‘पैसा कमाउन मात्रै फिल्म खेल्दिनँ’

आइतबार, ०४ असार २०७४, १२ : १० शुक्रवार , Kathmandu
‘पैसा कमाउन मात्रै फिल्म खेल्दिनँ’

परिपक्व अभिनयका लागि चर्चित इरफान खान फरक–फरक विधाका फिल्म गरिरहन्छन् । बलिउड हुँदै हलिउडका केही फिल्म गरिसकेका उनको पछिल्लो फिल्म ‘हिन्दी मिडियम’ समीक्षकबाट रुचाइएको फिल्म हो । पछिल्लो समय इरफान हलिउड फिल्म ‘पजल’मा काम गर्दैछन् । उनीसँग एक भारतीय मिडियाले गरेको कुराकानी ः
तपाईंको पछिल्लो फिल्म ‘हिन्दी मिडियम’ सामाजसँग निकट फिल्म थियो । कमेडीकै कारण फिल्मले राम्रो गर्यो । कमेडी गर्न कत्तिको सजिलो मान्नुहुन्छ ?
कथावाचनका अनेक माध्यम छन् तर पनि यसको ध्येय तपाईंलाई मनोरञ्जन दिने नै हो । तपाईंले महँगो पैसा तिरेर फिल्म हेर्ने कारण पनि यही नै हो । पूर्ण रुपमा मनोरञ्जनात्मक फिल्म तपाईंलाई मन पर्नसक्छ तर मलाई त्यस्ता फिल्मले खासै तान्दैनन् । कमेडी कथावाचनको एक तरिका हो । यो आममानिसमा पुग्न प्रभावकारी हुन्छ । मेरा लागि फिल्म सिधा नबगेर त्यसमा केही तह हुनुपर्छ । म फिल्मले मानिसलाई कस्तो सन्देश दिन्छ भनेर हेर्छु ।
तपाईंले गरेका फिल्ममा विविधता पाइन्छ । एकातिर तपाईं ‘जज्बा’, ‘तलवार’, ‘एक्सपोज’ गर्नुहुन्छ अनि अर्कोतिर ‘हैदर’, ‘थ्यांक यु’जस्तै ‘लन्चबक्स’ । यी फिल्ममा तपाईंको भूमिकामा केही समानता पाइन्छन् । तपाईंले यी फिल्म गर्दा आफूले के गर्दैछु भन्ने कुराको ख्याल गर्नुहुन्न ?
कुनै पनि भूमिका गर्न धेरै कुराको जरुरी पर्छ । परिर्वतनलाई आत्मसात गर्नु प्रमुख कुरा हो । कहिलेकाहीँ यो यत्तिकै भइदिन्छ । कहिले पैसाका लागि गर्नुपर्छ । कहिले नयाँकुराको अनुभवका लागि तर म अहिले यस्तो अवस्थामा आएको छु, पैसा कमाउन मात्रैका लागि म अब कुनै फिल्म खेल्दिनँ । यो कुनै पनि अभिनेताका लागि राम्रो कुरा होइन ।
के त्यसो भए तपाईं कुनै समय आर्थिक रुपमा सबल हुन मात्रै फिल्म गर्नुभयो ?
हो । अहिले मैले जानेअनुसार फिल्मको ३० प्रतिशत सरकारले लैजान्छ र बाँकी यत्तिकै बिलाउँछ । धेरै धनराशि दिएर विज्ञापनका लगि मलाई अफर आइरहन्छन् । मैले तिनलाई नकार्न पनि सक्दिनँ । म बेलाबेला कल्पना गर्छु, यदि मेरो प्रोडक्ट बजारमा आयो भने त्यसको पोस्टर बजारभरि टाँसिन्छ । केही प्रोडक्ट म आफैँलाई मन नपर्ने हुन्छन् । तिनमा आएको नाममा आँखा जुध्दा नरमाइलो लाग्छ तर अब म यो समयमा आफू म नै भएर बस्न चाहन्छु ।
तपाईंले खेलेका फिल्म हेर्ने हो भने तपाईंको फिल्मी यात्रा अपरम्परागत छ । तपाईंलाई अघि बढ्न केही कुराको डर छ ?
हो । असुरक्षा सबैलाई हुन्छ तर त्यसलाई यत्तिकै छाडिदिनु ठीक हो । तपाईं थोरै पनि प्रतिभावान् हुनुहुन्छ भने चान्स पाउनुहुन्छ । सबैभन्दा ठूलो चुनौती भनेको आफूलाई असुरक्षाका बीच पनि सबल पार्दै अहिलेको स्थानमा आउनु हो । असुरक्षाका बारेमा धेरै जानकार भएर काम गर्न थालियो भने कुनै पनि काम सफल नहुन सक्छ । तपाईं आफैँ नै आफ्नो प्रतिभाको भर गर्नुपर्छ । मौकाहरु आउँछन्, जान्छन् । हाम्रोमा केही निर्देशक छन्, एउटा फिल्मले राम्रो ग¥यो भने ठूला कलाकार लिएर फिल्म बनाउँछन् र सेलाउँछन् पनि । उनीहरु आफ्नो विशेषता के हो बिर्सन्छन् । स्टार कलाकारका लागि आफ्नो शैली परिवर्तन गर्नु ठूलो गल्ती हुन पुग्छ । अझ भन्नुपर्दा अनिश्चितता हाम्रो व्यवसायको प्रकृति हो । आफू वरपरको समस्यालाई समाधान गर्न सक्नुहुन्न भने तपाईं गलत पेशामा हुनुहुन्छ ।
तपाईं आफ्नो उद्देश्य पूरा गर्न आफ्नो कामबाट के कुरा हटाउन चाहनुहुन्छ ?
मैलै गर्दै आएको कामका लागि मात्र नभएर अरु चिजमा पनि म आफैँलाई हटाउन चाहन्छु । म आफूलाई मेरो नाम, धर्म र राष्ट्रियताका आधारमा परिचित हुन चाहन्नँ । यी भनेका पिँजडा हुन् । पहिचान नै आफैँमा इलिुजन (भ्रम) हो । हामी यस्तै भ्रममा बाँच्छौँ । त्यसैले केही पनि कुरा गम्भीर रुपमा लिनु बेकार हुन्छ ।
तपाईंको घर–परिवारबाट कत्तिको सहयोग पाइरहनुभएको छ ?
सोचेजस्तो त छैन । म हात फैलाएर बस्ने भिखारी हैन । बेला मौकामा म यी कुरा परिवारसँग सेयर गर्छु तर सबै कुराको एउटै निष्कर्ष निक्लन्छ, ‘यो झूटो पहिचानको कहिल्यै विश्वास नगर्नू ।’
यस्ता कुराले तपाईंले रोज्ने फिल्ममा असर गर्छ ?
म कुनै पनि फिल्म गर्नुअघि त्यस फिल्मले दिने अनुभवलाई ख्याल गर्छु । यदि कुनै फिल्मबाट मैले धेरैभन्दा धेरै सिक्न सक्छु भन्ने लाग्छ भने म तयार हुन्छु । यदि कुनै कथाले मेरो जीवनलाई कुनै असर पार्दैन भने त्यो फिल्म गर्न निकै गाह्रो पर्छ ।
कलाकारका रुपमा तपाईं अवार्डलाई कसरी हेर्नुहुन्छ ?
तपाईंले फिल्ममा दिएको प्रस्तुतिबाट दर्शक खुसी छन् र वाहवाही गर्छन् भने त्योभन्दा ठूलो अवार्ड अरु केही हुन सक्दैन । अवार्ड पाएँ भने म पक्कै खुसी हुन्छु । मलाई पद्मश्री जस्तो उम्दा पुरस्कारका लागि नामांकन गरिँदा मेरो शरीरमा छुट्टै ऊर्जा सञ्चार भएको थियो । अवार्ड पाउनुको छुट्टै मज्जा छ तर क्रेडिबिलिटी बिनाको अवार्ड केही होइन ।
एजेन्सी

 

Leave A Comment