उपभोक्ताको सन्तुष्टि नै सफलता

मङ्गलबार, ०६ असार २०७४, ०१ : ०४ दिलीप पौडेल , Kathmandu
उपभोक्ताको सन्तुष्टि नै सफलता

पुस्तौनी पेसाबाट व्यवसायमा आएका वीरगञ्जका प्रकाश टिबडेवाल करिब डेढ दसकदेखि किचन बनाउने व्यवसायमा संलग्न छन् । वीरगञ्जबाट काठमाडौँ आई व्यवसाय सञ्चालन गरेका किचन कन्सेप्ट प्रालिका प्रबन्ध निर्देशक टिबडेवालसँग शुक्रबारका लागि दिलीप पौडेलसँग गरिएको कुराकानी :
कहिलेदेखि व्यवसायमा संलग्न हुनुहुन्छ ?
करिब १३ वर्षदेखि निरन्तर मोडुलर किचनको व्यापारमा छु ।
व्यवसाय यात्राको कसरी सुरु गर्नुभयो ?  
हामी व्यापारिक घरानामा हुर्कियौं । सुरुमा बुबाले गर्दै आएको काठ र प्लास्टिकको व्यापार गर्थें । पछि नयाँ व्यवसायमा हात हालेँ ।
कसरी नयाँ व्यवसाय सुरु गर्ने योजना बन्यो ?
वीरगन्जमा काठ र प्लास्टिकको व्यापार गर्दागर्दै विदेश जाने क्रममा नेपालमा कुनै नयाँ चिज ल्याउनु पर्छ भन्ने लाग्यो । हामी व्यावसायिक मान्छे कुन क्षेत्रमा अवसर छ भनेर हेर्छौं । मोडुलर किचनको सम्भावना र भविष्य देखेपछि दुई जना मिलेर यो व्यवसाय गर्दैआएका छौँ । पछिल्लो समय यो व्यवसाय फस्टाउँदै गएको छ ।
नेपालमा भान्सा कोठा व्यवस्थित गर्ने कल्चर कस्तो छ  ?
नेपालमा आम्दानी कम भए पनि सकेसम्म राम्रोमा बस्ने, खाने लगाउने सोख छ । हरेक नेपालीको सपना छ, ‘आफ्नो घर र राम्रो घर’ । त्यसमा भान्सा भनेको सबैभन्दा महत्वपूर्ण हुन्छ । हाउस वाइफले ४० देखि ५० प्रतिशत समय किचनमा बिताउँछन् । त्यसैले पनि किचन महत्वपूर्ण हुन्छ । किचन राम्रो, व्यवस्थित, हाइजेनिक हुनुपर्छ किनभने हरेक बिहान र जीवन त्यहाँबाट सुरु हुन्छ । पहिला मोडुलर किचन हाइप्रोफाइलले मात्र प्रयोग गर्न सक्छन् भन्ने थियो । अहिले आम नेपालीलाई यसको आवश्यकता भएर प्रयोग गर्न थालेका छन् ।
किचन बनाउन खर्च कति लाग्छ त ?
अहिले नयाँ घर बनाउन न्यूनतम ५०/६० लाख खर्च हुन्छ भने व्यवस्थित किचन किन नबनाउने ? त्यसका लागि तीन/चार लाख रुपैयाँ खर्च गर्यो भने व्यवस्थित किचन बनाउन सकिन्छ । अहिले सर्वसाधारणको आकर्षण यसमा बढेको छ ।
किचन बनाउँदा किन तपाईंको कम्पनीमा आउने ?
हामीले पैसाभन्दा गुणस्तर कमाएका छौँ । गुणस्तरमा सम्झौता नगर्ने भएकाले हाम्रो एउटा पनि ग्राहक असन्तुष्ट छैन । किचन बनाउन प्रयोग हुने चुलो, चिम्नी, टायललगायत सबै सामग्री हामीले जर्मनी, इटली, चीन, भारतलगायत मुलुकबाट ल्याउँछौँ । नेपाली सामान पनि प्रयोग हुन्छ । हामीले बनाएको किचन युरोपेली मापदण्डभन्दा कम छैन । हामी कहाँ आए एक पटक बनाएको मोडुलर किचनले जीवनभर हाइसन्चो हुन्छ । टिकाउ छ । हाम्रो नारा नै ‘टोटल किचन सोलुसन’ हो । अर्को कुरा, हामीले भन्नुभन्दा पहिला किचन यस्तो बन्छ भन्ने नक्सा देखाएर मात्र निर्माण गर्छौं ।
कहाँ—कहाँबाट सेवा दिनु भएको छ ?
काठमाडौँबाहेक पोखरा, चितवन, बुटवल, इटहरी, विराटनगर, दमकमा पनि आउटलेट राखेर सेवा दिएका छांै । त्यसका अतिरिक्त वीगन्ज, हेटौंडा, नेपालगञ्ज लगायतका सहरमा पनि मागका आधारमा सर्भिस दिन्छौँ ।
अन्य क्षेत्रमा यहाँको संलग्नता ?
उद्योग वाणिज्य संघ वीरगञ्जमा सचिवको जिम्मेवारी लिएर काम गरेको थिएँ । लायन्स, लिओ क्लबबाट सामाजिक काम पनि गर्दैआएको छु ।
वार्षिक कति कारोबार हुन्छ ?
करिब आठ करोड रुपैयाँ ।
तपाईंको कम्पनीमा कतिले रोजगारी पाएका छन् ?
करिब एक सय जना ।
सफलताका लागि के चाहिँदोरहेछ ?
व्यवसायमा समय व्यवस्थापन महत्वपूर्ण हुन्छ । उपभोक्तालाई सन्तुष्टि दिन सके सफलता हात पार्न सकिन्छ ।
व्यावसायिक वातावरण कस्तो छ ?
सरकारी निकायले अनुगमनमा कडाई गर्छ र भन्सारबाट न्यून विजकीकरण भएर सामान आउँछ । यसलाई रोक्न सक्नुपर्छ । यसले कमसल र गुणस्तरहीन सामान बेच्नेलाई फाइदा पुगेको छ । बजार अस्वस्थ्य बनेको छ तर पनि योजनाबद्ध व्यवसाय गर्नेका लागि उपयुक्त वातावरण छ ।
आफ्ना सन्तानलाई पनि भविष्यमा व्यवसायमै लगाउनु हुन्छ कि ?
बालबच्चाको इच्छामा भर पर्छ तर बच्चालाई मेरो काममा लगाउँदिनँ । व्यापारमा धेरै झन्झट हुन्छ । व्यापार भएन भने ऋण, ब्याज तिर्ने काम चुनौतीपूर्ण छ ।
अन्य क्षेत्रमा यहाँको रुचि ?
राजनीतिक विषयमा बहस गर्न ।
मनपर्ने राजनीतिक नेता ?
बाबुराम भट्टराई । अहिले उहाँ छायामा पर्नुभएको छ तर उहाँ भिजन भएको नेता हो ।

Leave A Comment