राणा कालसम्बन्धी अशुद्धि

शनिबार, १० असार २०७४, ०१ : ०६ प्रा. दिनेशराज पन्त , Kathmandu
राणा कालसम्बन्धी अशुद्धि

काठमाडौँबाट गोरखापत्र संस्थानद्वारा प्रकाशित वि.सं. २०७४ आषाढ ३ गतेको गोरखापत्र ११७ वर्ष, ४२ अंकको ६ पृष्ठमा छापिएको देवेन्द्र अर्याल ‘‘आँशु’’को ‘भीमसेन थापादेखि शेरबहादुर देउवासम्म’ भन्ने लेखमा बमबहादुर राणा वि.सं. १९१२ देखि १९१३ सम्म प्रधानमन्त्री बन्नु भएको थियो, रणोद्विप सिंह राणाले वि.सं. १९३३ देखि १९४२ सम्म प्रधानमन्त्री बन्नुभयो, उहाँको जन्म वि.सं. १८२२ मा भएको थियो, वि.सं. १९३८ सालको पर्व युवराज त्रैलोक्य र राजकुमार नरेन्द्रविक्रम शाहको राणाहरु समाप्त पार्ने प्रयास थियो, जुन सफल हुन सकेन’ भनी लेखिएको छ ।
यहाँ बमबहादुर वि.सं. १९१२ देखि १९१३ सम्म प्रधानमन्त्री भए, रणोद्दीपसिंहको जन्म वि.सं. १८२२ मा भएको हो, वि.सं. १९३८ सालको पर्वमा त्रैलोक्यविक्रम शाह थिए भनी लेखिएको छ । दाजु जंगबहादुरले प्रधानमन्त्री पद छोडेपछि वि.सं. १९१३ श्रावण १८ गते प्रधानमन्त्री भएका बमबहादुरको वि.सं. १९१४ ज्येष्ठ १४ गते मृत्यु भयो, रणोद्दीपसिंहको जन्म वि.सं. १८८२ वैशाख २२ गते भएको हो, त्रैलोक्यविक्रम शाहको मृत्यु वि.सं. १९३४ मा भएको हो, वि.सं. २०३२ मा काठमाडौँबाट संशोधन–मण्डलद्वारा प्रकाशित पूर्णिमा ३३ पूर्णाङ्कमा छापिएको दिनेशराज पन्तको शुभराज्याभिषेकको अवसरमा प्रकाशित ‘फ्याक्ट्स अबाउट् नेपाल’मा रहेका अतथ्य कुरा भन्ने लेखमा (त्यस पूर्णांकका ४३–४५ पृष्ठमा) तथा वि.सं. २०५५ मा ललितपुरबाट संशोधन मण्डलद्वारा प्रकाशित पूर्णिमा ९३ पूर्णांकमा छापिएको दिनेशराज पन्तको कुण्डली सङ्ग्रह भन्ने लेखमा (त्यस पूर्णांकका १५, २३ पृष्ठमा) यस विषयमा सप्रमाण लेखिएको छ । यस कारण वि.सं. १९१२–१९१३ मा बमबहादुर प्रधानमन्त्री भए, वि.सं. १८२२ मा रणोद्दीपसिंहको जन्म भयो, वि.सं. १९३८ को पर्वमा त्रैलोक्यविक्रम शाह थिए भनी गोरखापत्रमा लेखिएको कुरा अशुद्ध ठहर्छ ।
(अघिल्लो अंकमा यसै स्थानमा शीर्षक अन्तर्गतको ‘फत्तेजङ्ग शाह’ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।– सम्पादक)

 

Leave A Comment