पुटिनको १० करोड पर्ने घडी लिलामीमा

शनिबार, ०३ असार २०७४, ०२ : १९ शुक्रवार , Kathmandu
पुटिनको १० करोड पर्ने घडी लिलामीमा

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले जुलाईमा हुने ‘मोनाको लिजेन्ड अक्सन’मा आफ्नो बिलासी घडी लिलामीमा राख्ने भएका छन् । रुसी राष्ट्रपतिले बिलासी घडी निमार्ता कम्पनी पाटेक फिलिपीको ‘पाटेक फिलिपी ५२०८ पी’ मोडलको घडी लिलामीमा राख्न लागेका हुन् ।
५२०८ पी मोडलको घडी अत्यन्तै जटिल र ‘मिनेट रिपिटर’ जस्ता विशेषता सहितको घडी हो । यस घडीले ‘स्टप वाच’, क्यालेन्डर र अधिवर्ष जस्ता कुराहरुलाई पनि समेट्छ ।
यो घडी जो पायो त्यहीले किन्न पनि पाउँदैनन् । घडी किन्नका लागि कम्पनीले पत्याएको व्यक्ति हुनुपर्छ । यसको बजार मूल्य १० लाख डलर हाराहारी पर्छ, जसले यस घडीलाई विश्वकै महङ्गो घडीहरुको सूचीमा उभ्याएको छ ।
कागजातमा मिति उल्लेख नगरेका कारण यो घडी कुन वर्षमा बनेको भन्ने तथ्य अझै खुलेको छैन तर पुटिनले यो घडी लण्डनमा किनेका थिए भन्ने तथ्य भने खुलेको छ । पुटिन घडीको सोखिन नेता मानिन्छन् । १ लाख १२ हजार वार्षिक तलब खाने पुटिनसँग आफ्नो तलबभन्दा कैयौं गुणा बढी मूल्य पर्ने घडीहरुको संग्रह छ ।
कसैकसैले यो पुटिनकै घडी हो वा होइन भन्ने विषयमा पनि शंका व्यक्त गरेका छन् । पाटेकले आफ्ना ग्राहकहरुको नाम र ठेगानाको तथ्याङ्क राख्ने गरेको भए पनि यसलाई रुजु गर्न कठिन देखिन्छ ।
घडीको लिलामी मूल्य उच्च हुने अनुमान गरिए पनि त्यसको यकिन भने भैसकेको छैन ।

 

Leave A Comment