फ्ल्याट फेसन

मङ्गलबार, ०६ असार २०७४, ०१ : १५ शुक्रवार , Kathmandu
फ्ल्याट फेसन

–रचना श्रेष्ठ
स्टाइलिस देखिन युवतीहरु विभिन्न फेसन गर्दै हिँड्छन् । कपडासँगै बजारमा चलेका नयाँ–नयाँ डिजाइनका जुत्तामा ठाँटिन पनि खूब रुचाउँछन् । प्रोफेसनल देखिन र व्यक्तित्व झल्काउन हिल स्यान्डल उपयुक्त मानिन्छ  तर पुरानो फेसनको रुपमा मानिने फ्ल्याट जुत्ता रुचाउने पनि हिजोआज बढ्न थालेका छन् ।
मल, बजार वा कतै टाढा घुमघामका लागि पनि युवतीहरुको रोजाइमा फ्ल्याट जुत्ता नै पर्न थालेका छन् । सिभिल मलमा सपिङका लागि साथीहरुसँग घुमघाम गर्न आएकी काठमाडौं स्वयम्भूकी नवीना केसीले कालो फ्ल्याट जुत्ता लगाएकी थिइन् । फ्लोरल प्रिन्टेड वान पिस ड्रेसमा उनले क्लोज फ्ल्याट जुत्ता लगाएकी थिइन् । उनी भन्छिन्, ‘गर्मी पनि छ । अहिले त फ्ल्याट जुत्ता नै ठीक लाग्छ । म त बाहिर घुमघामका लागि पनि फ्ल्याट नै प्रयोग गर्छु । अरु त के हुनु ? यो लगाएपछि हिँड्न सहज लाग्छ ।’
हिल जुत्ता लगाउँदा कुर्कुच्चा दुख्ने, हिँड्दाहिँड्दै ब्यालेन्स नमिलेर लड्ने समस्या झेल्नु परेको काठमाडौं बुद्धनगरकी आस्ना चौधरी सुनाउँछिन् । ‘अग्लो देखिन हिल जुत्ता लगाउन मन लाग्छ तर हिल लगाउँदा त खुट्टा नै दुख्ने,’ उनले भनिन्, ‘सधैँ हिँडिरहनका लागि त फ्ल्याट जुत्ता नै सजिलो ।’
काठमाडौंको बाटोघाटोका कारण पनि फ्ल्याट जुत्ता नै रोज्ने पनि छन् । भक्तपुरकी भावना श्रेष्ठ बैंकमा काम गर्छिन् । बैंकमै काम गरे पनि उनलाई अग्लो जुत्ता लगाउन मन लाग्दैन । ‘काम गर्न काठमाडौं आउनुपर्छ,’ उनले आफ्नो अप्ठेरो खुलाउँदै भनिन्, ‘यहाँको बाटो जताततै खाल्डाखुल्डी परेको छ, हिलमा त हिँड्नै गाह्रो । म धेरैजसो अफिस ड्रेसमा क्लोज फ्ल्याट सुज नै प्रयोग गर्छु ।’
काठमाडौं ग्वार्कोकी सनम महर्जनलाई पनि फ्ल्याट जुत्ता नै मनपर्ने बताउँछिन् । ‘क्याजुअल ड्रेसमा पोइन्टेड, प्रिन्टेड, टाइअप लेस अहिले चलेको फ्ल्याट जुत्ता लगाएर हिँड्छु,’ उनले भनिन् । पानी परेको बेला होस् वा घाम लाग्दा, जुनै समयमा पनि फ्ल्याट नै उपयुक्त लाग्ने महर्जन बताउँछिन् ।
‘सहज र स्वास्थ्यका हिसाबले पनि फ्ल्याट सुज नै लगाउँछु,’ काठमाडौं टेकुकी सपना महर्जन भन्छिन्, ‘कहिले कता कहिले कता सधैँ दौडधूप गर्नुपर्छ । त्यसैले म त फ्ल्याट जुत्ता नै चुन्छु ।’
गर्मी याममा उपत्यकाबाहिर घुम्न जाने पनि उत्तिकै हुन्छन् । बाहिर घुमफिरका लागि फ्ल्याट जुत्तामै रमाउँछन्, आजका युवती । वान पिस, फोल्ड प्यान्ट, ग्रन्च जिन्स प्यान्ट, क्याजुअल वेयर जेसँग पनि फ्ल्याट जुत्ता लगाएर हिँड्छन् । काठमाडौं कालीमाटीकी निभा शाहलाई पनि फ्ल्याट जुत्ता खुब मनपर्छ । केही समयअघि साथीहरुसँग चोभार घुम्न गएको उनले बताइन् । घुम्न जाँदा फ्ल्याट जुत्तामै ठाँटिएर गएको उनको भनाइ छ  । ‘पानी प¥यो । हिल लगाएर गएको भए त साह्रै गाह्रो हुन्थ्यो । फ्ल्याट लगाएकाले हिँड्न सजिलो भयो । जहाँ मन लाग्यो मज्जाले हिँड्न पाइन्छ, नि फ्ल्याटमा !’ शाहले भनिन् ।
गर्मी मौसम सुरु हुनासाथ फ्ल्याट जुत्ता नै बढी चल्न थाल्छ । खिचापोखरीस्थित ‘गो सुज’की सञ्चालिका रोजिना ढुङ्गाना भन्छिन्, ‘क्लोज, ओपन, लेस, नन–लेस, प्रिन्टेड, विभिन्न रङ र डिजाइनमा अहिले बजारमा थुप्र्रै थरिका फ्ल्याट सुज आउन थालेका छन् । अहिले धेरैजसो फ्ल्याट नै खोज्न आउँछन् ।’ वान पिस अथवा हट प्यान्टमा माथिसम्म मसिनो डोरी जस्तो लेस बाँध्ने खालका जुत्ता पनि चलेको उनले जानकारी दिइन् ।
काठमाडौं पुरानो बानेश्वर हङकङ बजारमा लामो समयदेखि जुत्ताको व्यापार गर्दै आएकी उर्मिला श्रेष्ठका अनुसार अहिले फ्ल्याट जुत्ताकै फेसन चलेको उनी बताउँछिन् । ‘अघिल्लो वर्षभन्दा अहिले आधुनिकतम डिजाइनमा फ्ल्याट सुज आउन थालेका छन्,’ उनी भन्छिन्, ‘आकर्षक डिजाइन, रङ र फेसनमा हिलभन्दा पनि फ्ल्याट सुजकै मार्केट बढेको देख्छु ।’

 

 

Leave A Comment