‘सुटिङताका निकै पटक रोएँ’

शनिबार, १० असार २०७४, ०१ : १२ शुक्रवार , Kathmandu
‘सुटिङताका निकै पटक रोएँ’

कुनै बेलाका ‘दबंग’ नायक सलमान खान एक्सन फिल्मका लागि चर्चित थिए तर पछिल्लो समय ‘दंबग’ छविलाई साइडमा राखेर उनी निर्दोष र सोझो भूमिकामा देखिन थालेका छन् । यसै कारण पनि प्रशंसकहरुबाट झन् बढी माया बटुल्दै आएका छन् । ‘बजरंगी भाइजान’ र ‘सुल्तान’ पछि उनी त्यस्तै सोझो भूमिकामा ‘ट्युबलाइट’मार्फत् देखिँदैछन् । शुक्रबार उनको फिल्म ‘ट्युबलाइट’ रिलिज भइसकेको छ । यसै सन्दर्भमा एक भारतीय मिडियाले गरेको कुराकानी ः
‘ट्युबलाइट’ फिल्म निर्देशक कबिर खानसँग तपाईंको दोस्रो फिल्म हो । ‘बजरंगी भाइजान’ हुँदै ‘ट्युबलाइट’सम्म आइपुग्दा कबिर खानलाई मेकरका रुपमा कसरी हेर्नुहुन्छ ?
कबिरले ‘काबुल एक्सप्रेस’को कथा सुनाएदेखि नै मलाई तालिबानी पात्रका रुपमा खेल्ने हुटहुटी जागेको थियो । उनले मसँग ठट्टा गरेका हुन् कि जस्तो लागेको थियो । ‘एक था टाइगर’, ‘बजरंगी भाइजान’ हुँदै ‘ट्युबलाइट’सम्म आइपुग्दा उनमा कुनै अन्तर पाएको छैन । उनको सिर्जनशीलता उस्तै छ ।
तपाईं र कबिर बीचको सम्बन्धमा केही परिवर्तन आएको छ ?
छैन । पहिला जस्तो थियो, ऊ अझै त्यस्तै छ । मैले केही भनेँ भने ऊ नकार्न सक्दैन । उसले केही भन्यो भने पनि मैले नकार्न सक्तिनँ । हामीबीच कहीँ न कहीँ समानता छ । हामीले चाहेअनुरुप फिल्मले अंक गणितमा पनि राम्रै गर्दैआएका छन् ।

तपाईंले आफ्ना फिल्मलाई अंकमा हेरेको सायद पाइँदैन । तपाईंका फिल्मले बक्स अफिसमा निकै राम्रो गर्छन् । तपाईं यसलाई कसरी हेर्नुहुन्छ ?
अहिले बलिउडमा अंक र गणित नै ‘बिग थिङ’ हो । जस्तो ‘बाहुबली’को सफलता । साउथतिर हाम्रा फिल्मले राम्रो नगरे पनि त्यहाँका गिनेचुनेका एकदुई हिरोहरुको स्टारडम हिन्दीको भन्दा बेसी छ । व्यापार पनि आक्रामक छ । त्यहाँका दर्शकमा अभिनेता प्रतिको भावना निकै गहिरो छ । कमल हसन हुन् या रजनीकान्त । त्यहाँको एउटा दर्शक रजनीकान्तको फिल्म मन परायो भने ऊ जीवनभर उनकै फ्यान भइरहन्छ तर हाम्रोमा यता त्यस्तो छैन । यता बलिउडमै हाम्रा केही अभिनेताहरु घरमै पाइरेटेड फिल्म हेर्छन् । हाम्रा दर्शकलाई नमन गर्नैपर्छ । उनीहरु हिन्दी फिल्म मन पराउँछन् । सँगसँगै हलिउड, चाइनिज र साउथ फिल्म हेर्छन् । सलमान खानको फ्यानले आमिर खानको फिल्म हेर्छ । अनि शाहरुखको पनि । यदि फिल्म राम्रो भयो भने सबैले त्यसलाई मन पराइदिन्छन् ।
तपाईं यो इन्डस्ट्रीमा २५ वर्षदेखि हुनुहुन्छ । तपाईं अझै प्रतिस्पर्धा नै गरिरहनु भएको छ कि त्यसबाट बाहिर आइसक्नु भयो ?
कुरा अन्यसँगको प्रतिस्पर्धाको होइन । आफु र आफूभित्रकै चरित्र कम्पिटिसन हो । जुन फिल्मले ठूलो कमाई गर्छ, त्यसको प्रतिस्पर्धा तपाईंकै फिल्मका कमाईसँग हुने गर्छ । अरुको कमाईसँग तुलना गर्नु राम्रो कुरा होइन । यहाँ त एकअर्कालाई तल पार्नु बुद्धिमानी मानिन्छ तर त्यस्तो राम्रो होइन । तपाईंले कसैलाई तल नराखी सधैं आफूलाई उँचो राख्ने प्रयास गर्नुपर्छ । तपाईंले यसलाई फलो गर्नुभयो भने अरुले पनि आफ्नो लेभल बढाउँदै जान्छन् । यो कुरा मैले मेरा सिनियरबाट ग्रहण गरिसकेको छु ।
कहाँको ‘दबंग’, कहाँको ‘ट्युबलाइट’ । गर्न चाहिँ के खोज्नु भएको हो ? छवि परिवर्तन ?
मलाई लाग्छ यो सबै मकहाँ आएका स्क्रिप्टकै कमाल हो । मेरो नयाँ एक्सन फिल्म ‘टाइगर जिन्दा हे’ हो । यसपछि म डान्सर बाबुका रुपमा आउँदैछु । ९ वर्षे छोरीको सपना पूरा गर्न बाबुले गर्ने रोचक संघर्षबारेको फिल्म हो त्यो । यो आजसम्मकै नौलो फिल्म हो । फिल्ममा बाबुछोरीको भावनात्मक सम्बन्ध हेर्न पाउनुहुनेछ ।
‘ट्युबलाइट’का लागि के कस्तो तयारी गर्नुभयो ? तपाईंले त अहिलेसम्मकै गाह्रो चरित्र भन्नुभएको थियो नि ?
यो मेरो आजसम्मकै निर्दोष भूमिका हो । ‘ट्युबलाइट’को स्क्रिप्ट पढ्दै मैले मेरो पात्रका लागि महेश मन्र्जेकरका छोरा सत्य दिमागमा आएका थिए । सत्य निकै निर्दोष मान्छे हो । यो फिल्म गर्ने भनेपछि मैले महेशलाई तिम्रो छोरा सत्यलाई मकहाँ पठाइदेऊ, उसबाट म केही सिक्न चाहन्छु भनेको थिएँ र सिकेँ पनि । मैले गर्न लागेको पात्र लक्ष्मण सिंह विष्टको हो । त्यस पात्रबारे सत्यलाई पढ्न लगाएँ । उसले एक पेज पढ्यो अनि भन्यो, ‘सर यो के हो ?’ मैले यो मेरो नयाँ फिल्मको पात्र हो भनें । उसले थप्यो, ‘तपाईंले पढ्न भनेपछि त यो मैले खेल्नुपर्ने होला भन्ने सोचेको थिएँ ।’ ‘असल र सरल चरित्रको पात्र भएको हुँदा म तिमीलाई हेरेर त्यसको तयारी गर्न आँटेको’ भनें । त्यस्तै पर्वेजले भिडभाडका लागि मेरो चरित्रका लागि काम गरेको छ । लङ सट र भिडभाडको सिनमा उसले मेरो बडी डबल गरेको हो । ऊ पनि निकै सरल छ । यी दुई नै ‘ट्युबलाइट’का लागि मेरो प्रेरणा हुन् ।
 ‘ट्युबलाइट’मा तपाईं र भाइ सोहिल खान एकैपटक पर्दामा दाजुभाइकै रुपमा आउँदै हुनुहुन्छ । यसबारे केही बताइदिनु न ?
स्क्रिप्टबारे सुन्दै मैले मेरो दिमागमा त्यस पात्रका लागि सोहेल दिमागमा आएको थियो । मलाई थाहा पाएसम्म मेकरहरु चल्तीकै स्टार कलाकारलाई नै लिन चाहेका थिए । यसो हुँदा सोहेलको नाम मैले दिनु ठीक हुँदैनथ्यो । धेरै पक्षलाई हेरेर मैले यो पात्रका लागि सोहेल नै फिट हुने देखेँ । सोहेलको ठाउँमा अरु नै कलाकार थियो भने मैले यत्तिको भूमिका गर्न सक्दिनथेँ होला ।

भनेपछि सुटिङताका सेटमा निकै भावानात्मक भइयो होला ?
पक्कै पनि । प्रायः म फिल्म गर्दा कुनै सिन गरिसक्दै अर्को के छ भनेर फटाफट काम गर्थें । यसको डबिङ गर्दै मेरो आँखाबाट आँसु खसे । सुटिङताका सेटमै पनि निकै पटक म रोएँ । एकदिनभरि नै इमोसनल सिन सुटिङ गर्नुपर्दा झन् मुटु भारी भएर आउँथ्यो । रोइकराई गर्ने ८ देखि १० घन्टा लामो सुटिङ पनि ग¥यौं । यो फिल्म निकै भावनात्मक पनि छ । यसो हुँदा यो मेरो आजसम्मकै निकै मिहिनेत परेको फिल्म हो ।

Leave A Comment