बराबरीमा रोकियो नेपाल

शनिबार, ०३ असार २०७४, ०२ : २७ कमल खत्री , Kathmandu
बराबरीमा रोकियो नेपाल

पहिलो पल्ट हल्चोक मैदानमा खेलेको नेपाली राष्ट्रिय टोलीले यमनसँगको पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । बराबरीसँगै एएफसी एसिया कप छनोटअन्तर्गत समूह ‘एफ’ मा रहेको नेपालले १ अंक जोड्दै खाता खोलेको छ । मंगलबार हल्चोकमा खेलेको नेपालले अब यमन विरुद्धको अवे खेल कतारमा मार्च २७ मा खेल्नेछ ।
यमन भने ४ अंकसहित समूहको शीर्ष स्थानमा पुग्यो । नेपालले सुरुआतदेखि भ्रमणकारी टोलीविरुद्ध दबाब बनाएको थियो । यमनको तुलनामा नेपालले विपक्षीको पोस्टमा बढी आक्रण गरेको थियो तर नेपालका सबै आक्रमण फितलो साबित भए ।
एक साताअघि भारतसँग मैत्रीपूर्ण पराजित भएको नेपाली टोलीले मंगलबार खेलमा आफनो पकड राखेको थियो ।
राष्ट्रिय टोलीका प्रशिक्षक ग्याटुको कोजीले प्रदर्शनबाट खुसी भए पनि नतिजाबाट सन्तुष्ट हुन नसकेको बताएका छन् । उनले भने, ‘नेपालको प्रदर्शनबाट म खुसी छु । हामीले डिफेन्समा राम्रो ग¥यौं । नतिजा हाम्रो लागि राम्रो भएन । घरेलु मैदानमा जित हासिल गर्नु पर्ने थियो तर बराबरी नतिजा पनि नराम्रो होइन ।’
भारतसँगको मैत्रीपूर्ण खेलले टोलीको खेलमा सुधार गर्न सहयोग गरेको कोजीले खेल सकिएपछि प्रतिक्रिया दिए । एक साताअघि मुम्बईमा भएको मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २–० ले पराजित भएको थियो । प्रशिक्षकले कोजीले नतिजा आफ्नो पक्षमा नआए पनि खेलबाट सन्तुष्ट रहेको बताए । कोजीले भने, ‘यमन बलियो टोली हो । हामीभन्दा माथि छ फुटबलमा । खेलाडीले राम्रो खेले तर गोल भएन । उनीहरुले रक्षात्मक रुपमा खेले । बराबरी त्यति नराम्रो नतिजा होइन । अब काजकिस्तानविरुद्ध राम्रो खेल्नेछौं ।’
रमजान ब्रतको बेला यमन टोलीका खेलाडीले मैदानमा डटेर नेपाली खेलाडीको सामना गरे । यमन प्रशिक्षक इबराहम मेबरातोले खेलाडीलाई रमजानका कारण फिटनेसमा अप्ठ्यारो परिरहेको बताएका थिए । जित हासिल गर्न नसके पनि यमनले ४ अंक जोड्दै फाइनल चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।
प्रशिक्षक मेबरातोले जित हासिल गर्ने लक्ष्य भए पनि बराबरी नतिजा पनि टोलीका लागि खुसीको कुरा भएको बताए । ‘नतिजाबाट हामी समूह चरणमा बलियो भएको छौँ । नतिजाबाट खुसी छैन तर बराबरी खेल्नु पनि हाम्रो लागि फाइदाजनक हो । त्यसमा खुसी हुनुपर्छ, प्रशिक्षक मेबरातोले भने, ‘हामी नेपाललाई सम्मान गर्न चाहन्छौं । उनीहरुले घरेलु मैदानमा अनुशासित भएर खेले । गोल गर्ने प्रयास गरेको हौं । नेपाली गोलकिपरले राम्रो बचाउ गरे ।’
समूह चरणमा यमनले यसअघिको खेलमा काजकिस्तानलाई २–१ ले हराउँदै विजय सुरुआत गरेको थियो । प्रत्येक ६ समूहको दुई शीर्ष टोलीले एसिया कप खेल्न पाउनेछ । समूहमा ताजिकिस्तानमात्र अंक जोड्न नसकेको छैन ।
छनोट चरणको पहिलो खेलमा नेपाल अवे खेलमा फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो । प्रतियोगिताअन्तर्गत अब नेपालले आगामी खेल ताजकिस्तानविरुद्ध खेल्ने छ । हल्चोकमा नेपाल र ताजकिस्तानले सेप्टेम्बर ५ मा भिड्ने छन् ।
फिफा वरियतामा यमन नेपालभन्दा माथि भएको टोली हो । यमन १ सय २४ औं र नेपाल १ सय ६९ औँ स्थानमा छ । यमन र नेपालले पहिलो पटक बराबरी खेलेको हुन् । यसअघि यमनविरुद्ध राष्ट्रिय टोली र उमेर समूह टोलीले समान १ पटक खेलेको छ । दुवैमा नेपाल पराजित भएको थियो ।

 

 

Leave A Comment