तो अवस्थामा न जागिर खान सकिन्छ न पैसा कमाउन तर आफूलाई इच्छा लागेको विषयमा जति नै खर्च भए पनि त्यसले आफूलाई आत्मसन्तुष्टि दिन्छ ।
यस्तो बेला विद्यार्थी मात्र नभएर अभिभावक पनि उत्तिकै सजग हुनुपर्छ । उहाँहरुले सामाजिक प्रतिष्ठा पछाडि दौडिएर छोराछोरीलाई आफ्नो चाहनाअनुसार स्कुल र विषय रोज्न बाध्य पार्नु हुँदैन । साहित्यकार हुने छाँटकाँट भएका छोराछोरीलाई डाक्टर बनाउने कोसिस गर्दा त्यो विफल हुन्छ । सबै विद्यार्थी सबै विषयमा अब्बल हुँदैनन् । उनीहरुको आ–आफ्नै रुचिका क्षेत्र हुन्छन् । कोही साहित्यमा राम्रो हुन्छन् । कसैको झुकाव गणित र विज्ञानतर्फ हुन्छ । त्यस्तै कोही विद्यार्थी तर्क गर्न सक्ने क्षमताका हुन्छन् । उनीहरुले आफ्नो रुचि र क्षमता अनुसारले अगाडि बढ्नुपर्छ । त्यसमा परिवारको साथ र सहयोग अपरिहार्य हुन्छ ।
त्यस्तै विद्यार्थीले पनि साथीभाइको लहलहैमा लाग्नु हुँदैन ।  साथीभाइको लहैलहैमा लाग्दा आफ्नो क्षमता के हो भन्ने कुरामा नै अलमलमा परिन्छ । यसले भविष्यमा उनीहरुलाई नै घाटा पुयार्उँछ । यस्तो समयमा सही निर्णय गर्न आफैँले आफैँसँग प्रश्न सोध्नुपर्छ । अभिभावक तथा शिक्षकसँग त सल्लाह लिने मात्र हो ।
उच्च माविको छनोट गर्दा पनि विद्यार्थी आफैँ सजग हुनुपर्छ । एउटा फिल्म हर्न जाँदा त हामी पैसा खेर नजाओस् भनेर रिभ्यू हेर्छौँ । साथीभाइसँग फिल्म कस्तो छ भनेर सोध्छौँ । त्यसरी नै आफूले पढ्ने कलेजबारे उक्त कलेजमा पढ्ने दिदीदाइसँग सल्लाह माग्नुपर्छ । उज्ज्वल  भविष्यको आधार उचित उमाविको छनोट पनि हो ।

Leave A Comment