नकारात्मकताको सामना कसरी गर्ने ?

बुधबार, ३१ जेठ २०७४, ०१ : ४० शुक्रवार , Kathmandu
नकारात्मकताको सामना कसरी गर्ने ?

नचाहेर पनि कहिलेकाहिँ नकारात्मक मानिस वरिपरि घुमिरहेको हुन सक्छ । त्यस्तो व्यक्तिले सम्पूर्ण वातावरण नै दुषित बनाइदिन्छ । जीवनमा खुशी रहन र लक्ष्यमा सफलता हासिल गर्न त्यस्ता नकारात्मक व्यक्तिहरुबाट टाढा रहनु उचित हुन्छ । आफ्नो नजिक नकारात्मक सोचाइ भएका मानिस भएको थाहा पाएमा त्यस्ता व्यक्तिबाट दूरी कायम गरेर अगाडी बढ्नु जरुरी छ ।
नकारात्मक व्यक्तिको पहिचान गर्नुहोस्
नकारात्मक व्यक्तिबाट बच्न सबैभन्दा पहिले तपाईंको नजिक रहेका नकारात्मक व्यक्ति पहिचान गर्नु आवश्यक छ । त्यो व्यक्ति जो पनि हुन सक्छ । परिवारकै कुनै सदस्य वा कुनै नजिककै साथी पनि । घटना र विषयमाथि नकारात्मक विचार मात्र भएको, आफ्नो समस्या मात्र भनिरहने, गुनासोका बाहेक कुरा नै नगर्ने, तपाईंमाथि अति नै आलोचनात्मक अभिव्यक्ति  दिने, झुठो बोल्ने मानिसले तपाईंको समय र शक्ति बर्बाद पारिरहेको हुन सक्छ ।
नकारात्मक व्यक्तिसँगको सञ्चार सीमित या समाप्त गर्नुहोस् ।
सकेसम्म नकारात्मक व्यक्तिसँगको सम्पर्कलाई नै इन्कार गर्नुहोस् । त्यस्ता व्यक्तिसँग सम्पर्कलाई अन्त्य नै गर्न नसक्ने अवस्था रहेमा त्यस्ता व्यक्तिसँग कम मात्र समय बिताउने गर्नु राम्रो हुन्छ । त्यस्ता व्यक्तिसँगको संवादलाई  छोट्याउनु राम्रो हुन्छ ।
आफ्नो लागि समय छुट्याउनुहोस्
क्हिलेकाहिँ नकारात्मक व्यक्तिसँग संवाद गर्नुपर्ने बाध्यता आइपर्छ । यस्तो पनि हुन्छ, त्यस्ता मानिससँग दैनिक काममा सम्पर्क पनि हुन सक्छ । त्यसपछि नकारात्मकताबाट बाहिर निस्कन ‘आफ्नो समय’ मिलाउनु पर्छ । दिनको केही भाग समय त्यस्ता व्यक्तिको सम्पर्कबाट पूर्ण रुपमा टाढा रहेर समय बिताउनु उत्तम हुन्छ । त्यो समयमा आफ्नो रुचिअनुसारको काम गर्न सकिन्छ, जसले नकारात्मक व्यक्तिसँगको सम्पर्कका कारण उत्पन्न तनाव कम गर्न मत गर्छ । यो समय योगा, पेन्टिङ क्लास वा लाइब्रेरीमा पनि बिताउन सकिन्छ ।
नकारात्मक व्यक्तिसँग सकारात्मक भएर प्रस्तुत हुनुहोस् ।
नकारात्मक व्यक्तिको सामना दिनदिनै गर्नुपर्ने पनि हुन सक्छ । कुनै मानिस सानातिना कुरामा रुखो व्यवहार गर्न सक्छन् । त्यस्ता व्यक्तिलाई सकारात्मक अभिव्यक्तिका साथ कुरा गर्नुहोस् । यसले तपाईंलाई राम्रो कुरामा केन्द्रित हुने बानी बसाल्छ । साथै यसरी नकारात्मकता हुँदाहुँदै पनि सकारात्मक तरिकाले सक्रिय रहने वातावरण सिर्जना गर्न सक्नुहुन्छ । नकारात्मक व्यक्तिसँग नकारात्मक तरिकाले नै व्यवहार गर्नु जरुरी छैन ।  
सकारात्मक साथी र आफन्त पत्ता लगाउनुहोस् ।
सकारात्मक भावनालाई अंगाल्ने साथी र आफन्तको नजिक रहनु राम्रो हुन्छ । त्यस्ता व्यक्तिहरुसँग निकटता कायम गर्नु नै नकारात्मक ऊर्जा भएका मानिसबाट छुटकारा पाउने उपाय हो । विद्यालय वा कार्यस्थलमा सकारात्मक साथीको पहिचान गर्न सकिन्छ । परिवारमा पनि सधैं सकारात्मक विचार र व्यवहार भएका सदस्यसँग नजिक रहनु राम्रो हुन्छ ।

 

Leave A Comment