गाडा ठेल्दै मकै पोल्दै

मङ्गलबार, ०६ असार २०७४, ०१ : १३ शुक्रवार , Kathmandu
गाडा ठेल्दै मकै पोल्दै

रचना श्रेष्ठ
बिहान तीन बजे उठेर उनी सधैँजसो मकै लिन कालीमाटी पुग्छिन् । त्यहाँबाट फर्केर उनी बानेश्वरको तरकारी बजारमा गएर तरकारी लिन पुग्छिन् । भीमसेनगोला चोकको पोलनेर गाडामा बिहान ७ बजेबाट तरकारी बेच्न थाल्छिन् । फेरि दिउँसो २ बजेदेखि उनी त्यही ठाउँमा मकै बेच्छिन् ।  रामेछापबाट ३० वर्षअघि काठमाडौं आएर संघर्ष गरिरहेकी ५१ वर्षीया देवकी थापाको दैनिकी यसरी नै बितिरहेको छ ।
पुरानो बानेश्वरमै उनको डेरा छ । उनको परिवारमा ५ जना छन् । उनी भने श्रीमान् र कान्छी छोरीसँग बस्छिन् । ‘जेठी छोरी र कान्छो छोरा आफैँ गरिखाने भएका छन्,’ उनले मलिन स्वरमा भनिन्, ‘श्रीमान्बाट कुनै पनि किसिमको साथ र सहयोग पाएकी छैन ।’
बिहेपछि श्रीमान्सँग उनी काठमाडौं आइन् तर जीवनमा देखेको सपनाभन्दा इतर उनले उल्टो दुःख, कष्ट खेप्नुपरेको सुनाउँछिन् । ‘होटलमा भाँडा माझ्थेँ, करेन्टको मेसिन चलाउँथेँ । ‘करेन्ट लाग्थ्यो,’ पहिलेका कुरा सम्झँदै उनी भन्छिन्, ‘अरुको काम गर्न गाह्रो हुँदो रहेछ, बेइमान गर्दा रहेछन् ।  भनेको बेलामा काम गर्न नसक्दा रिसाउने, झर्किने गर्छन् ।’ त्यसैले उनले आफ्नै व्यवसाय सुरु गर्ने अठोट गरिन् । त्यही अठोटअनुसार उनले सडकमै श्रम गर्न थालिन् ।
तरकारी बेच्दै र मकै पोल्दै गर्दा उनलाई एउटा गाढाको आवश्यकता महसुस भयो । त्यसैले साथीबाट ६ हजार खनखनी गनेर गाडा किनिन् । त्यसपछि उनले त्यही गाडामा बिहान तरकारी र दिउँसो मकै बेच्न सुरु गरिन् । गाडामा तरकारी, मकै बेचेरै उनले आफ्ना सन्तानलाई पढाइन् । भन्छिन्, ‘जेठी छोरीलाई १२ सम्म पढाएँ, कान्छो छोरोले १० पास गर्यो ।’ कान्छी छोरीलाई पढाउन दिनरात खटिरहेको उनले खुलाइन् ।
एक दशकदेखि उनले दिउँसोका चर्को घाममा मकै र तरकारी बेचिरहेकी छन् । ‘धुवाँले गर्दा आँखा पोल्छ, हात पोल्छ, कालो हुन्छ,’ दिनरात खटेको हात हेर्दै देवकी भन्छिन्, ‘हात हेर्दै मलाई खाना खान मन लाग्दैन ।’
पोलेको मकै रुचाउने मात्र होइन, काँचो मकै पनि किन्न आउने पनि उत्तिकै हुने उनी बताउँछिन् । उनले काँचो मकै २० रुपैयाँ र पोलेको २५/३० रुपैयाँमा बेच्ने गर्छिन् । दिउँसो २ बजेदेखि बेलुकी ८ बजेसम्म उभिएरै केही पैसा कमाउँछिन् । ‘यस्तै दुःख गरेरै छोराछोरीलाई आत्मनिर्भर बनाएँ,’ उनले सन्तोष मान्दै भनिन् ।
आफैँले काम ग¥यो भने कसैसँग हात फिँजाउन नपर्ने उनको भनाइ छ ।  ‘यताउता हिँड्नुप¥यो भने वा केही परेको ठाउँमा जानुपर्यो भने काम लाग्छ,’ उनले भनिन् । यसका लागि गरेको मिहिनेत पनि कम छैन । बिहान तीन/चार बजे मकै लिन कालीमाटी नपुगे मकै नै नपाइन सक्छ । ‘कतिपय अवस्थामा त यिनै मकै लिन तँछाडमछाड हुन्छ,’ देवकीको भनाइ छ ।
दिनमा मकै बेच्दा एक बोरा काठ लाग्ने उनी बताउँछिन् । यसका लागि उनी फुर्सदमा फर्निचर पसल खोज्दै हिँड्थिन् । अहिले भने चिनजानका साथीभाइबाट उनले बटुल्ने गरेकी छन् ।
बच्चादेखि बूढासम्म मकै खान आउने गरेको उनले नियालेकी छन् । ‘कोही अफिसबाट भोक लागेर आउँछन्, कोही स्वास्थ्यका लागि राम्रो गर्ने मकै नै छान्छन् । कसैले मीठोको लागि पनि खान्छन्,’ उनले आफ्ना ग्राहकका बारेमा भनिन्, ‘कोहीलाई भने धेरै हतार हुन्छ अनि छिटोछिटो गर्दिनू भन्छन् । कोही त पोल्दापोल्दै बीचमै छोडेर जान्छन् ।’ आफूकहाँ आएको ग्राहक खाली हात जाँदा उनलाई नमज्जा लाग्छ ।
सडकमा व्यापार गर्नलाई पनि धुकचुक नै रहेको उनको गुनासो छ । ‘नगरपालिका आएर लखेट्छ,’ देवकीको दिक्दारी बोल्छ, ‘कति भाग्नु ? पहिले त सडकमा बस्दा कति पटक त ढक नै लगेको थियो ।’ अहिले त्यति  दुःख नदिने उनको भनाइ छ ।
सडकमा बसेर व्यापार गरिसकेपछि सरसफाइमा पनि उत्तिकै सजक देखिन्छिन् उनी । उनले फालेका मकैका खोस्टा गाई पाल्ने मान्छेलाई दिन्छिन् । ‘फाल्नुभन्दा वस्तुको मुखमा त पर्छ,’ उनले भनिन् ।
मकैबाट महिनामा १५/२० हजार जति कमाइ हुने उनको भनाइ छ । ‘तरकारीबाट भने ठेगान हुँदैन,’ देवकी भन्छिन्, ‘कहिले हुन्छ कहिले हुँदैन ।’ देवकीले दिउँसो घामको ताप र आगोको रापमा सेकेर गरिखाने बाटो रोजेकी छन् ।
राति ११ बजे सुतेर फेरि उही ४ बजे उठेर काम गर्नुपर्छ, देवकीलाई । बिहान ७ बजेदेखि ११ बजेसम्म तरकारी बेचेर फेरि डेरामा फर्किन्छिन् र खाना खान्छिन् । ‘दिउँसो एकछिन फुर्सद हुन्छ । फेरि मकै बेच्ने समय भइहाल्छ,’ उनले भनिन् । बिहान र दिउँसोको थकानले रातमा पनि उनलाई मस्त निद्रा नलाग्ने दुःख सुनाउँछिन् । दुःख गरेर पढाएका छोराछोरीबाट भने उनी ढुक्क छिन् । ‘जेठी छोरी र कान्छो छोरो भेट्न आउँछन् । जे होस् खुसी लाग्छ,’ उनले भनिन् । बिहानबेलुकी यसरी नै व्यस्त भए पनि उनलाई दुःख लाग्दैन । व्यस्त जीवनलाई नै उनी सुखी ठान्छिन् । एक दिन पनि उनी बिदामा बस्दिनन् । दिनहुँजसो उनी खटिन्छिन् । ‘ज्यान थला नपरेसम्म यसरी नै खट्न पाइरहूँ,’ उनको इच्छा छ ।

 

Leave A Comment