मेसीको बिहे चर्चा

मङ्गलबार, ०६ असार २०७४, १२ : ५६ शुक्रवार , Kathmandu
मेसीको बिहे चर्चा

लियोनल मेसी विश्व फुटबलको लागि चर्चित नाम हो । विश्वभर मेसीका समर्थक करोडौं छन् । अर्जेन्टिनाका स्टार खेलाडी मेसी आफ्नो खेल्ने जादुमय शैलीले विश्वभरका समर्थकको ढुकढुकी बन्ने गरेका छन् । उनको चर्चा फुटबलमा हुनु कुनै नौलो कुरा होइन तर अहिले मेसी अर्कै कुराले विश्वभर चर्चित भैरहेको छन् । त्यो हो, उनको विवाह ।
मेसीको घरेलु सहर अहिले उनी र उनकी बाल्यकालदेखिकी प्रेमिका एन्टोनेल्ला रोकुजोको विवाह समारोह लागि दुलहीजस्तै सजाइँदैछ ।
यसै महिनाको अन्त्यमा हुने उक्त विवाह समारोहलाई दक्षिण अमेरिकामा दशककै विवाहको रूपमा हेरिएको छ ।
कोलम्बियन पप गायिका तथा मेसीको टोली सहयात्री जेरार्ड पिकेकी श्रीमती साकिराले पनि मेसीको विवाहमा उपस्थित हुने आशा व्यक्त गरेकी छन् ।
साकिराले हालै एक अन्तर्वार्तामा रोकुजोसँगको विवादका कारण आफूले विवाह समारोह गुमाउने कुराको खण्डन गरेकी थिइन् ।
‘मेसी र जेरार्ड सानैदेखि मिल्ने साथी भएकाले म उनीहरूको विवाह समारोहमा जान्छु,’ साकिराले भनिन् ।
रोसारियोका स्थानीय पत्रिका ला क्यापिटलले लुइस स्वारेज, नेइमार, सेस फाब्रिगास र जाभी हर्नान्डेजजस्ता बार्सिलोनाका वर्तमान तथा पूर्वहस्तीहरू विवाह समारोहका लागि निम्त्याइएको जनाएको छ ।
मेसीका सूचना अधिकारीले जुन ३० मा रोसारियोमा विवाह समारोह हुने बताएका छन् । जुन ३० मेसीको जन्म दिन पनि हो ।
विवाह समारोहमा आमन्त्रण गरिएका पाहुनाको सूची, विवाहस्थल र पार्टीका बारेमा विभिन्न अड्कलबाजी काटिँदैछ ।
सञ्चारमाध्यमले भने त्यहाँ मेसी र रोकुजोको धार्मिक परम्पराअनुसार विवाह हुने कुराको खण्डन गरेका छन् ।
उनीहरू दुवै जनाको परिवार र साथीहरू अझै उत्तरी सहरमा छन् जहाँ मेसी फुटबलप्रति आकर्षित भएका थिए । उनीहरू दुई जनाको भेट पनि यही सहरमा भएको थियो ।
मेसीका छोराहरू ४ वर्षे थियागो र डेढ वर्षीय माटियोको जन्म बार्सिलोनामा भए पनि उनीहरू दुवै जनाको न्वारन पनि यसै सहरमा गरिएको थियो ।
केही सञ्चारमाध्यमहरूले विवाह समारोहमा ६ सय जना पाहुनालाई आमन्त्रण गरिएको बताए पनि ला क्यापिटलले २१ जना बार्सिलोनाका खेलाडीसहित २ सय ५० जनाभन्दा बढी पाहुनालाई आमन्त्रित नगरिने दाबी गरेको छ ।
उनको विवाहमा विश्व फुटबलका हस्तीहरुको उपस्थिति हुने भन्दै सुरक्षा चासोलाई पनि प्राथमिकताका साथ हेरिएको स्रोतले दाबी गरेको छ ।
‘सहरमा मेसी खुला रूपमा हिँडडुल गर्ने भए पनि उनको विवाह समारोहमा विश्व फुटबलका हस्तीहरू उपस्थित हुने भएकाले हामीले उचित सुरक्षा व्यवस्था गर्नुपर्छ,’ स्रोतले भन्यो ।
फुटबल र राजनीतिलाई जोडेर हेरिने अर्जेन्टिनामा उनको विवाहको सम्पूर्ण व्यवस्थापन राष्ट्रपति माउरिसियो मास्रीकी श्रीमती बार्बरा दिइजले गर्ने बताइएको छ ।
दुलहीको पहिरन स्पेनिस डिजाइनर रोसा कार्लाले गर्ने र पाहुनाका लागि २० जना हेयर ड्रेसरको व्यवस्था गरिएको पनि ला क्यापिटल पत्रिकाले उल्लेख गरेको छ ।

Leave A Comment